काठमाडौं– असन–इन्द्रचोक भन्नेबित्तिकै धेरैको दिमागमा आउँछ किनमेल। घरायसी सामान, लत्ताकपडा लगायतका धैरै प्रकारका सामान एकै ठाउँमा पाइने भएकाले अधिकांश उपभोक्ता असन-इन्द्रचोक पुग्छन्। सहरी क्षेत्रमा ठूलाठूला सुपरमार्केट र मल निर्माण भए पनि असन-इन्द्रचोक उपभोक्ताको प्रिय गन्तव्य रहँदै आएको छ।
किनमेलमा जानेहरुले भोक लाग्दा समाेसा, हलवाई खाने चलन पनि पुरानै हो। कुनै बेला इन्द्रचोक हलवाई पसलका लागि प्रख्यात थियो। समय क्रममा त्यसको ठाउँ नेपालमा क्याटरिङलाई व्यावसायिक गति दिने बीएल शर्माको आम्रपाली भोजनालयले लियो। त्यहाँको आलुदम सहरभर चर्चित थियो रे।
बिस्तारै इन्द्रचोकको लस्सी पारखीमाझ चर्चित हुँदै गयो। पछिल्लो समय बारा र यमरीको स्वाद लिन पुग्नेको पनि भीड लाग्न थालेको छ। आकाश भैरवबाट पश्चिम छिर्ने एउटा गल्ली छ- चोखाछेँ। चुरा, पोते, टीकाजस्ता शृंगारका प्रशाधानका लागि प्रख्यात यहाँको एउटा चोक केही वर्षदेखि ‘बारा चोक’का रुपमा चिनिन थालेको छ।
समोसालगायतका अन्य खाजाका परिकार आयातित भएर पो हो कि यहाँका रैथानेहरुले परम्परागत खाजाका परिकार बनाउन थालेका छन्। यिनैमध्येकी एक हुन् चन्द्रदेवी महर्जन। उनले यहाँ यमरी, बारा र नेवारी खाजा बेच्न थालेको दस वर्षभन्दा बढी भइसकेको छ।
उमेरले झण्डै आधा शताब्दी हुन लागेकी चन्द्रदेवीलाई पसलमा उनका दाजु रामले सघाउँछन्। सुरुसुरुमा उनले पसलमा यमरी मात्र बेच्थे। पछि बारा र नेवारी खाजा सेट पनि राख्न थाले। ‘आउनेहरु धेरैजसोले बारा र यमरी नै खान्छन्,’ महर्जनले सुनाइन्, ‘यही खान भनेर टाढाटाढाका मान्छे आउँछन्।’
उनले पसल सुरु गर्दा यमरीको मूल्य २० रुपैयाँ थियो, अहिले ४० पुगेको छ। बाराको मूल्य १५ बाट ५० पुगेको छ। ‘पहिला सबै कुरा सस्तो थियो। सामानको भाउ बढेपछि बारा र यमरीको पनि बढाउनै परो,’ महर्जन भन्छिन्।
नयाँ धानको चामलको पिठोबाट यमरी बनाउने नेवारी समाजमा परम्परा छ। चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको खोपिल्टोमा चाकु राखिन्छ। अचेल यमरीमा मासु, गुँदपाक लगायतका सामग्री पनि हाल्ने चलन छ।
माघमा घ्यु–चाकु खाने परम्परा भएजस्तै नेवारी घरमा यमरी पूर्णिमामा प्रायः चाकुको यमरी बनाउने परम्परा नै छ। स्वादको भिन्नताको लागि खुवाको पनि बनाउने चलन छ।
सबैलाई मनपर्ने रोटी भएकाले नै यसको नाम नेवारी भाषामा यमरी अर्थात् मन पर्ने रोटी रहन गएको किंवदन्ती छ। यमरी पूर्णिमाका दिन प्रायः नेवार समुदायले आफ्नो घरमा तातो पानीको बाफबाट मःमः पकाएजस्तै यमरी पकाउँछन्। बारा चाहिँ भोजहरुमा धरै बनाइन्छ।
महर्जन भन्छिन्, ‘नेवारहरुले जात्रा–पर्वमा मात्र बारा, यमरी बनाउने गर्छन्। यो प्रायः सबैलाई मन पर्ने परिकार पनि हो। अनि मैले सोचें यसकै पसल राख्यो भने चल्छ होला। अनि सुरु गरेँ।’
यमरीका दुई परिकार छन्– एउटा खुवाको र अर्को चाकुको। धेरैजसो ग्राहकले चाकु भएको यमरी मन पराउँछन्।
बारामा पनि प्रायः दुई परिकार चर्चित छ, मुंग र मास। यो एउटा रोटीको प्रकार हो, जसमा स्वाद अनुसारको परिकार थपथाप गर्न सकिन्छ। पहिला मास भिजाउने, सफा गर्ने त्यसपछि मासलाई पिस्ने। त्यसैगरी मसलाहरु जस्तै– लसुन, अदुवा, जिरा, नुन, हिंग जति सबै मिसाएर मुछ्ने र त्यसको पेस्ट बनाउने। पेस्ट बनाउँदा थोरै–थोरै पानी राखेर बनाउनुपर्छ।
चुलोमा भाँडा बसाल्ने र भाँडा तातो भएपछि त्यसमा तेल राख्ने। तेलमा थोरै पेस्ट राख्ने र हातमा पानी लगाएर गोलाकार दिँदै पेस्टलाई फिँजाउने। सानो आगोमा फर्का–फर्काइ २ देखि ३ मिनेट खैरो रंग नहुँदासम्म पकाउने।