शुक्रबार, भदौ ५, २०८३

कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो अझै लागेको छैन।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो अझै लागेको छैन।

क्रियाशील सदस्यताको विवाद समाधानमा ढिलाइ हुँदा कैलालीको वडा अधिवेशन गर्न पनि ढिलाइ भएको जनाइएको छ। प्रदेशका सबै नौ जिल्लामध्ये आठ जिल्लाका ७५ पालिकामा वडा अधिवेशन सकिएको छ। कांग्रेस कैलालीको वडा तहको अधिवेशन अब दसैंपछि मात्र हुने सम्भावना रहेको जिल्ला उपसभापति प्रकाश बमले बताए। 

'केन्द्रबाट निर्वाचन अधिकृत नआउँदा वडा तहको अधिवेशनका लागि निर्वाचन कार्यतालिकासमेत प्रकाशित हुन सकेको छैन', जिल्ला सभापतिका आकाङ्क्षीसमेत रहेका उनले भने, 'अधिवेशनका लागि पूर्वतयारीका काम गर्न पनि बाँकी नै रहेकाले दसैँअघि अधिवेशन हुने सम्भावना छैन।'

क्रियाशील सदस्यताको विवादका कारण पूर्वनिर्धारित कार्यतालिका गत भदौ १८ गते जिल्लामा वडा तहको अधिवेशन हुन सकेको थिएन। केही दिनअघि क्रियाशील सदस्यको विवाद टुङ्गिएर अन्तिम विवरण जिल्लामा प्राप्त भइसकेको जनाइएको छ। अब जिल्लामा क्रियाशील सदस्यताको विवाद टुङ्गिएको बमले बताए।

प्रदेशका वडा अधिवेशन सकिएका कतिपय जिल्लामा कांग्रेसको नगर गाउँ तहको अधिवेशनको तयारी भइरहेको छ। प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा हुने कांग्रेसको वडा तहदेखि नगर गाउँ, निर्वाचन क्षेत्र र जिल्ला तहको अधिवेशनमा नेतृत्वमा पुग्नका लागि नेता कार्यकर्ताबीच रस्साकस्सी चल्न थालेको छ।  

यो जिल्लामा हुने अधिवेशनले प्रदेश अधिवेशनका साथै केन्द्रीय अधिवेशनलाई समेत प्रभाव पार्ने हुँदा जिल्लाको अधिवेशनप्रति कांग्रेस नेता तथा कार्यकर्ताले बढी चासोका साथ हेर्न थालेका पनि छन्। 

प्रदेशका अन्य जिल्लाको तुलनामा कैलालीबाट केन्द्रीय अधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधिको सङ्ख्या बढी हुने हुँदा सबैको ध्यान कैलालीमा पर्नु स्वाभाविक रहेको जिल्ला सभापतिका अर्का आकाङ्क्षी नारायणदत्त भट्ट बताउँछन्। एक सय २६ वडा रहेको यस जिल्लामा १८ हजारभन्दा बढी क्रियाशील सदस्य रहेको बताइएको छ। जिल्लाको निर्वाचन क्षेत्र नं १ मा क्रियाशील सदस्यताको विवाद बढी देखिएको थियो।  

सो क्षेत्रमा अघिल्लो महाअधिवेशनका पुरानै क्रियाशीललाई मान्यता दिने निर्णय गरेपछि नयाँ क्रियाशील सदस्यताको विवाद टुङ्ग्याइएको बताइएको छ। देश सङ्घीयतामा गएसँगै सङ्घीय संरचनाअनुरुप अधिवेशन गर्ने पार्टी कांग्रेस पहिलो रहेको बताइएको छ। 

कैलाली कांग्रेसको सभापतिका लागि वर्तमान उपसभापति बम, पूर्वउपसभापति भट्टका साथै गणेश देउवा, खेमराज चौधरी, भीम बडुवाल लगायत नेता आकाङ्क्षी देखिएको चर्चा छ। 

पार्टीका जिल्ला सभापति नरनारायण शाह (मनु) दुई कार्यकाल सभापतिको जिम्मेवारीमा रहिसकेका छन्। तेस्रो कार्यकाल सभापतिमा उठ्न नपाइने कांग्रेसको विधानमा व्यवस्था छ। उनी अब पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षको तयारीमा रहेको बताइएको छ।

 वडा अधिवेशनपछि नगर, गाउँ समितिको नेतृत्व चयन गरिने कार्यतालिका छ। त्यसपछि जिल्ला तहको कार्यसमिति चयन हुनेछ। क्रियाशील सदस्यले पार्टी संरचनाको वडा र क्षेत्रीय प्रतिनिधिको चयन गर्नुपर्ने व्यवस्था छ। क्षेत्रीय प्रतिनिधि प्रदेश, क्षेत्र, जिल्ला अधिवेशनका मतदाता हुने व्यवस्था छ। 

कांग्रेसको १४औं अधिवेशनको प्रक्रिया आरम्भ भइरहँदा पार्टीमा मौलाएको गुट उपगुटको राजनीतिले वर्षौंदेखि राजनीतिमा लागेका निष्ठावान् र त्यागी नेता भनेपछि पर्दै गएको गुनासो सो पार्टीका कतिपय नेता कार्यकर्ताको गुनासो पनि छ।

- रासस

प्रकाशित: Oct 03, 2021| 13:25 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...