मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अल्मुताइरी राजीनामा प्रकरण : विवादित उपाध्यक्ष नेम्वाङ कांग्रेसका नेता

अल्मुताइरी राजीनामा प्रकरण : विवादित उपाध्यक्ष नेम्वाङ कांग्रेसका नेता

अल्मुताइरीको राजीनामा घोषणापछि सामाजिक सञ्जालमा राजीनामा फिर्ता लिन समर्थकहरुले आग्रह गरिरहेका छन्।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं– आइतबार दिउँसो नेपाली फुटबल जगत एकाएक तातियो। अखिल नेपाल फुटबल संघ (एन्फा) त यसमा जोडिने नै भयो। सँगै समर्थकहरु समेत आक्रोशित बन्न पुगे। कारण थियो– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा। 

National life

आइतबार मह्यान्ह १२ बजेर २१ मिनेटमा अल्मुताइरीले फेसबुकमा एउटा स्टाटस लेखे। जसले नेपाली फुटबल र समर्थकलाई चक्मा दियो। स्टाटसमार्फत उनले राजीनामा घोषणा मात्रै गरेनन्, त्यसको प्रमुख कारण एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ रहेको खुलाइदिए। 

अल्मुताइरीको राजीनामा घोषणापछि सामाजिक सञ्जालमा राजीनामा फिर्ता लिन समर्थकहरुले आग्रह गरिरहेका छन्। अर्कोतर्फ नेम्वाङको आलोचना समेत भइरहेको छ। कतिपयले नेपाली फुटबलमा नेम्वाङ नभए केही फरक नपर्ने तर अल्मुताइरी आवश्यक रहेको तर्क गरिरहेका छन्। एन्फाले गत चैतमा अल्मुताइरीलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएको गरेको थियो। उनको नेतृत्वमा ३ खेल खेलेको नेपालले एक जित र दुई हारको नतिजा निकालेको छ। 

अक्टोबरमा नेपालमै आयोजना हुन सक्ने भनिएको साफ च्याम्पियन्ससिपको बन्द प्रशिक्षण भइरहेको बेला मुख्य प्रशिक्षकको आश्चर्यजनक रुपमा राजीनामा आएको छ र त्यसमा जोडिएका छन्, नेम्वाङ।

तर, नेम्वाङले भने आफूमाथि षड्यन्त्र भएको दावी गरेका छन्।  ‘आश्चर्यजनक रुपमा यो कुरा किन आयो? मलाई विश्वास छ– एन्फाले यस विषयमा छानबिन समिति गठन गर्छ। दोषी देखिए कारबाही भोग्न तयार छु। निराधाररुपमा षड्यन्त्रपूर्वक हेड कोचको विज्ञप्ति आएको छ,’ उनले भनेका छन्, ‘सबै फुटबलप्रेमीले बुझिदिनुस्। राम्रो र सत्यका पक्षमा वकालत गर्दै आएको व्यक्ति हो। यो ममाथिको षड्यन्त्र हो।’

Laxmi sunrise bank
kumari

अहिले चर्को आलोचनाको शिकार भइरहेका नेम्वाङ यसअघि पनि विवादमा आइरहने पात्र हुन्। उनी एन्फाभित्रको राजनीतिमा विवादित पात्र हुन्। उनले  एन्फासँगै सत्तारुढ दल नेपाली कांग्रेसको राजनीति समेत गर्दै आएका छन्। कांग्रेसको महासमिति सदस्य रहेका नेम्वाङ झापा धुलावारीका बासिन्दा हुन्। उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गुट निकट मानिन्छन्। उनी कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्य समेत हुन्। यस्तै नेम्वाङ कांग्रेसको खेलकुद विभागका सदस्य समेत हुन्। 

कांग्रेसको राजनीतिमा सक्रिय नेम्वाङ २०७५ वैशाख १२ गते भएको एन्फाको १६औं साधारणसभाबाट उपाध्यक्षमा निर्वाचित भएका थिए। त्यो बेला उनी एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्यानलबाटै उपाध्यक्ष जितेका थिए। उनी २०७६ साल वैशाख ३१ गते एन्फाको वरिष्ठ उपाध्यक्ष चुनिए। एन्फा सुधारका लागि भन्दै गणेश थापा विरुद्ध आन्दोलन हुँदा शेर्पाका दाहिने हात उनै नेम्वाङ थिए। 

तर, पछिल्लो समय कर्माछिरिङ र नेम्वाङ परस्पर विरोधी हुन्। अहिले अध्यक्ष शेर्पाको कटु आलोचककका रुपमा उनै नेम्वाङ छन्। उनी कार्यसमिति बैठक बहिष्कार, नोट अफ डिसेन्ट लगायतका विषयका कारण चर्चामा आइरहन्छन्।  उनी यसअघि पनि पटक–पटक विवादमा आएका थिए। २०७६ मा जोर्डनमा भएको एएफसी च्याम्पियनसिप छनोटमा आफ्नो छोरालाई टिममा पठाएको भनेर पनि उनको आलोचना भएको थियो।  

यु–१६ टोलीमा योग्य खेलाडीलाई बाहिर राखेर आफ्नो छोरालाई जबरजस्ती टोलीमा घुसाएको आरोप उनीमाथि लागेको थियो। छनोट खेल्न जोर्डन गएको नेपाली यु–१६ टोलीको पहिलो रोजाइका गोलकिपर रोशन नेपाललाई टोली बाहिर राख्दै नेम्वाङका छोरा पथ्युहाङलाई जोर्डन पठाइएको थियो ।

