शुक्रबार, कात्तिक ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • करोडौं राजस्व उठ्ने जनकपुर–भिठामोड सडक निर्माण सम्पन्‍न नहुँदै भत्कियो

Siddartha premir insuranceSiddartha premir insurance

करोडौं राजस्व उठ्ने जनकपुर–भिठामोड सडक निर्माण सम्पन्‍न नहुँदै भत्कियो

निर्माण अवधि समाप्त भए पनि निर्माण सम्पन्‍न हुन नसकेको सो सडक खण्डमा कमसल सामग्री प्रयोग, गुणस्तरहीन कामलगायतका कारण सडक नै भत्किन थालेको स्थानीयहरुको आरोप छ।
 |  शनिबार, असोज १६, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

शनिबार, असोज १६, २०७८

जनकपुरधाम- विभिन्‍न राजनीतिक दलहरुको अस्तित्वको लडाइँको घानमा परेको धनुषा र महोत्तरीलाई भारतीय सीमासँग जोड्ने जनकपुर–भिठामोड सडकखण्डको निर्माण कार्य पाँच वर्ष अगाडि सुरु भयो। एक दशकदेखि काम गर्ने भन्दै अलपत्र पारिएको यो सडकखण्डको निर्माण तीन वर्षभित्रै सम्पन्‍न हुने गरी २०७३ सालमा सुरु भएको हो। तर, यो सडकखण्ड निर्माण सम्पन्‍न नहुँदै भत्किन थालेको छ।

triton college

निर्माण अवधि समाप्त भए पनि निर्माण सम्पन्‍न हुन नसकेको सो सडक खण्डमा कमसल सामग्री प्रयोग, गुणस्तरहीन कामलगायतका कारण सडक नै भत्किन थालेको स्थानीयहरुको आरोप छ। चार लेन भनिएको सो सडक खण्डमा अधिकांश ठाउँमा र सडक छेउमा कालोपत्रे, कल्भर्ट र पुललगायतका काम अझै बाँकी छ।

हुलाकी राजमार्ग परियोजनाको निगरानीमा निर्माण भइरहेको जनकपुर भिठामोड सडक खण्डको सडकमै गहिरो खाल्डाखुल्डी, ठाउँ-ठाउँ सडक भत्किएकाले सवारीसाधन आवागमनमा समस्या हुँदै आइरहेको छ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले तीन वर्षमा सम्पन्‍न गर्ने गरि २०७३ भदौ २४ गते सो सडकको शिलान्यास गरेका थिए। ९३ करोड ४३ लाखको लागतमा निर्माण भइरहेको सो सडकका लागि नेपाल सरकारले १८.५६ किमिको उक्त सडकको दुई खण्डमा निर्माण गर्ने सम्झौता गरेको थियो। 

पहिलो खण्डमा जनकपुरधामस्थित जिरोमाइलदेखि महोत्तरीको पिपरासम्म श्री प्रतिभा वाई पीजेभीलाई ४३ करोड ५४ लाख ७२ हजार आठ सय चौहत्तर भ्याटसहितमा ठेक्का सम्झौता गरेको थियो। त्यस्तै दोस्रो खण्डमा पिपरादेखि भिठामोडसम्म नौ दशमलव ५६ किलोमिटर सडक श्री आशिष पप्पु रोशन जेभी ४९ करोड ८९ लाख २० हजार ७ सय ७ रुपैया भ्याटसहित बजेट निकासा भइ ठेक्का सम्झौता गरेको थियो।

Metro Mart
vianet

सम्झौता अनुसार तीन वर्षमै सक्नुपर्ने काम पाँच वर्षसम्ममा पनि पूरा नहुँदा स्थानीयमा आक्रोश देखिएको छ। हुलाकी राजमार्ग निर्देशनालय जनकपुरका कर्मचारी, धनुषा र महोत्तरीका प्रशासनको आर्थिक चलखेल गरिरहेको आरोप लगाउँदै पिपरा गाउँपालिका-३ का स्थानीय निशान्त मिश्राले गुणस्तरहीन र मापदण्ड विपरीत निर्माण भइरहेकोले सडकको निर्माण पूरा नहुँदै भत्किन लागेकोमा आक्रोश व्यक्त गरे।

