टोकियो- नवनियुक्त जापानी प्रधानमन्त्री फुमियो किसिदाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देशको १००औँ प्रधानमन्त्रीका रूपमा किसिदा निर्वाचित भएपछि प्रधानमन्त्रीको शपथ लिएर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
हिरोसिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किसिदा मृदुभाषी नेताका रूपमा परिचित छन्। उनले सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व गत हप्ता मात्र सम्हालेका छन्। सोमबारको संसद्को मतदानले उनलाई प्रधानमन्त्रीमा सहजै अनुमोदन गरेको थियो।
सोमबारको अनुमोदनपछि किसिदाले थुप्रै नयाँ अनुहार सहित मन्त्रिमण्डल विस्तार गरेका छन् भने केही महत्त्वपूर्ण मन्त्रालयमा भने निवर्तमान प्रधानमन्त्री सुगाको मन्त्रीमण्डलका सदस्य यथावत् राखिएका छन्।
पूर्व सरकारका परराष्ट्रमन्त्री तोसिमित्सु मोटेगी र रक्षामन्त्री नोबोउ किशी यथावत् छन्। अर्थ मन्त्रालयको जिम्मेवारी भने सुनिची सुजुकीलाई दिइएको छ। त्यस्तै मन्त्रिपरिषद्मा तीन महिला समावेश गरिएका छन्। जसमा किसिदा नेतृत्वको एक समयका प्रतिद्वन्द्वी सेको नोडा पनि छन्। उनी जापानको घट्दो जन्मदर सम्बोधन गर्ने जिम्मामा मन्त्री नियुक्त भएका थिए। -सिन्ह्वा/रासस