बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कामदार अभावले भीमसेन मन्दिर पुनःनिर्माण तिहारपछि सम्पन्न हुने

कामदार अभावले भीमसेन मन्दिर पुनःनिर्माण तिहारपछि सम्पन्न हुने

पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम नजिकै आइरहेको दसैं–तिहारअघि सम्पन्न नहुने भएको छ। हिन्दू धर्मावलम्बीको महान् पर्व दसैं–तिहार नजिकिएसँगै कामदार अभाव हुँदै जाँदा पछि मात्र सम्पन्न हुने भएको हो।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

ललितपुर- पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम नजिकै आइरहेको दसैं–तिहारअघि सम्पन्न नहुने भएको छ। हिन्दू धर्मावलम्बीको महान् पर्व दसैं–तिहार नजिकिएसँगै कामदार अभाव हुँदै जाँदा पछि मात्र सम्पन्न हुने भएको हो।

मन्दिरको सबैभन्दा माथि तामाको छाना छाउने काममा जनशक्ति अभाव भइरहेकाले सो पर्वपछि मात्रै मन्दिर पुनःनिर्माण सम्पन्न हुने प्राविधिक सहयोगको जिम्मा लिएको काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी)का देशीय निर्देशक रोहित रञ्जितकारले बताए। उनले भने, 'मन्दिरको बाँकी दुई तलामा झिङ्गटीको छानो छाउने भएकाले सामान भने आउने क्रम जारी छ।' मन्दिर सरसफाइ आदिमा समेत केही समय खर्च हुने भएकाले केही समय लाग्ने भएको रञ्जितकारको भनाइ छ।

वि.सं. २०७२ वैशाख १२ को गोरखा भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको दलिन, बिम र माथिल्लो तलाको गारो थाम्ने थामसमेत भाँचिएर भित्ता चिराचिरा परेका थिए। निर्माणाधीन मन्दिरमा गारो लगाउने काम पूर्णरूपमा सकिएर माथिल्लो तलामा छाना हाल्ने काम भइरहेको ललितपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले बताए। उनले भने, 'कोरोना महामारी बढेर मुलुकमा बन्दाबन्दी नभए यही असोजभित्र मन्दिर निर्माण सम्पन्न गर्ने योजना बनाएका थियौँ, तर केही ढिलाइ हुने भयो।'

मन्दिरको माथिल्लो तलामा काठ हाल्ने काम सकिएको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले बताए। उनले भने, 'मन्दिरमा पुरानै गजुर प्रयोग गर्न मिल्ने भएकाले यसैलाई फेरि हाल्नेछौं।' प्राचीन शैलीमा निर्माणाधीन मन्दिर सम्पन्न भएपश्चात माथिदेखि स्काफोल्डिङ झिक्दै आउने श्रेष्ठले जानकारी गराए।

‘हाम्रो सम्पदा हामी आफैं बनाऔं’ भन्ने नाराका साथ मन्दिर पुनःनिर्माणमा लाग्दा विदेशीसँग हात फैलाउन नपर्ने उदाहरण प्रमाणित गर्न सफल भएको संघका अध्यक्ष मनोजबहादुर न्याछयोंले दाबी गरे। व्यापारीको आराध्य देवता मानिने सो मन्दिर पुनःनिर्माणका लागि दाताबाट लगभग पाँच करोड चन्दा सङ्कलन भइसकेको निवर्तमान अध्यक्ष महर्जनको भनाइ छ।

भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको भीमसेन मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि कसैले चासो नदेखाएपछि परिसरबाट आवतजावत गर्ने हजारौं स्वदेशी तथा विदेशीलाई नोक्सानी पुग्ने डरका कारण ललितपुरवासी स्वयं अग्रसर भएका थिए। सङ्घले सो मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरेको थियो। मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तुको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा रहेको थियो।

मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुको छाना निकाल्ने र मर्मतपछि पुनः राख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकार र मन्दिरलाई चाहिने डाँची तथा इँटा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउने प्रतिबद्धताअनुरुप सहयोग गरेका संघले जानकारी गराएको छ। चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोहरका रूपमा प्यागोडा शैलीमा निर्माण भएको थियो। 

भीमसेन मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई विश्व हस्तकला परिषद्ले विश्वको ३५औं कला नगरी घोषणा गरिसकेको छ। मन्दिर पुनःनिर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा केभिपिटी लिनाका साथै नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, मङ्गल टोल सुधार समिति, ललितपुरका जातीय समाजलगायत विभिन्न संघसंस्थासमेत लागिपरेका छन्।

पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीको पुरानो थलो पनि हो। पाँच पाण्डवका माइला भाइ भीमसेनको दर्शन र पूजाआजा गर्नाले व्यापारमा फलिफाप हुने विश्वास आम व्यवसायीको छ। पाटनका प्रसिद्ध धरोहरका रूपमा सोलगायत कृष्ण मन्दिर, चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहार आदि रहेका छन्।

- रासस

प्रकाशित: Sep 29, 2021| 08:39 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।