भदौ २० गतेको साँझ। अभियन्ता राजीव काफ्ले झम्सीखेलस्थित निवासमा थिए। ‘हिप्पी हिल रेस्टुरेन्ट’ बाट फोन आयो, ‘सर पुलिसले रेड हान्यो।’
उनले सामान्य लिए। बूढानीलकण्ठस्थित हिप्पी हिल प्रहरीको नजरमा पहिलादेखि नै थियो। उनी पुग्दा म्यानेजरको हातमा हतकडी थियो। आठदस युवाले म्यानेजरलाई घेरेका थिए। सबै सिभिलमा थिए। हिप्पी हिलको सञ्चालक आफू भएको परिचय दिए राजीवले। तीमध्ये एकले गृह मन्त्रालयको पत्र देखाए। उनीहरु रहेछन् लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी।
रेस्टुरेन्टमा नयाँनयाँ मानिस पुगिरहन्छन्। नेपालीभन्दा विदेशी युवा जान्छन् त्यहाँ। कुनै समय काठमाडौंमा आइरहने हिप्पीको सम्झनामा हिप्पी हिलको संरचना बनेको सुनाउँछन् राजीव।
लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी ध्यान गर्ने मुड बनाएर ग्राहकको भेषमा हिप्पी हिल पुगेका रहेछन्। ती प्रहरीजस्ता नदेखिने तन्नेरीले गाँजाको रहर गरे। म्यानेजरले खोजेर ल्याइदिए। राजीव भन्छन्, ‘गाँजाको सुकेको पात ८३ ग्राम उपलब्ध गराइदिएछन् एक जना स्टाफले।’
८३ ग्राम गाँजा पाएपछि लागूऔषध नियन्त्रण ब्युरोका प्रहरीले रेड हानेको कुरा खुलायो। हिप्पी हिल बन्द गराउन खोज्यो। राजीव खासै बोलेनन्। उनी भन्छन्, ‘म गाँजाको तस्कर होइन तर गाँजामा लागेको प्रतिबन्ध हटाउने कोसिसमा छु त्यसैले खासै बोलिनँ।’ म्यानेजर वृद्ध र शारीरिक रूपमा कमजोर थिए। राजीवले भोलिपल्ट आफैं ब्युरोमा आउने वचन दिए।
यस अवधि विश्वविद्यालय प्रवेश गरेजस्तो लाग्छ उनलाई। उनी सुनाउँछन्, ‘युनिभर्सिटी अफ नार्कोटी कन्ट्रोल ब्युरो भन्छु म। १५ दिन १५ वटा क्लास लिएँ।’
भदौ २१ गते बिहान राजीव कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्युरोमा पुगे। प्रहरीले स्वास्थ्य परीक्षणका लागि तयार रहन निर्देशन दियो। राजीवले नाइँनास्ती नगरी रक्तचाप र चोटपटक परीक्षण गराए। त्यसपछि उनलाई हतकडी लगाएर हिरासतमा राखियो। राजीव भन्छन्, ‘न प्रहरीले मेरो खल्तीमा गाँजा भेटेको थियो। न म गाँजाको तस्कर थिएँ। मलाई थाहा छैन किन पक्रियो। त्यसैले केही नबोली बसें, भागिनँ।’ १५ दिन उनी प्रहरी हिरासतमा बसे।
यस अवधि विश्वविद्यालय प्रवेश गरेजस्तो लाग्छ उनलाई। उनी सुनाउँछन्, ‘युनिभर्सिटी अफ नार्कोटी कन्ट्रोल ब्युरो भन्छु म। १५ दिन १५ वटा क्लास लिएँ।’
प्रहरी सुरक्षा दिएर उनले आफूलाई मन्त्री सम्झिए। भन्छन्, ‘त्यो क्षण म मन्त्रीजस्तो थिएँ। चार जना प्रहरीले मेरो सुरक्षा दिएका थिए। यतिधेरै सुरक्षा दिनु पर्थेन। म कुनै तस्कर थिइनँ।’
राजीव पक्राउ परेपछि उनका समर्थकले बिनासर्त रिहाइका लागि आग्रह गर्दै एनसीबी (नोर्कोटिक्स् कन्ट्रोल ब्युरो) घेराउ गर्ने चेतावनी दिएर विज्ञप्ति निकाले। जय देश जय चरेश भन्दै नारा लगाए। राजीव गाँजालाई वैध गरेर गरिब किसान र युवाको आर्थिक अवस्था उकास्ने लक्ष्यसहितको योजनामा छन्। युवालाई हतोत्साही पार्ने प्रहरी प्रयासले उनको अभियानमा ऊर्जा मिलेको थियो। उनी भन्छन्, ‘जब विज्ञप्ति निस्कियो त्यसपछि मेरो बारे प्रहरीले थाहा पायो। उनीहरुले तपाईं भन्न थाले।’