हुलाकी राजमार्ग परियोजनाका प्रमुख कृष्णकुमार महतोले सडकको गुणस्तरमा कुनै किसिमको खराबी नरहेको दाबी गरेका छन्। उनले स्थानीयवासी जनकपुर भिठामोड सडकखण्डलाई जनकपुर ढल्केवर सडकखण्डसँग तुलना गरिरहेको जानकारी दिँदै भने, ‘दुबै सडकको निर्माण प्रकृया नै फरक छ। जनकपुर–भिठामोड सडकखण्ड डिबीएसडी प्रविधिमा निर्माण भइरहेको छ, जबकि जनकपुर–ढल्केवर स्फाल्ट प्रविधिमा निर्माण भइरहेको छ।’ 

उनले थपे, ‘स्फाल्ट प्रविधि डीबीएसडी प्रविधिभन्दा उत्तम र खर्चिलो प्रविधि हो।’ तर निर्माण भइरहेको जनकपुर भिठामोड सडकखण्ड पनि टिकाउ नै रहेको महतोले दाबी गरे। उनले निर्माण कार्य सम्पन्‍न भएको चार वर्षपछि फेरि त्यो समयमा एक लेयर थपिने बताए। महतोले भने, ‘लेयर थप गर्ने बेलामा स्फाल्ट प्रविधिका लागि सम्झौता गरियो भने जनकपुर ढल्केवर सडकखण्ड जस्तै यो सडक पनि टिकाउ हुनेछ।’ यद्यपि अहिले डीबीएसडी प्रविधिका लागि सम्झौता भएकाले सोही अनुसार ९० प्रतिशत काम सम्पन्‍न भइसकेको र बाँकी काम आगामी आर्थिक वर्ष सुरु हुनुभन्दा अगावै पूरा हुने महतोले बताए।

निर्माण सम्पन्‍न नहुँदै भत्किन थालेको जनकपुर-भिठामोड सडकखण्ड।

'साइट क्लियरेन्स'मा समस्या

२०७३ साल भदौ २४ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरेका थिए। लगभग एक अर्बको लागतमा ३ वर्षभित्रै निर्माण सम्पन्‍न गर्ने भनिए पनि पटक-पटक समय थपेर पनि पाँच वर्षपछि सडकको निर्माण कार्य सम्पन्‍न हुन सकेको छैन।

हुलाकी राजमार्ग पयिरयोजना जनकपुरका प्रमुख महतोले साइट क्लियरेन्सका कारण समयमै काम सम्पन्‍न हुन नसकेको गुनासो गरे। उनले चारवटा मन्दिरको व्यवस्थापन, ठाउँ-ठाउँमा स्थानीयद्वारा अवरोध, टेलिफोनको तार तथा विद्युतको पोल व्यवस्थापन लगायतका कारण समयसीमा भित्र कार्य सम्पन्‍न हुन नसकेको बताए। उनका अनुसार चारवटा मन्दिरमध्ये तीन मन्दिरको व्यवस्थापन भइसकेको र पिपराको हनुमान मन्दिरको व्यवस्थापनका लागि पहल भइरहेको छ। 

महतोले भने, ‘पिपराको हनुमान मन्दिर सुरक्षित नै रहे मात्रै सो मन्दिरको कम्पाउण्ड वाल तथा केही घरको व्यवस्थापनका लागि पहल भइरहेको छ, त्यो असोज भित्रै पूरा गर्ने हाम्रो लक्ष्य छ।’

यसका साथै गत वर्षको वर्षाका कारण ठाउँ-ठाउँमा सडक कटान भएपछि पनि समस्या सिर्जना भएको उनको भनाइ छ। जनकपुर–भिठामोड सडकखण्डमा पानी निकासको समस्या देखिएपछि थप नौवटा नयाँ कल्भर्ट थपिएको हुलाकी राजमार्ग परियोजनाले जनाएको छ।

