आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशन : खुद्रामा सरिरहेका छन् कार्यक्रम, जताततै भद्रगोल

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेस महाधिवेशन : खुद्रामा सरिरहेका छन् कार्यक्रम, जताततै भद्रगोल

‘नेतृत्व असफल हुँदा के हुने रहेछ भनेर यो अधिवेशनमा देखाएको छ। इतिहासमै पहिलो पटक यसरी भद्रगोल स्थितीमा महाधिवेशनका पक्रिया अघि बढेका छन्,’ कांग्रेस नेता गुरुराज घिमिरे भन्छन्।
 |  शुक्रबार, असोज १५, २०७८
nespernesper

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, असोज १५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गगत तल्ला तहमा अधिवेशन भइरहेका छन्। अधिकांश जिल्लामा अहिले पालिका अधिवेशन भयरहेका छन्। केही जिल्लामा वडा तहको अधिवेशन भइरहेको छ भने क्रियाशील क्रियाशील सदस्यता विवादका कारण ५ जिल्लामा वडा अधिवेशनका कार्यक्रम नै सुरु हुन सकेका छैनन्। 

triton college

२०४८ सालपछि १३औं महाधिवेशनसम्म कांग्रेसमा महाधिवेशन गर्ने एउटा विधि थियो। क्रियाशील सदस्यता टुंगो लागेपछि देशैभरका वडामा एकसाथ अधिवेशन हुथ्यो। त्यसैगरी स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला अधिवेशन समेत एकैसाथ (अपवाद बाहेक)हुन्थे। तर, त्यो विधि १४औं महाधिवेशनमा तोडिएको छ।

२०१२ सालमा भएको छैटौं महाधिवेशन र २०१७ मा भएको सातौं महाधिवेशनमा जिल्ला-जिल्लाबाटै सभापति चुन्न मतदान हुने गरेको थियो। २०४८ सालको आठौं महाधिवेशनबाट देशरभरमा एकैसाथ सबै भन्दा तल्लो तहबाट अधिवेशन सुरु गरेर केन्द्रीय महाधिवेशन गर्ने गरिएको थियो।

देश संघीय प्रणालीमा गइसकेपछि पहिलोपटक कांग्रेस महाधिवेशन भइरहेकाले यसपालिको १४औं महाधिवेशनमा प्रदेश निर्वाचन क्षेत्र र प्रदेश समिति गरी दुईवटा संरचना थपिएको छन्। यसपालि कतिपय प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशनका काम सुरु भइसक्दा पनि कतिपय जिल्लामा भने अधिवेशन नै सुरु हुन नसक्नुमा नेतृत्वकै कमजोरी भएको केही कांग्रेस नेताहरुको टिप्पणी छ।

‘नेतृत्व असफल हुँदा के हुने रहेछ भनेर यो अधिवेशनमा देखाएको छ। इतिहासमै पहिलो पटक यसरी भद्रगोल स्थितीमा महाधिवेशनका पक्रिया अघि बढेका छन्,’ कांग्रेस नेता गुरुराज घिमिरे भन्छन्, ‘२०४८ साल यता पहिलो पटक यसरी महाधिवेशन खण्ड-खण्डमा विभाजित भएको छ। यसमा तल्लो निकायको कुनै कमजोरी र दोष छैन। तर नेतृत्वले यो विषयमा ध्यानै दिएको छैन। यसरी खण्डित रूपमा महाधिवेशन हुँदा कांग्रेस (महाधिवेशन)को इतिहास पनि खण्डित भएको छ।'तल्ला तहका अधिवेशन फरक–फरक मितिमा भइरहेका मात्रै छैनन्, सबै जिल्लाको क्रियाशील सदस्यताको अन्तिम टुंगो समेत लाग्न नसक्नुमा नेतृत्वको स्वार्थ भएको उनको भनाइ छ। 

Metro Mart
vianet

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६४ जिल्लामा वडा अधिवेशन सकिएको छ। तीमध्ये ६२ जिल्लामा पालिका तहको अधिवेशन समेत सकिएको छ। वडा अधिवेशन भएका मध्ये २ जिल्ला (काठमाडौं र मोरङ)मा १६ गते पालिका अधिवेशन गर्ने कार्यतालिका छ। असोज १८ गते जिल्ला अधिवेशन गर्ने भनिएका २१ वटा हिमाली जिल्लामा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन भइरहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। 

असोज १८ गते जिल्ला अधिवेशन गर्ने भनिएका २१ जिल्लामध्ये क्षेत्रीय अधिवेशन सकेका जिल्लाहरूमा आज प्रतिनिधिसभा क्षेत्रीय सभापतिदेखि कार्यसमितिका लागि निर्वाचन हुँदैछ। साथै महाधिवेशन प्रतिनिधिका लागि पनि आज चुनाव हुँदैछ।


‘नेतृत्व असफल हुँदा के हुने रहेछ भनेर यो अधिवेशनमा देखाएको छ। इतिहासमै पहिलो पटक यसरी भद्रगोल स्थितीमा महाधिवेशनका पक्रिया अघि बढेका छन्,’ कांग्रेस नेता गुरुराज घिमिरे भन्छन्।

उनका अनुसार विवादित भनिएका १३ जिल्लामध्ये ८ जिल्लाको क्रियाशील  सदस्यताको सूची सार्वजनिक भइसकेको छ। अब ५ वटा जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक हुन बाँकी छ। ती जिल्लामा अधिवेशनको प्रक्रिया कहिले सुरु हुन्छ? टुंगो छैन। 

‘विवादित भनिएका १३ मध्ये ८ जिल्लाको क्रियाशील सूची प्राप्त गरेका छौं। ५ जिल्लाको सूची प्राप्त गर्न बाँकी छ,’ श्रेष्ठले भने, ‘अब ५ जिल्लाको सूची पनि प्रकाशित भएपछि अधिवेशनको कार्यतालिका निर्वाचन समितिले तय गर्छ।’

वडा र पालिका तहको अधिवेशन सकिएका ६४ (२ जिल्लामा पालिका अधिवेशन बाँकी) जिल्लामध्ये २१ जिल्लाको जिल्ला अधिवेशनको मिति टुंगो लागेको छ। बाँकी जिल्लाको जिल्ला अधिवेशन दसैँपछि गर्ने भनिएको छ। तर, मिति भने टुंगो लागिसकेको छैन।  

अधिवेशन नै अस्वस्थ!