हिरासतमा उनले आफूजस्तै पक्राउ परेका दुई युवकलाई पनि भेटेछन्। दुई जना तामाङ थरका युवक चरेशसहित समातिएपछि लागूऔषध नियन्त्रण ब्युरो पुगेका थिए। राजीवका अनुसार ती युवक कतार जान घरबाट हिँडेका थिए। काठमाडौंमा पक्रिएछन्। कसैले दिएको झोला समातिदिएर सहयोग गर्न लाग्दा युवक पक्रिएको बताउँछन् राजीव। ‘दुवैजना भरिया थिए, तर फसे’, राजीव भन्छन्, ‘नेपालमा प्रतिकेजी २० हजार किलो पाइने चरेश कतारमा २५ लाख किलोमा बिक्री हुन्छ। अब बुझ्न सकिन्छ वास्तविक तस्कर त बिचौलिया हुन्। तर नेपाल प्रहरी भरियालाई समाएर देखाइरहेका छन्।’
जति प्रतिबन्ध लगाइयो उति कालोबजार फस्टाउने बताउँछन् राजीव। उनी भन्छन्, ‘सरकार ढाल्ने र बनाउने हैसियत राख्छ कालोबजारले।’ त्यसैले गाँजामाथि लगाइएको प्रतिबन्ध फुकाउनुपर्ने बताउँछन् राजीव। उनी भन्छन्, ‘चरेश ब्यान्ड गर्नु समृद्धिको ढोका थुन्नु हो।’
राजीवका अनुसार विश्वव्यापी तथ्यांक हेर्दा ९० प्रतिशत लागूऔषध अन्तर्राष्ट्रिय नाकाबाट पास हुन्छ। उनी भन्छन्, ‘कमाउनेले टन्न कमाइरहेका छन्। भरिया मात्रै फसिरहेका छन्? ती युवक प्रहरीसँग बेलाबेला घरबाट बोकेर आएको झोला माग्थे।
‘चरेश बोक्ने? गइस्। तेरो जिन्दगी गयो।’
‘कतारमा भए मार्थे तँलाई। नडरा भाइ केही पनि हुन्न नेपालमा।’
दुई युवकलाई कोही प्रहरीले तर्साएको र कोहीले सम्झाएको देखे राजीवले।
‘केही गल्ती गरेका छैनौ। तिमीहरु फस्यौ। जे लैजान खोजेका थियौ त्यो गलत चिज होइन। अहिले नेपालको कानुनले गलत भनिरहेको चिजलाई संसारले पछ्याइरहेको छ। विश्वका समृद्ध देशले चियापत्ती जसरी बेच्न थाल्दैछ गाँजा। तर नेपालले यसलाई अवैध भनिरहेको छ’, राजीवले उनीहरुलाई यस्तैयस्तै भनेर सम्झाए।
हिरासत बसाइमा धेरै दुःख देखे उनले। कतिपयले ऐयाआत्था भनेको उनी सुन्थे। ‘म त अलिकति पब्लिक फेस भएकाले प्रहरीले सम्मान नै गरे। तर अरूले मानसिक मात्रै होइन शारीरिक यातना पनि भोग्नुपरेको हुन्छ’, उनी भन्छन्। अनुसन्धानका क्रममा हुने क्रियाकलाप सबै रेकर्डेड हुनुपर्ने बताउँछन् उनी। उनी भन्छन्, ‘गोप्यता नचुहिने गरी तर चाहिएका बेला सार्वजनिक गर्नुपर्ने गरी रेकर्डेड हुनुपर्छ।’
स्वतन्त्रता कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा त्यहाँ पुगेपछि थाहा हुन्छ। मान्छेको मानमर्यादामाथि ठूलो आँच आउँछ। उनी भन्छन्, ‘हिरासतमा थुनिएपछि स्वतन्त्रता गुमेको महसुस हुँदो रहेछ। हरेक प्रहर एकै लाग्छ। जीवन एकसरो हुन्छ।’
नेपालका सबै जिल्लामा गरी २४ हजार कैदी छन्। तीमध्ये नौै हजार हाराहारीमा लागूऔषध मुद्दाका छन्। ती सबै भरिया रहेको बताउँछन् राजीव। उनले हिरासतका बन्दीलाई गाँजाबारे प्रशिक्षण दिएको बताउँछन् उनी। उनी भन्छन्, ‘अभियान थप बलियो बनाउन उनीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।’
