विराटनगर– कोभिड–१९ विरुद्धको खोप अभियान अहिले देशभर नै चलिरहेको छ। कोरोनाबाट बच्न खोप लगाइएको हो, तर खोप लगाउने क्रममा नै संक्रमण फैलिएला भन्ने चिन्ता छ। खोपमा सामान्य स्वास्थ्य मापदण्ड पनि अपनाइएको छैन।
स्वास्थ्य मापदण्ड नअपनाउँदा कोरोनाको संक्रमण बढ्ने जोखिम देखिएको छ। विराटनगरमा दैनिक कोरोना संक्रमण बढिरहेको समयमा खोप लगाउने क्रममा ख्याल–ख्याल गर्दा जोखिम बढ्ने चुनौती देखिएको छ।
कोभिड–१९ विरुद्धको खोपका लागि घण्टौंसम्म लाइनमा बस्नुपर्छ र लाइनमा बस्दा सामान्य स्वास्थ्य मापदण्ड नअपनाएको पाइएको छ। विराटनगरको वीरेन्द्र सभागृहमा महिला र पुरूषलाई छुट्टाछुट्टै लाइन लगाएर खोप स्थलमा पुर्याउने व्यवस्था गरिए पनि बच्चाका आमाहरू, शिक्षक, कर्मचारीलगायतलाई छुट्टै व्यवस्था नगरिँदा भीडभाड बढेको र भौतिक दूरीसमेत कायम हुन नसकेको भनाइ खोप लगाउन लामबद्ध इन्द्र घिमिरेले बताए।
खोप स्थलमा आवश्यक मात्रामा कर्मचारी नभएको र खोप लगाएका व्यक्तिहरूको रेकर्ड प्रणाली सुस्त गतिमा हुँदा धेरैले दुःख पाएको खोप लगाउन लाइनमा बसेकी विराटनगर महानगरपालिका–५ की २२ वर्षीया माला बुढाथोकीले बताइन्।
नेपाल सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप प्रदेश १ मा आएपछि खोप अभियान थालिएको छ। प्रदेश १ का लागि सरकारले १ लाख ६९ हजार डोज भेरोसेल र ४८ हजार भायल (२ लाख ४० हजार डोज) जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारलाई प्राप्त भएको सबै खोप साउन ९ गतेदेखि नै जिल्लाहरूमा वितरण गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट साउन ९ गते प्राप्त भएको खोप जिल्लाहरूमा वितरण गरिसकेपछि साउन ११ गतेबाट खोप अभियान थालिएको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहको भनाइ छ।
खोपका लागि घण्टौंसम्म लाइनमा
विराटनगर महानगरपालिका–५ की ३३ वर्षीया प्रतिमा श्रेष्ठ बुधबार वीरेन्द्र सभागृहमा कोभिड–१९ विरूद्धको भेरोसेल खोप लगाउन पुगिन्। सात महिनाको नानीलाई लिएर खोप केन्द्रमा बिहान ७ बजे पुगेकी श्रेष्ठले मध्यान्ह १२ बजेसम्म पनि लाइन छिचोल्न सकिनन्। उनीसँगै ९ महिने नानीसहित विराटनगर महानगरपालिका–५ कै ३५ वर्षीया प्रमिला श्रेष्ठ पनि कोभिड–१९ विरूद्धको खोप लगाउन विराटनगर महानगरपालिकाले तोकेको खोप केन्द्र बिहान ७ बजे नै पुगेकी थिइन्। मह्यान्हसम्म पालो आउने छाँटकाँट थिएन। खोपका लागि व्यवस्थापन राम्रो गुनासो उनीहरुको छ।
१५ वर्षीय छोरालाई मिर्गौलासम्बन्धी समस्या भएर भारतको एपोलो अस्पतालमा उपचार गराइरहेकी विराटनगर महानगरपालिका–१२ की २९ वर्षीया टिका खड्का पनि कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन वीरेन्द्र सभागृहमा पुगेकी थिइन्। कोभिड–१९ को खोप लगाएर दुई–तीन भित्रमा फेरि भारत जानु छ उनलाई। खोप पाउने आशमा बिहान ७ बजेदेखि नै लाइनमा बसे पनि मध्यान्हसम्म पालो नआएको खड्काले बताइन्।
विराटनगर महानगरपालिकाले वीरेन्द्र सभा गृहमा कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले अग्रपंक्तिमा कार्यरत शिक्षक, कर्मचारी, प्रहरी, यसअघि खोप लगाउन छुटेका व्यक्तिहरू, सञ्चारकर्मी, सार्वजनिक सवारीका चालकहरू, सहचालकहरू र सबै नागरिकलाई खोप लगाउन सार्वजनिक सूचना गरेपछि वीरेन्द्रसभा गृहमा खोप केन्द्र निर्धारण गरिएको थियो।
मापदण्ड पनि भुलियो
खोप लगाउँदा पनि मापदण्ड नअपनाइएको पाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार एक स्वास्थ्यकर्मीले एक दिनमा १२५ भन्दा बढीलाई खोप लगाउन मिल्दैन। तर, विराटनगरमा मापदण्ड भन्दा बाहिर गएर पनि खोप लगाइएको छ। स्वास्थ्यकर्मीको अभावका कारण मापदण्ड अपनाउन समस्या भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की बताउँछन्।
उनले भने, ‘एक स्वास्थ्यकर्मीलाई १२५ जनाभन्दा बढीलाई नलगाउनु भनिएको छ। तर यहाँ त एकै जनाले २ सयभन्दा बढीलाई लगाउनु परेको छ।’ बुधबार वीरेन्द्र सभागृह खोप केन्द्रमा खोप लगाउने एक स्वास्थ्यकर्मीका अनुसार उनीहरुले २ सयभन्दा बढीलाई खोप लगाइरहेका छन्।