काठमाडौं– डीभी नतिजामा नाम निकालेर अमेरिका जान शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको भरतपुर २९ जुगेडीका जीवन कार्की, चितवनकै खैरेनी ३ का नवीन दराई र रौतहटको चन्द्रपुर ९ सिंदुरेघारीका शिव रोक्का छन्।
भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिले भिसा प्रयोजनका लागि कक्षा १ं२ को नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्ने अमेरिकी दूतावासको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
पक्राउ परेकामध्ये दराईसँग जीवन कार्कीले एक लाख सत्तरी हजार रुपैयाँ लिई कक्षा १ं२ को शैक्षिक प्रमाण पत्र बनाई दिएको खुल्न आएको प्रहरीले जनाएको छ। तीनै जनालाई काठमाडौंको कंलकीबाट पक्राउ गरी लिखत सम्बन्धी कसुरमा मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।