काठमाडौं– पेसागत हित र विद्यालय शिक्षाको गुणस्तर उकास्नका लागि सरकारसँग राखेको माग पूरा गराउनका लागि दबाब दिन नेपाल शिक्षक महासंघले रिले अनशन सुरु गर्ने भएको छ। महासंघले साउन १५ गते अनशन सुरु गर्न लागेको हो।
महासंघले वैशाख २० गतेदेखि आन्दोलन जारी राख्दा पनि सरकारले सुनुवाइ नगरेपछि अनशन बस्नुपर्ने अवस्था आएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। महासंघको यसअघि जारी भएको विरोध कार्यक्रमको निरन्तरताअनुरुप नै शिक्षक कर्मचारीको सहभागितामा शिक्षक रिले अनशन बस्न लागेको सुवेदीले बताए।
अनशन कार्यक्रमअनुसार १५ गतेदेखि हरेक पालिकाको कार्यालयमा कम्तीमा एक महिलासहित ३ जना , जिल्लाको शिक्षा समन्वय एकाइमा कम्तीमा २ महिलासहित ५ जना, प्रदेशको सामाजिक विकास मन्त्रालयमा कम्तीमा ३ महिला शिक्षकसहित १० जना र काठमाडौंको माइतीघर मण्डलामा कम्तीमा ५ महिलासहित २० जना शिक्षक कर्मचारी रिले अनशनमा बस्नेछन्। अनशनको बिहान ८ बजे बाट सुरु भएर दिउसो ४ बजे सकिने महासंघले जनाएको छ।
महासंघ प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाका लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने गर्नुपर्ने , शिक्षक सेवा आयोगमा तत्काल पदाधिकारी नियुक्ति गरेर स्थायी शिक्षकको विज्ञापन खुलाउनुपर्ने लगायतका ३४ बुँदे माग राख्दै आन्दोलनरत छ।