काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकामा आइतबार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार प्रगतिमान रञ्चितलाई पराजित गर्दै संस्थापन इतर पक्षका निलकाजी शाक्यको विजयी भएका छन्।
रामचन्द्र पौडेल र प्रकाशमान सिंहको समर्थन पाएका शाक्यले करिब दोब्बर मतान्तरको फरमा सभापतिमा निर्वाचित भएका हुन्।
त्यस्तै उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने निर्वाचित भएका छन्।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको नगरसभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा बुढाथोकीले १५५ मत ल्याएका थिए। सभापतिका प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत प्राप्त गरेका थिए। बुढाथोकी सिंह-थापा समूहका हुन्।
कागेश्वरी मनोहरा नगरपालिकाको सभापतिमा उद्धव दाहाल निर्वाचित भएका छन्। १५१ मत ल्याएर दाहाल विजयी भएका हुन्। सभापतिका प्रत्यासी मिठ्ठाराम दाहालले १३८ मत ल्याएका थिए। निर्वाचित दाहाल सभापति देउवा निकट हुन्।
शंखरापुर नगरपालिकाको सभापतिमा दीलिपकुरमा सत्यमान लामालाई पराजित गर्दै दीलिपकुमार श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचित श्रेष्ठ सिंह निकट हुन्। तारकेश्वरका नगर सभापतिमा सिटौला निकट कृष्णहरी महर्जन विजयी भएका छन्। महर्जनले १३५ मत ल्याउँदा श्रीराम थापाले ११४ र मुकुन्द तिमिल्सिनाले २ मत ल्याएका थिए।
टोखा नगरपालिकामा सिंह-थापा निकट ओमकृष्ण विमली निर्वाचित भएका छन्। उनले एक सय १७ मत ल्याएर विजयी हुँदा सिटौला समूहका उम्मेदवार दीपक जोशीले १०६ मत प्राप्त गरे।
गोकर्णेश्वरमा सिंह निकट कुमार लामा सभापतिमा निर्वाचित भएका छन्। लामाले १०९ मत प्राप्त गर्दा प्रतिस्पर्धी रामजी श्रेष्ठले ९३ मत प्राप्त गरे।
नागार्जुन नगरपालिकामा पनि सिंह निकट दुर्गा गौतम विजयी भएका छन्। उनले अच्यूत पाण्डेलाई पराजित गरेका हुन्।
शनिबार नै नगर अधिवेशन उद्घाटन गरिएका कीर्तिपुर र चन्द्रागिरी नगरपालिकामा भने सहमतिको प्रयास भइरहेको बताइएको छ। यस्तै दक्षिणकाली नगरपालिकाको एउटा वडामा अधिवेशन नभएकाले पालिका अधिवेशन नभएको कांग्रेसले जनाएको छ।