काठमाडाैं- रोयल्टी संकलन समाज विवादमा मुछिएको छ। गीतकार संघ र संगीतकार संघ रोयल्टी रकम दुरुपयोग गरेको आरोपमा समाजविरुद्ध खनिएका हुन्। समाजले रोयल्टी उठाएर वितरण नगरेको तथा संकलित रकम हिनामिना गरेको आरोप उनीहरुको छ।
समाजको भदौ २३ गते आयोजित साधारणसभामा अध्यक्ष सुरेश अधिकारीलाई उनको कार्यकालमा भएको आर्थिक अनियमितताबारे दुई संस्थाले प्रश्न उठाएपछि विवाद उत्पन्न भएको थियो। संगीतकार संघका अध्यक्ष पारस मुकारुङ भन्छन्, ‘२३ गतेको साधारणसभामा हामीले अनियमितताबारे सोध्दा निर्वाचन स्थगित गरियो।’
भदौ २९ गते पूर्ण सदस्यको अनुपस्थितिमा अधिकारीले नयाँ कार्यसमिति घोषणा गरेको गुरुङको आरोप छ। विधानअनुरूप समाजको निर्वाचनमा पूर्ण सदस्यले मात्र मतदान गर्न पाउँछन्। २९ गतेको निर्वाचनमा अधिकारी पुनः अध्यक्ष पदमा दोहोरिएर आर्थिक हिनामिना लुकाउन खोजेको आरोप पनि मुकारुङको छ। उनी भन्छन्, ‘आर्थिक वर्ष २०७४ देखिको आर्थिक अनियमितता लुकाउन विधानविपरीत नयाँ कार्यसमिति निर्माण गरियो।’
समाजको विधानअनुरुप पूर्ण सदस्य रहेका ३२ जनाले संगीतकार लक्ष्मण शेषलाई अध्यक्ष चयन गरेको थियो। यस्तै, गीतकार र संगीतकार संघका पाँच–पाँचजनाको सदस्यतामा नयाँ कार्यसमिति चयन गरेको थियो। तर, सुरेश अधिकारीले उक्त निर्वाचनलाई मान्यता नदिएर आफैंलाई अध्यक्ष घोषणा गरेको संघको दाबी छ।
विधानविपरीत निर्वाचन गरियो भन्दै गीतकार तथा संगीतकार संघले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन्। असार १६ मा अख्तियारमा दर्ता गरिएको निवेदनमा यातायात, एनसेल र एनटीसीबाट उठेको रकम हिनामिना गरी राजस्व चुहावटलगायत आफूखुसी कर्मचारी नियुक्ति, बेहिसाब खर्च र पेस्की रकमका नाममा गरेको हिनामिना छानबिन गर्न आग्रह गरिएको छ।
संगीतकार लक्ष्मण शेष समाजले आव ०७४/७५ मा ५५–६० प्रतिशत र ७५/७६ मा ९२ प्रतिशतसम्म रोयल्टी रकम मनपरी खर्च गरेको आरोप लगाउँछन्। उनी भन्छन्, ‘गीतकार र संगीतकार संघले पारदर्शी हिसाब मागेका थियौं। उहाँहरुले दिन सक्नुभएन।’
मुकारुङले समाजको आर्थिक प्रतिवेदनमा संकलित रोयल्टीको ९२ प्रतिशत रकम खर्च गरेको दाबी गरे। उनले भने, ‘समाजले संकलित रोयल्टीको २५ प्रतिशत मात्रै खर्च गर्न पाउँछ। उनीहरुका प्रतिवेदनमा मनपरी खर्च गरिएको देखियो। त्यो कुरा त स्रष्टाले पास गर्दैनन्।’
संगीतकार लक्ष्मण शेष समाजले आव ०७४/७५ मा ५५–६० प्रतिशत र ७५/७६ मा ९२ प्रतिशतसम्म रोयल्टी रकम मनपरी खर्च गरेको आरोप लगाउँछन्। उनी भन्छन्, ‘गीतकार र संगीतकार संघले पारदर्शी हिसाब मागेका थियौं। उहाँहरुले दिन सक्नुभएन।’
समाजभित्रको आर्थिक हिनामिना बाहिर निकाल्न आफूहरु अदालतसम्म पुग्ने संगीतकार लक्ष्मण बताउँछन्। भन्छन्, ‘आर्थिक हिसाबकिताबको यथार्थ बाहिर आउँदैन भने हामी अदालत जान्छौं। यसरी पनि हामीले न्याय पाएनौं भने बौद्धिक आन्दोलन घोषणा गर्नेछौं।’
गीतकार संघ नेपालका पूर्वअध्यक्ष डा. कृष्णहरि बराल रोयल्टी संकलन समाजले गरेको आर्थिक हिनामिनामाथि छानबिन हुनुपर्ने बताउँछन्। भन्छन्, ‘रोयल्टी संकलन समाजले आर्थिक अनियमितता छानबिनमा सहयोग गर्नुपर्छ। आर्थिक अनियमितता गरेको छैन भन्दै पन्छन पाइँदैन।’
समाजका अध्यक्ष सुरेश अधिकारी संघले लगाएको आरोप गलत रहेको बताउँछन्। उनी भन्छन्, ‘रोयल्टी संकलन समाज भ्रष्टाचार गर्न मिल्ने संस्था होइन। यो गलत आरोप हो।’
समाज प्रतिलिपि अधिकार ऐन, ०५९ को दफा ३९ अनुसार नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा दर्ता भएको गैरसरकारी निकाय हो। समाजको कार्यक्षेत्र स्रष्टाहरूलाई संस्थामा आबद्ध गराउने, सिर्जना प्रसारणको अनुमति दिने, रोयल्टीको दर निर्धारण, संकलन एवं वितरण गर्नु हो।