देशभर एकैसाथ अधिवेशन नुहँदा नकारात्मक असर देखिएको टिप्पणी कांग्रेस नेताहरुले नै गरिरहेका छन्। अधिवेशनको स्वच्छता र स्वस्थतामा असर परेको घिमिरे बताउँछन्। ‘देशभर एकैसाथ अधिवेशन हुँदा सबैको ध्यान आफ्नो जिल्लामा हुन्छ। तर, अहिले त केन्द्रीय नेतादेखि छिमेकी जिल्लाका नेताहरुको समेत ध्यान देखिएको छ,’ नेता घिमिरे भन्छन्, ‘केन्द्र र छिमेककी जिल्लाका नेताहरुको चासो रहँदा यसले अधिवेशनको स्वच्छता र स्वस्थतामा असर गरेको छ।’

पार्टी नेतृत्वको व्यवस्थापकीय असफलताले यस्तो स्थिति पैदा गरेको उनको भनाइ छ। ‘महाधिवेशन गर्ने समय डेढ वर्ष अघि नै घर्किएको हो। नियमित रूपमा महाधिवेशन हुन नसकेपछि विधान र संविधानको सुविधासमेत प्रयोग भइसक्दा समेत यो किसिमको भद्रगोल देखिनु व्यवस्थापकीय अक्षमता नै हो।’ 

खुद्रामा सर्छ महाधिवेशन 

कांग्रेस महाधिवेशनका कार्यक्रम सुरु हुनुअघि नै विभिन्न मितिमा ६ पटक कार्यतालिका सारियो। पहिलो पटक २०७६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले २०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तोकिएको थियो। तर, त्यसको एक महिनापछि नै महाधिवेशनको मिति हेरफेर गरिएको थियो। केन्द्रीय महाधिवेशनको मिति यथावत राखिएपनि तल्लो तहका अधिवेशनको समिति भने अघि सारिएको थियो। 

कोरोना भाइरसको संक्रमण र रोकथामका लागि गरिएको लकडाउनका कारण महाधिवेशन सम्पन्न हुने स्थिति नभएको भन्दै महाधिवेशन सारिएको थियो। २०७७ असार २२ गते बसेको केन्द्रीय समिति बैठकले कार्यतालिका परिमार्जन गर्‍यो। महाधिवेशनको मिति यथावत नै राखिएपनि तल्लो तहका अधिवेशनको कार्यतालिका भने फेरबदल गरिएको थियो। तर, महाधिवेशन हुन सकेन। वैधानिक रुपमा पार्टीका सबै कार्यसमितिको म्यादसमेत सकियो। 

यसअघि थोकमा सारिँदै आएका महाधिवेशनका कार्यक्रम अहिले भने कांग्रेसले खुद्रामा सारिरहेको छ।

यसपछि २०७७ फागुन ६ गते बसेको केन्द्रीय समिति बैठकले कार्यसमितिको म्याद संविधानको धारा २६९ को उपधारा ४ (ख) को प्रतिबन्धात्मक व्यवस्थामा टेकेर ६ महिना थप गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट महाधिवेशनको कार्यतालिका चौथोपटक परिमार्जन गरिएको थियो। चौथो पटक परिमार्जन भएको कार्यतालिका अनुसार भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने गरी मिति तय गरिएको थियो। 

उक्त मितिमा समेत महाधिवेशन हुन नसकेपछि असार ४ गते बसेको केन्द्रीय समितिले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नेगरी मिति तय गर्‍यो। त्यो मितिमा समेत महाधिवेशन हुन नसकेपछि साउन ३० गते बसेको केन्द्रीय समितिले छैटौं पटक महाधिवेशनको मिति हेरफेर गर्‍यो। र  मंसीर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो। 

छैटौं प्रयासमा बल्ल महाधिवेशनको मूल प्रक्रिया आरम्भ भएको छ। तर, त्यसयता पनि वडा, पालिका, प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्र अधिवेशनको मिति सारिएको छ। वडा तहको अधिवेशन सुरु भएलगत्तै नेताहरू उम्मेदवारी घोषणा गरेर आवश्यक तयारीमा लागेका छन्। तर, महाधिवेशनको कार्यतालिका भने फेरबदल भइनै रहेको छ। 

१३ जिल्लामा वडा अधिवेशन गर्ने मितिको अझै टुंगो लागेको छैन। २१ वटा हिमालीबाहेकका जिल्लामा जिल्ला अधिवेशनको मिति तय गर्ने अझैं बाकी छ। र, यही बीचमा महाधिवेशनको मितिसमेत पर धकेल्ने बहस सुरु भएका छन्। यद्यपि केन्द्रीय महाधिवेशन सार्ने निर्णय भने भइसकेको छैन। यसअघि थोकमा सारिँदै आएका महाधिवेशनका कार्यक्रम अहिले भने कांग्रेसले खुद्रामा सारिरहेको छ।

प्रकाशित: Oct 01, 2021| 13:10 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...