जनकपुर- सामाजिक सञ्जालमा सक्रिय सर्लाहीका शिवनाथ राउत कहारले आफ्नो एउटा तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखे– डिसेबिलिटी इज नट एन अब्स्ट्याकल, सोसल स्ट्रक्चर इज। अर्थात्, शारीरिक अक्षमता होइन कि सामाजिक संरचना बाधक हो।
जब–जब सर्लाहीमा अनाथ बालबालिका वा अपांगता भएका व्यक्तिलाई आर्थिक वा शैक्षिक सहयोगको खाँचो पर्छ तब सबैले सम्झने नाम हो, शिवनाथ राउत।
सर्लाही चन्द्रपुर गाउँपालिका, वडा नं. २, बबरगञ्जका २८ वर्षीय राउत शिक्षाको पहुँचबाहिर रहेका विपन्न परिवारका बालबालिकाका सहारा बनेका छन्।
राउतले अपांगताका कारण वा अन्य कारणले पढ्न नपाएका दलित तथा विपन्न बालबालिकालाई शिक्षा उपलब्ध गराउन खटिँदै आएका छन्।
डाक्टरहरूले औषधीमुलो गरे पनि अवस्था झनै गम्भीर भयो। ज्वरो नघटेपछि डाक्टरले सुई लगाए। ज्वरो त कम भयो तर शरीर अचल भयो।
विपन्न परिवारमा जन्मिएका शिवनाथ एक वर्षको हुँदा रुघाखोकी र ज्वरोले ग्रस्त भए। ज्वरोले लुगलुग कामेको उनको शरीर ढाक्न उनका आमाबासँग कुनै लुगा थिएन। आमाले सप्कोमा बेरबार पारेर स्वास्थ्य चौकी पुर्याइन्। बाआमाले स्वास्थ्य चौकीमा लगे पनि उनको अवस्था नाजुक भइसकेको रहेछ।
डाक्टरहरूले औषधीमुलो गरे पनि अवस्था झनै गम्भीर भयो। ज्वरो नघटेपछि डाक्टरले सुई लगाए। ज्वरो त कम भयो तर शरीर अचल भयो।
‘आमाले भनेअनुसार रुघाखोकी र ज्वरो नघटेपछि इन्जेक्सन लगाउने कुरा भएछ,’ उनले आफ्नो बाल्यकालका कुरा सुनाए, ‘इन्जेक्सन लगाउँदा मेरो स्वास्थ्य अवस्था तत्कालका लागि ठिक देखिए पनि शरीरमा ज्यानै नभए जस्तो भो।’
चिकित्सकहरूले गलत सुई दिएका कारण शरीर प्यारालाइज्ड भएको थियो। पछि आमाले एक वर्षसम्म घरेलु विधि प्रयोग गरेर तेल लसुनसहितको मालिस गरेपछि बल्ल–बल्ल शरीर चल्न थाल्यो। तर पूर्ण रुवमा भने शरीर ठिक भएन।
शारीरिक अशक्तता भएका कारण उनी दस वर्षसम्म घरको घरै भए। घरमै पनि चारहात टेकेर मात्रै हिँडडुल गर्न सक्थे।
‘शरीरको एक भाग नचल्ने भएपछि मेरा लागि सबै दुनियाँ घरआँगन मात्रै भयो,’ उनले भने, ‘१० वर्षसम्म म चारहात टेकेरै घिस्रिन्थें।’
पछि गाउँका अगुवाले उनलाई पढ्न प्रेरित गरे। बाआमाले उनको अवस्था देखेर स्कुल भर्ना गरिदिन आनाकानी गरे पनि उनले पढिछोड्ने ढिपी गरे।
‘मैले जिद्दी गरेपछि उहाँहरूले स्कुल भर्ना गरिदिनुभयो,’ उनले भने, ‘तर पढ्नलाई धेरै कठिनाइ भयो। शरीर आफैं सफा गर्न सक्दिनथें। जसले गर्दा मान्छेहरू मलाई देख्नेबित्तिकै होच्याउन, जिस्काउनदेखि अपशब्दसम्म प्रयोग गर्थे।’