कल्भर्ट निर्माणका लागि ईलाइट सूर्या जेभीसँग २०७७ साल भदौ १९ गते २९ करोड २६ लाख ६९ हजारमा ठेक्का सम्झौता भएको थियो। कल्भर्ट निर्माण कार्यको सम्पूर्ण काम २०७९ साल भदौ १८ सम्पन्‍न गर्नु पर्नेछ।

हुलाकी राजमार्ग परियोजनाका अनुसार प्रतिभा वाइपी जेभीलाई ३७ करोड ७९ लाख २४ हजार, आशिष पप्पु रोशन जेभीलाई ४६ करोड १७ लाख ५ हजार र कल्भर्ट निर्माणको ठेक्का पाएको ईलाइट सूर्या जेभीलाई ८ करोड ४ लाख १६ हजार रुपैयाँ भुक्तानी समेत भइसकेको छ।  

विकास समितिको प्रतिवेदन कार्यान्वयन भएन

जनकपुर–भिठामोड सडकखण्डको निर्माण कार्यको गुणस्तरियतामाथि प्रश्‍न उठ्न संसदको विकास तथा पूर्वाधार समितिले सांसद ईन्दु शर्माको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो। सो समितिले दुई वर्ष अगाडि नै कमसल सामग्रीको प्रयोग, मापदण्ड विपरीत निर्माण, गुणस्तरहीन निर्माणसहितका आफ्नो प्रतिवेदन विकास तथा पूर्वाधार समितिका सभापति कल्याणी खड्कालाई बुझाएको थियो।

समितिले सडकको जग नै कमजोर रहेको, गुणस्तरहीन, सम्झौता विपरीत कार्य भएको तथा करोडौं रकमको हिनामिना भएको भन्दै प्रतिवेदन बुझाएको थियो। डीबीएसडी कालोपत्रेको साटो मापदण्ड विपरीत सामान्य ओटासिल कालोपत्रे गरिएको कुरा प्रतिवेदनमा उल्लेख थियो। सडक निर्माण कार्यको गुणस्तरमाथि संसदीय समितिले प्रश्‍न उठाए पनि प्रतिवेदनको कार्यान्वयन भने हुन नसकेको अनुगमन समितिको संयोजक सांसद इन्दु शर्माले आरोप लगाइन्। यद्यपि अहिले पनि गुणस्तरीय सडक निर्माणका लागि दबाब सिर्जना गरिरहेको उनको भनाइ छ।

हुनत यसअघि जनकपुर भिठामोड सडकखण्ड निर्माण कार्य भारत सरकारको आर्थिक सहयोगमा गर्ने लक्ष्य थियो। जसका लागि भारतीय कम्पनी भिस्वा विभिएस आर जेभीलाई जिम्मा दिइएको थियो। तर भुक्तानीमा विवाद देखिएपछि ३० महिने ठेक्का अवधि कटाएर सो कम्पनी काम छोडेरै वेपत्ता भएको थियो।  २०११ जुलाई १ देखि काम सुरु गरी ३० महिना भित्रै काम सम्पन्‍न गर्ने दुवै देशका पदाधिकारीबीच सम्झौता भएको थियो। 

तर, सडक निर्माण कार्य छोडेर ठेक्केदारले पाँच प्रतिशतसमेत काम नगरी बेपत्ता भएपछि सडक विभागले पटक-पटक सडक टालटुल पार्ने नाममा लाखौ रुपैयाँको बजेट सिध्याउने गरेको थियो। २०२९ सालतिर उक्त सडक भारत सरकारको लगानीमा पहिलो पटक कालोपत्रे भएको थियो।

प्रतिवर्ष ८० करोडभन्दा बढी राजस्वउठने तथा दैनिक ४० हजारभन्दा बढी यात्रु ओहोर दोहोर गर्ने सडक निर्माण कार्य पूरा नहुँदा यो क्षेत्रलाई आर्थिक रुपमा करोडौँको क्षति हुँदै आइरहेको छ।

प्रकाशित: Oct 02, 2021| 19:24 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।