काठमाडौं- नेपालकै महंगो क्रिकेट फ्रेन्चाइज एभरेस्ट पृमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स एलेवेनमाथी बिहीबार चितवन टाइगरले जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा काठमाडौंमाथि चितवन टाइगरले तीन विकेटको जित निकालेको हो।
कमल सिंह ऐरी र राजेश पुलामीले ४७ रनको साझेदारी गर्दै ९५ रनमा ७ विकेट गुमाएको अवस्थाबाट चितवनलाई पुनरागमन गराएका थिए। त्यसअघि कप्तान सोमपाल कामी शून्य र सेकुगे प्रसन्न ५ रनमा आउट भएका थिए।
टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १४१ रन बनाएको थियो। १४२ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको चितवनले १८ ओभर चार बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।
काठमाडौंका लागि सुबास खकुरलले ३५, राजु रिजालले २५ र जनक प्रकासले २६ रन बनाएका थिए।
चितवनका सागर ढकाल र करिम जन्नतले क्रमशः ४ र २ विकेट गिराएका छन्। कमल ऐरी र सेकुगे प्रसन्नले समान १-१ विकेट गिराए।
जवाफी ब्याटिङमा चितवनका मोहम्मद साहजादले १७, करिम जन्नतले २१, दिलिप नाथले २३, कमल सिंह ऐरीले २३ र राजेश पुलामीले २६ बनाए। ऐरी र पुलामी अविजित रहे।
काठमाडौंका रायन बर्ल र जितेन्द्र मुखियाले समान २-२ विकेट लिए। त्यस्तै गुल्सन झा र सन्दीप लामिछानेले समान १-१ विकेट गिराए।
यो जितसँगै ४ अंक बनाएको चितवन शीर्षस्थानमा छ। पराजित काठमाडौं चौथो स्थानमा छ।
आजको अर्को खेलमा ललितपुरले भैरहवाको सामना गर्दैछ। खेल साढे १ बाट सुरु हुनेछ।