काठमाडौं- भिडियो बनाएर युट्युबमा प्रकाशन/प्रसारण गरी महिलाको चरित्रहत्या गरको आरोपमा ४ जना युट्युबर पक्राउ परेका छन्। महिलाको चरित्रहत्या गर्ने भिडियो तथा अन्तर्वार्ता प्रसारण गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप भण्डारी, हरेकपलको खबर युट्युब च्यानलका नुवाकोटका २७ वर्षीय शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलका मोरङका ३५ वर्षीया पिंकला कार्की र मोडर्न अनलाइन टीभी युट्युब च्यानलका दोलखाका २४ वर्षीय रोधन तामाङ छन्। उनीहरू बुधबार पक्राउ परेका हुन्।
उनीहरूले पीडित महिलाको तस्बिरसहित भिडियो बनाएका थिए। पीडित पक्षले आफ्नो चरित्रहत्या हुने गरी सामग्री युट्युबमा राखिएको भन्दै उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको साइबर ब्युरोको भनाइ छ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।