काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो भनाइ बाहिर आएको हो।
संघीय संसद सचिवालय कर्मचारी युनियनले दसैं, तिहार र नेपाल संवत तथा छठ पर्वको अवसर पारेर सोमबार सिंहदरबारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताए।
सभामुख सापकोटाले संसद्लाई जीवन्त र जनमुखि बनाउने प्रतिबद्धता समेत दोहोर्याएका छन्। उनले संसद्को कार्यभार असाधारण र असमान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
सभामुख सापकोटाले भने, ‘हामीले जुन प्रण गरेका छौं, संघीय संसद्लाई जीवन्त र जनमुखि बनाउने। त्यो सुत्र वाक्यलाई मैले त सधैंभरी दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु। संघीय संसद्को कार्यभार असामान्य र असाधारण छ। यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकताबद्ध होऔं। हाम्रो युनियनले त्यतातिर पहल गरिरहेको छ। संसद सचिवालयको तर्फबाट पनि पहल गरिएको छ। अहिले मलाई इतिहासले संघीय संसदको नेतृत्वमा, प्रतिनिधिसभाको सभामुखमा लगेर राखेको छ। म यो पदको लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु।’
सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए-नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको दाबी गरेका छन्। उनले दर्शन शाष्त्रलाई उधृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणा समेत राखेका छन्।