काठमाडौं– औषधि व्यवस्था विभागले दुई औषधिमा समस्या देखिएको भन्दै तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। दुई वटा नेपाली औषधि उत्पादक कम्पनीका दुई औषधिमा समस्या देखिएपछि विभागले बजारबाट फिर्ता गर्न भनेको हो।
विभागले गरेको बजार अनुगमनका क्रममा क्यूमेड फर्मुलेसन प्रालि र लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेका दुई औषधिमा समस्या देखिएको छ।
अनुगमनका क्रममा क्यूमेडको लेभोसेफ–५०० (लोभोफ्लोक्सासिन ५०० एमजी ट्याबलेट्स) नामको औषधि र लोमसको जेफिक्स–१०० (सेफिक्सिम १०० एमजी डिस्प्रेसिवल ट्याब्लेट्स) नामका औषधि न्यून गुणस्तरको फेला पारेको हो।
भागले दुवै औषधिको गुणस्तर कम भएको बताएको छ। औषधिमा समस्या देखिएपछि विभागले औषधि ऐन २०३५ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ। बजारमा पुगेका ती औषधि तत्कालै फिर्ता गर्न र त्यसको विवरण पेस गर्न भनेको छ। यी दुवै औषधि यान्टिबायोटिक हुन्।