काठमाडौं- गत साउन ५ गते ललितपुरका चार क्लबले कोभिडका बेलामा लिग नगराउन माग गरेकोमा खेलाडी र बाँकी समर्थकबाट व्यापक विरोध भएपछि क्लबहरु पछि हटेका छन्। ललितपुरका थ्री स्टार, जावलाखेल, फ्रेन्डस् र ब्रिगेड बोइज क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष लिग नगराउन माग गरेका थिए।
‘अहिले घोषणा गरिएको मितिबाट सुरु गर्ने भनिएको लिग कोभिडको भयावह स्थितिका कारण आयोजना गर्न कुनै पनि हालतमा उपयुक्त देखिँदैन,’ चार क्लबहरूले एन्फालाई संयुक्त रूपमा लेखेको पत्रमा भनिएको थियो, ‘कम्तिमा पनि संक्रमण दरमा अत्यधिक कमी भइसकेपछि मात्र लिगलगायत अन्य फुटबल सञ्चालन गर्न उपयुक्त देखिन्छ।’
तर, आगामी असाज ३ गतेबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगबारे छलफल गर्न आज एन्फाले बोलाएको बैठकमा क्लबहरुले आफूहरुले लिग नगराउन अनुरोध नगरेको र व्यवस्थित रुपमा गराउन अनुरोध गरेको बताएका छन्।
ब्रिगेड बोइज क्लबका अध्यक्ष लालकुमार पुनले खेलाडीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। स्वास्थ्य मन्त्रालयले तेस्रो कोभिडको तेस्रा वेभ आउने बताइरहँदा लिगमा खेलाडीलाई समस्या पर्ने बताएका छन्।
त्यस्तै, थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकारले आफूले पछिल्लोपटक बुझाएको पत्रमा लिग रोक्ने कुरा नगरेको तर त्यसलाई प्राविधिक रुपमा अघि लैजानुपर्ने कुरा उल्लेख भएको बताएका थिए।
त्यस्तै, पछिल्लो सिजनमा बी डिभिजन लिगबाट ए डिभिजनमा उक्लिएको सातदोबाटो यसथ क्लबका अध्यक्ष कपिल राना मगरले भैपरी आउने अवस्थाको आंकलन गरेर लिगको तयारी गर्नुपर्ने बताएका थिए।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले कुनै पनि हालतका लिग हुने बताएका छन्। ‘जुनै हालतमा पनि लिग आयोजना हुन्छ। हामी सुरक्षाको पूर्ण मापदण्ड अपनाउँछौँ र सरकारबाट पनि स्विकृति लिन्छौं,’ उनले क्लब प्रतिनिधिलाई आश्वस्त पारेका छन्।