काठमाडौं– मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो भाग खोजेको भन्ने समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद् गठन र विस्तारमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडिएको बताइएको छ।
विज्ञप्तिमा उल्लेख छ, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारका विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रूपमा जोडेर अतिरन्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद र खेदजन्य अवस्था हो।’ केही सञ्चारमाध्यमले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको विषयमा समाचार प्रकाशित गरेका थिए। सर्वोच्चले सोही समाचारको खण्डन गरेको हो।