काठमाडौं– नेपाली कांग्रेसको सात जिल्लाको जिल्ला अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ। १४औं महाधिवेशनअन्तर्गत भएका जिल्ला अधिवेशन मध्ये सोमबार बिहानसम्म सात जिल्लाको परिणाम सार्वजनिक भएको हो।
प्राप्त नतिजा अनुसार संस्थापन इतर समूहका चार र संस्थापन समूहका तीन जना सभापतिमा निर्वाचित भएका छन्। सभापति देउवा समूहले मनाङ, हुम्ला र ताप्लेजुङको सभापति जितेको छ भने पौडेल पक्षले मुस्ताङ, रुकुम पूर्व, कालीकोट र संखुवासभामा सभापति जितेको छ।
देउवा पक्षका मनाङमा शंकर गुरुङ, हुम्लामा मोहनविक्रम सिंह र ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ सभापतिमा निर्वाचित भएका छन्। पौडेल पक्षबाट मुस्ताङमा रोमी गौचन थकाली, रुकुम पूर्वमा केशरमान रोका, कालीकोटमा अम्मबहादुर शाही र संखुवासभामा दीपक खड्का जिल्ला सभापति बनेका छन्।
दोलखामा भने कसैले ५० प्रतिशत मत नकटाउँदा दोस्रो चरणमा मतदान हुने भएको छ। पौडेल पक्षका बर्मा लामा पहिलो र कृष्ण सिटौला पक्षका तारा खड्का दोस्रो हुँदा देउवा पक्षका रुद्रबहादुर खड्का तेस्रो भएका छन्। दोलखामा सभापति चयनका लागि लामा र खड्काबीच आज १२ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।