शिवनाथ चार हात टेकेर स्कुल जान्थे। उनी पिठ्युँमा किताबकापी बोकेर स्कुल लाग्थे। तर उत्फट्याङ गर्नेहरू उनको पिठ्युँमा आएर बसिदिन्थे। शिवनाथ भन्छन् ‘न म प्रतिकार गर्न सक्थें न मसँग अन्य कुनै विकल्प नै थियो।’
यो क्रम उनी पाँच कक्षा हुँदासम्म चल्यो। पछि उनले लठ्ठीको सहारामा हिँड्न थाले र अन्ततः लठ्ठी उनको सहारा नै बन्यो।
‘१४ वर्षसम्म हातखुट्टा टेकेर हिँडडुल गर्दा अरूले गरेका नकारात्मक व्यवहारले ममा भने सकारात्मक सोच विकसित भयो,’ उनले भने, ‘पछि त मेरो मनोबल यस्तरी बढ्यो कि कसैले त्यसलाई तोड्न सकेनन्। कक्षा ८ पुग्दा त मैले साइकल चलाउनसम्म सिकें।’
अहिले उनी कहीँ जानुपर्दा आफैं साइकल हाँक्छन्। निजी स्रोतका शिक्षक उनको मासिक तलब छ, ८ हजार रुपैयाँ। यस अतिरिक्त उनी अन्य सामाजिक कार्यक्रममा स्वयंसेवा गर्छन्। त्यसबापत आउने भत्ताले उनलाई घर चलाउन सहज हुन्छ।
उनी गाउँटोलका विपन्न तथा दलित परिवारका बालबालिकालाई निःशुल्क ट्युसन पढाउँछन्। तिनलाई स्कुल पढ्न प्रेरित गर्छन्। उनले हालसम्म झण्डै ४ सय बालबालिकालाई विद्यालय भर्ना गराएका छन्।
‘मेरा कामको सबैले प्रशंसा गरेका छन् यसमा मलाई खुसी लाग्छ तर आफ्नै जनप्रतिनिधिले वास्ता नगर्दा भने दुःख लाग्छ,’ उनी भन्छन्, ‘मेरो विचारमा शारीरिक अक्षमताभन्दा पनि सामाजिक संरचना र सोचचाहिँ बाधक हो।’
उनी आफू माध्यम बनेर सहयोग चाहने र सहयोग गर्नेहरूको भेट पनि गराइदिन्छन्। उनी यो कामका लागि सामाजिक सञ्जाल उपयोग गर्छन्।
उनीकहाँ पढ्न आउनेहरूलाई कतिपय संस्थाले सहयोग गरेका छन् भने कतिपयलाई उनी आफैं सहयोग माग्न जान्छन्। ‘संस्था र व्यक्तिबाट प्राप्त सहयोगले पढाउन सहज भएको छ,’ उनले भने।
उनलाई संघसंस्थाको धेरथोर सहयोग हुने गरेको छ तर स्थानीय सरकारले भने उनलाई कुनै सरसहयोगको सोधखोज गरेको छैन। जब कि स्थानीय सरकारसँग अशक्त र विपन्नलाई सहयोग गर्न आवश्यक स्रोत साधन पनि उपलब्ध छ।
‘मेरा कामको सबैले प्रशंसा गरेका छन् यसमा मलाई खुसी लाग्छ तर आफ्नै जनप्रतिनिधिले वास्ता नगर्दा भने दुःख लाग्छ,’ उनी भन्छन्, ‘मेरो विचारमा शारीरिक अक्षमता भन्दा पनि सामाजिक संरचना र सोच चाहिँ बाधक हो।’
शिवनाथ राउतका दुई छोरा छन्। ठूलो छोरा पढ्ने उमेरको भइसकेका छन्। आफूले भोगेजस्तो दुःख छोराहरूले गर्न नपरोस् भनेर भविष्यमा उनले पशुपालन गर्ने सोच पनि बनाएका छन्।