उसो त एचआईभी संक्रमित राजीवको विगत पनि त्यति सुखद छैन। सन् १९९७ मा एचआईभी संक्रमित भए राजीव। डाक्टरले उनलाई तीन वर्ष पनि बाँच्दैन भन्यो। मरिने पिरले उनलाई पनि छोप्यो। तर संक्रमित खुलेर बल्न सक्थेनन्। नमरुन्जेल बाँचिने उपाय खोजिन्छ। कसैलाई रोगको बारेमा खुलेर सुनाउँदा आफैंमा लाज र डरको विषय थियो। तर राजीव डराएनन्। औषधि खोज्न थाले।
नेपालमा भर्खर इन्टरनेट आएको थियो। उनले नेटमा एचआईभीको औषधि खोज्न थाले। औषधि अमेरिकामा पाइने थाहा पाएपछि उनलाई बाँच्ने आशा जाग्यो।
सन् २००० मा विश्व एड्स दिवसको अवसर पारेर उनले काठमाडौंमा एचआईभी संक्रमितलाई जम्मा गरे। डर र लाजले बाहिर आउन नमानेका संक्रमित राजीवसँगै देखिए। उनलाई समर्थन गरे। उनी सम्झिन्छन्, ‘कमल थापा स्वास्थ्यमन्त्री थिए। थापालाई मैले भनें, हामी पनि बाच्न चाहन्छौं। औषधि ल्याइदिनुस्।’
२००३ मा एचआईभी संक्रमित बिरामीका लागि औषधि ल्याउने घोषणा गरे थापाले। तीन महिनामा टेकु अस्पतालबाट २५ जनाले औषधि पाए।
एचआईभी संक्रमितका लागि गाँजा औषधि जस्तै हो भन्ने उनले त्यतिबेलै थाहा पाएका थिए। गाँजालाई औषधिका रुपमा प्रयोगमा ल्याउन र गाँजाकै कारण जोखिममा परेका पीडितलाई बचाउन ‘रिकभरिङ नेपाल महासंघ’ स्थापना गरे। गाँजामाथि लगाइएको प्रतिबन्ध हटाउन अभियान चलाउने संकल्प गरे।
पश्चिमा देशले गाँजालाई वैध गरेर देश समृद्धि बनाइरहेका नेपालले प्रतिबन्ध लगाउन खोजेको प्रति उनी आपत्ति जनाउँछन्। उनी गाँजालाई वैध बनाउन नीति ल्याउन ढिलाइ गर्न नहुने बताउँछन्। उनी भन्छन्, ‘प्रतिबन्ध लगाउने नीति अवलम्बन गर्ने कि, नियमन गर्ने?’
गाँजा औषधिजन्य लागू पदार्थ भएकाले यसको दुरुपयोग गर्नु ठूलो दोष हो। राजीव भन्छन्, ‘गाँजा औषधिका रुपमा प्रयोग गर्न पाइनुपर्छ भन्ने हो। यसका लागि निरन्तर फाइट गरिन्छ।’
नेपालको नीतिमाथि प्रश्न गर्छन् उनी। उनी भन्छन्, ‘तिहारमा पटाकामा प्रतिबन्ध लगाइन्छ। तर त्यसको मूल्य दोब्बर हुन्छ। गाँजामा पनि प्रतिबन्ध लगाउँदा कालो बजार फस्ट्याउँछ।’
उनी विदेशको उदाहरण दिन्छन्। स्विट्जरल्यान्ड जहाँ हेरोइन वैधानिक छ। पोर्चुगल जहाँ सबै किसिमका ड्रग वैधानिक छ। तर नेपालमा छोड्छु भन्दा नि छोड्ने ठाउँ छैन। राजीव भन्छन्, ‘ऐन नै ३३ सालको छ। सातामा हामी अपडेट भएनौं भने धेरै कुरा परिवर्तन भइसक्ने डिजिटल समयमा ३३ सालको ऐनको पछाडि दौडनुपरेको छ।’
राजीव धरौटीमा छुटेका छन्। कात्तिक २७ गते तारिख छ। उनी भन्छन्, ‘मलाई गाँजा बेचबिखनको मुद्दा चलाए। मेरो मर्यादामा आँच आउने कदम हो यो।’
यद्यपि उनी लक्ष्यबाट डगमगाएका छैनन। गाँजाको प्रतिबन्ध खुलाउनतिर अझ बाटो फराकिलो भएको देख्छन्। उनको प्रश्न छ, ‘भाङको दानालाई वैधानिक मान्ने तर पातचाहिँ अवैधानिक किन?
गाँजा औषधिजन्य लागू पदार्थ भएकाले यसको दुरुपयोग गर्नु ठूलो दोष हो। राजीव भन्छन्, ‘गाँजा औषधिका रुपमा प्रयोग गर्न पाइनुपर्छ भन्ने हो। यसका लागि निरन्तर फाइट गरिन्छ।’