नेम्वाङका छोरा सम्मिलित नेपाली टोलीले एएफसी छनोटमा खराब नतिजा निकालेको थियो। ताजकिस्तानसँग ७–०, कुवेतसँग १–१ को बराबरी र श्रीलंकासँग ३–० को जित निकालेको थियो। जोर्डनमा निराशाजनक नतिजा निकालेपछि एन्फाले प्रशिक्षक सुनीलकुमार श्रेष्ठ, राजकुमार केसी र गोलकिपर प्रशिक्षक विनोद महर्जनलाई बर्खास्त गर्ने तयारी गरेको थियो। 

तर, नेम्वाङले विना प्रतिस्पर्धा आफ्नो छोरालाई टिममा समावेश गरेकाले तीनै जना प्रशिक्षकको जागिर उनकै दबाबमा जोगिएको चर्चा एन्फामा चलेको थियो। 

यसअघि पनि प्रशिक्षक राजीनामा विवादमा जोडिएका थिए नेम्वाङ। २०७६ असोजमा भएको साफ यु–१८ को च्याम्पियनसिपमा नेपालले खराब प्रदर्शन गरेको भन्दै उनले प्रशिक्षकहरुलाई राजीनामा दिन दबाब दिएका थिए।

एन्फाभित्रको राजनीतिमा यसरी च्यापिए प्रशिक्षक अल्मुताइरी

उपाध्यक्ष नेम्वाङसहित एन्फाका केही पदाधिकारीले साफ यू–१८ च्याम्पियनसिपमा नेपालको खराब नजिताको कारण देखाउँदै चेतनारायण श्रेष्ठलाई पद छाड्न दबाब दिएका थिए । नेपाल समूह चरणबाटै बाहिरिएपछि उपाध्यक्ष नेम्वाङको निर्देशनमा चेतनारायणलाई राजीनामा बुझाउन दबाब दिइएको थियो।

श्रेष्ठले साफमा खराब नतिजा निस्किए पनि एएफसी च्याम्पियनसिप छनोटसम्म टिममा रहने इच्छा व्यक्त गरेका थिए। तर, भुटानसँग समेत हारेको कारण देखाउँदै नेम्वाङले बर्खास्त गर्ने अडान लिए। अन्ततः राजीनामा बुझाएका श्रेष्ठले उपाध्यक्ष नेम्वाङकै कारण नैतिकताको आधारमा पद छाडेको बताएका थिए। तर, यु–१६ एएफसी च्याम्पियनसिप छनोटमा खराब नतिजा निकाले पनि टोलीमा छोरा सम्मिलित भएका कारण प्रशिक्षक बर्खास्त गर्नबाट उनै नेम्वाङले रोकेका थिए।

एन्फामा कांग्रेसका दुई गुटको चरम किचलो

एन्फा अहिले कांग्रेसको कब्जामा छ। पदाधिकारीदेखि सदस्यसम्ममा अधिकांश कांग्रेस निकट व्यक्तिहरु आसिन छन्। जसका कारण कांग्रेसमा झैं एन्फामा पनि गुटगत राजनीति हाबी छ। त्यसैले एन्फामा सधैं किचलो हुने गरेको छ।  

अध्यक्ष कर्माछिरिङ कांग्रेसको संस्थापन इतर समूह निकट छन्। उनी कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन्। उपाध्यक्ष उपेन्द्रमान सिंह शेर्पासँगै छन्। तर, वरिष्ठ उपाध्यक्ष नेम्वाङ र वीरबहादुर खड्का शेर्पाको विरुद्धमा छन्। अर्का उपाध्यक्ष कृष्णबहादुर थापा पनि शेर्पाको विरुद्धमा देखिएका छन्। उनले हालै एन्फाको टेक्निकल कमिटीको संयोजकबाट राजीनामा दिएका थिए।  

नेम्वाङ र खड्का कांग्रेसको संस्थापन समूहसँग नजिक छन्। नेम्वाङ देउवा निकट नेता मोहनबहादुर बस्नेत नेतृत्वको कांग्रेसको खेलकुद विभागका सदस्य हुन् भने खड्का बस्नेतको गृह जिल्ला सिन्धुपालचोकका हुन्।  

एन्फाको राजनीतिमै सक्रिय रहेका र अहिलेको विवादलाई नियालिरहेका एक सदस्य भन्छन्, ‘एन्फामा कांग्रेस र कांग्रेसभित्रकै गुटको लडाइँ चलिरहेको छ। त्यसको मारमा नेपाली फुटबल परेको छ।’ उनका अनुसार गुटगत हिसाबमा एन्फाका पदाधिकारी आरोप–प्रत्यारोप र एकअर्काविरुद्ध खनिँदा नेपाली फुटबलको विकासमा ठूलो असर पर्ने देखिएको छ। ‘एन्फाका पदाधिकारी फुटबलको विकासमा एकजुट भएर लाग्नुपर्ने हो, तर घिनलाग्दो राजनीतिमा चुर्लुम्म डुब्दा नेपाली फुटबल सधैं अस्थिरता र किचलोको घनचक्करबाट माथि उठ्न नसक्ने भो,’ एन्फाका ती सदस्यले भने।   

प्रकाशित: Jul 25, 2021| 12:30 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।