काठमाडौं- आलु उत्पादनको लागि प्रख्यात दोलखाको गौरीशंकर गाउपालिकाको वडा नम्बर ६ को चङ्खुमा आलु भण्डारणको लागि ‘रस्टिक हाउस’ निर्माण गरिएको छ।
रस्टिक हाउस बनेपछि सिजनको आलु लामो समयसम्म सुरक्षित रुपमा भण्डारण गर्न सकिनेछ। रस्टिक हाउस बनेपछि आलु हतारमै बेच्नु पर्ने समस्याबाट किसान मुक्त भएका छन्।
रस्टिक हाउसले कृषि उपजलाई लामो समयसम्म भण्डारण गर्न सकिने भएपछि एक पटकको उत्पादनले लामो समय टिक्ने हुँदा यहाँका वासिन्दाको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने आशा स्थानीय लानुरी शेर्पाको छ।
७० लाख रुपैँयामा बनेको रस्टिक हाउसमा विषेशगरी आलु र किवी भण्डारण गरिने लक्ष्य छ। हाउसमा ५० टन भण्डारण क्षमता रहेको छ।
हाउसको निर्माणको लागि बागमती प्रदेश सरकारबाट आव २०७७/७८ मा ३० लाख र गाउँपालिकाले १० लाख रुपैँया उपलब्ध गराएका थिए। साथै, स्थानीय थलदिङदेवी कृषि सहकारीले पनि ३० लाख रुपैँया लगानी गरेको छ।
त्यसगरी, गाउँपालिकाकै वडा नम्बर ५ को सुरीमा पनि ५० लाख रुपैँया लगानीमा ५० टन क्षमताको रस्टिक हाउस बनेको छ। सो रस्टिक हाउस निर्माणका लागि बागमती प्रदेश सरकारका तर्फबाट २० लाख र गाँउपालिकाको तर्फबाट १० लाख रुपैँया बजेट उपलब्ध भएको थियो।
नौवटा वडा रहेको गाउँपालिकामा पहिलो पटक चङ्खु र मार्बुमा रस्टिक हाउस निर्माण भएका गाउँपालिका अध्यक्ष स्वयम्बहादुर खड्काले बताए। ‘यो क्षेत्र आलु हुने क्षेत्र हो। आलुलाई सुरक्षित भण्डारण गर्न तथा उन्नत बीउलाई जोगाउन यो रस्टिक हाउस उपयोगी हुनेछ,’ खड्काले भने, ‘उसले किसानका कृषि उपजको दीर्घकालीन बजारीकरणमा पनि सहयोग पुग्नेछ।’