काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने भएका छन्।
राज्यमन्त्री श्रेष्ठले सरकारले दसैंअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिए। विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको बताए। वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उनको भनाइ छ।
राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको बताए। राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरुको सुधार गर्न सरकार लागिपरेको बताए।
कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदुषणबाट बच्ने र नियमित शारीरिक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गरे।