शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीले भने - १५ महिनापछि मेरो नेतृत्वमा आउने सरकारले जनताको हितमा काम गर्छ

ओलीले भने - १५ महिनापछि मेरो नेतृत्वमा आउने सरकारले जनताको हितमा काम गर्छ

अध्यक्ष ओलीले १५ महिनापछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्‍ने र त्यसले मात्रै देश र जनताको हितमा काम गर्ने दाबी समेत गरे।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बेहाल अवस्थामा रहेको टिप्पणी गरेका छन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकार खाने धन्दामा मात्रै लागि परेको आरोप लगाएका छन्। तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले देशको नागरिकको अधिकारका लागि सरकारले दक्षिणतिर फर्केर बोल्न समेत नसकेकोमा आपत्ति समेत जनाएका छन्।

अध्यक्ष ओलीले १५ महिनापछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्‍ने र त्यसले मात्रै देश र जनताको हितमा काम गर्ने दाबी समेत गरे। 

उनले भने, ‘सम्भवत १५ महिनापछि चुनाव हुन्छ। एमालेको सरकार आउँछ । र त्यसले मात्रै यो काम गर्छ। म अहिलेको सरकारले सुन्‍ने गरी भन्न चाहन्छु। अहिलेको सरकारले सुनोस वैशाखभित्र काठमाडौंमा पानी झारेर देखाओस् ऊ आफैंले नापेर जोखेर भनेको कुरा उसले देखाओस्।'

अध्यक्ष ओलीले एमाले भित्र नेतृत्व स्थापित हुन नदिन विरोधीहरुले देवत्वकरणको हल्ला फिजाइरहेको दावीसमेत गरेका छन्। उनले आफूहरु कसैले पनि देवत्वकरण नगरेको तर नेतृत्वको वरीपरी पार्टी र आन्दोलनलाई एकीकृत गराउने काम गरिरहेको दाबी गरे। अध्यक्ष ओलीले विरोधीहरु आफू बाँचेको र कार्यकर्ता र जनताले माया गरेकोमा चिन्तित भएको पनि बताए। 

उनले भने, ‘एउटा हल्ला चलाएका छन्। भन्‍ने गर्छन्। त्यहाँ नेकपा एमालेमा बोल्नै पाइँदैन। उनीहरुले के खोजेका छन् भने यहाँ बहुत झगडा भइदिए हुन्थ्यो, मारकाट भए हुन्थ्यो। नेता कोही स्थापित हुन नपाए हुन्थ्यो। सब खुइलिए हुन्थ्यो। आफ्नै पार्टीभित्र अनेक लाञ्छना लगाउन पाएदेखि उसैलाई समाएर भन्‍न पाईन्थ्यो अनि उनीहरु देवत्वकरणको कुरा उठाउँछन्। हामी कसैलाई देवता मान्दैनौं। देवत्वकरण गर्दैनौं तर लिडरसिप हुन्छ लिडरसिपका वरिपरी पार्टी एकीकृत हुन्छ। आन्दोलन एकीकृत हुन्छ। त्यो स्वभाविक हो।'

अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वमा सरकार ढाल्न लाग्‍नेहरु सबै विरोधी भएको बताए। उनले विरोधीले गालामा थप्पड हान्दा पनि शाष्त्र पल्टाउने काम नगर्न पनि पार्टी पंक्तिलाई आह्वान गरेका छन्।

अध्यक्ष ओलीले भने, ‘अब हामी आगामी दिनमा धेरै अल्मलिनु हुँदैन। कहिले कहिले सिद्धान्त र व्यवहारमा हामी अलमलिन्छौं। विरोधी थप्पड हानिसक्छ गालामा। अनि हामी शाष्त्र पल्टाउन थाल्छौं। शाष्त्रले के भन्छ यो गालामा हान्‍ने विरोधी हो कि होईन? यो गालामा हान्‍नेलाई शाष्त्रमा विरोधी मान्छ कि मान्दैन? शाष्त्र पल्टाउन थाल्छौं। यति सारो शाष्त्रवादी हुनुपर्ने जरुरी छैन। जो तपाईसँग लडिराखेको छ, त्यो विरोधी हो। जो तपाईसँग लडेको छैन सँगै काम गरिराखेको छ, त्यो मित्र हो। हाम्रो पार्टीको बिग्रिएका मान्छे को हुन जो पार्टी छोडेर गए। जो यहाँ छन उनीहरु सप्रेका हुन भन्‍ने प्रमाण योभन्दा अरु बढी केही चाहिन्छ? छर्लङ छ नि।'

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतपत्र च्यातेर चुनाव जित्‍ने सपना नदेख्‍न पनि चेतावनी दिए। उनले दाहालले दुई दिनअघि ०६४ को जस्तै जसरी पनि कब्जा गरेर चुनाव जित्‍ने भनिराखेको स्मरण गराउँदै त्यस्ता खालको धाँधलीका अगाडि आफ्नो पार्टी नझुक्ने पनि बताए। 

अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासका लागि एमाले नेतृत्वको बहुमतको सरकार आवश्यक रहेको उल्लेख गर्दै सोही अनुसारको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। 

प्रकाशित: Oct 03, 2021| 18:51 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...