काठमाडौं– कतार उड्ने प्रतीक्षामा रहेका रोशन खत्री खोप लगाउन दाङबाट सोमबार काठमाडौं आइपुगे। वैदेशिक रोजगारमा जाने कामदारले अनिवार्य रुपमा खोप लगाउनुपर्ने भएकाले उनी बिहीबार बिहान ९ बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेर लाइन बसे। बिहीबार साँझसम्म उनको पालो आएन। उनी शुक्रबार ७ बजे फेरि लाइन बस्न टेकुम पुगे।
ठेलमठेल लाइन थियो। त्यही लाइनबाट घरीघरी हातमा बोकेको पासपोर्ट देखाएर दाइ, मलाई हतार छ भन्दै गेटपालेलाई समस्या बताउँदै थिए खत्री। हवाई टिकट देखाउँदासमेत भित्र छिर्न दिइएन। उनले भने, ‘भिसा र पासपोर्ट देखाएपछि खोप लगाउन पाइन्छ भन्ने सुनेको थिएँ। तर यहाँ त वास्तै गर्दैनन्, अब खोप भएन भने त मेरो यात्रा नै रोकिन्छ, बर्बाद हुन्छ।’
उनी घरबाट काठमाडौं आउँदै अर्कै कुरा सोचेर आएका थिए। यहाँ आउँदा अवस्था बिल्कुल उल्टो थियो। उनले विदेश जानका लागि पहिलो लकडाउनअगाडि नै आवेदन भरेका थिए। बल्लबल्ल भिसा आयो, टिकट आए पनि जान नपाउने हो कि भन्ने चिन्ता थपिएको छ। कतार सरकारले विदेशबाट आउनेहरुलाई कोरोनाविरुद्धको खोप अनिर्वाय गरेको छ। उनले दुःख व्यक्त गरे, ‘आज खोप लगाउन पाइनँ भने त टिकट नै रद्द हुन्छ।’
उदयपुरका देवबहादुर राई कतार जानकै लागि भनेर खोपको लाइनमा बसेका थिए। उनी पनि अघिल्लो दिनभर लाइन बस्दा पनि पालो नआएपछि र घर फर्किएका थिए। उनले भने, ‘सके सबैका लागि होइन भने पनि भिसा देखाउनेहरूका लागि त तत्कालै अंग्रेजीमा प्रमाणपत्र दिने व्यवस्था हुनुपर्ने हो।’
तर, भद्रगोल भएकाले धेरैले दुःख पाइएको सुनाए। ‘जता पनि अस्तव्यस्त मात्रै भयो। यो प्रमाणपत्र त हामीलाई खोप लगाएकै ठाउँमा दिनुपर्ने हो ।’ उनले वैदेशिक रोजगारीमा जानेलाई एकमाथि अर्को सास्ती थपिँदै गएको बताए । ‘श्रम स्वीकृतिका लागि पनि घण्टौं लाइन बस्नुपर्ने, खोप लगाउन पनि लाइनमै बस्नुपर्ने, अब त हुँदाहुँदै खोप लगाएको प्रमाणपत्र बुझ्न पनि लाइनमै बस्नुपर्ने भयो,’ उनले भने, ‘यो त अति भयो ।’
अस्पताल मात्र होइन परदेश जानेहरुको पीडा वैदेशिक रोजगार कार्यालयमा उस्तै कहालीलाग्दो छ। ताहाचलस्थित उक्त कार्यदलको दृश्य पनि खासै फरक छैन।
बागलुङका प्रेमबहादुर भण्डार पुनः श्रम स्वीकृतिको हातमा पासपोर्ट लिएर घण्टौंदेखि आफ्नो पालो कुरेर बसिरहेका थिए। उनलाई पनि २६ जुलाईमा साउदी उड्न पाइन्छ कि पाइँदैन भन्ने चिन्ताले सताएको छ। दिनभर वीर अस्पतालमा लाइन बसे पनि खोप लगाउने पालो नै आएन। उनलाई खोपको मात्र चिन्ता छैन। खोपको नलगाएकाहरुले साउदी १४ दिन क्वारेन्टिन बस्नुपर्छ। उनले खोप लगाउन नपाए १४ दिन क्वारेन्टिनमा बस्ने योजना बनाएका छन्। १४ दिन क्वारेन्टिन बसेको १ लाख ५० हजार रुपैयाँ तिर्नपर्छ। उनलाई १ लाख ५० हजार कमाउन झण्डै ४ महिना लाग्छ।
टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला लाखौंले खोप लगाइसकेका हुँदा एक ठाउँबाट मात्रै आधिकारिक पत्र जारी गर्न कठिन हुने बताउँछन्।
सरकारले खोप लगाएको आधिकारिक प्रमाणपत्र दिने ठाउँ टेकुस्थित शुक्रराज अस्पताललाई मात्र तोकिदिँदा कामदारले हैरानी खेप्नुपरेको छ । टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला लाखौंले खोप लगाइसकेका हुँदा एक ठाउँबाट मात्रै आधिकारिक पत्र जारी गर्न कठिन हुने बताउँछन्।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनुपर्ने र घन्टौं लाइन लाग्नुपर्ने बाध्यताले सरकारको व्यापक आलोचना हुँदै आएपछि कोभिडविरुद्धको खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण काठमाडौं उपत्यकाका ४ वटा अस्पतालमा हुन थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको संख्या विस्तार गरेको हो। मन्त्रालयको बिहीबार सचिवस्तरीय निर्णयअनुसार सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको हो।
दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले कोभिडका कारण नेपाली कामदार लगेका छैनन्। साउदी अरब, कतार, बहराइन र ओमानले सर्तसहित कामदार लगिरहेका छन्।
सबै अस्पतालमा निःशुल्क रुपमा खोप कार्ड प्रमाणीकरण सुरु भइसकेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए। सरकारले १५ लाख नागरिकलाई जोन्सन एन्ड जोन्सन लगाउँदै छ । त्यसमा ठूलो हिस्सा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका छन् ।
दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले कोभिडका कारण नेपाली कामदार लगेका छैनन्। साउदी अरब, कतार, बहराइन र ओमानले सर्तसहित कामदार लगिरहेका छन्। खुला गरिएका देशमा खोपको आधिकारिक पत्र बोकेर आउने कामदारले क्वारेन्टिनमा बस्नु पर्दैन ।
पछिल्लो समय सबैभन्दा धेरै नेपाली कामदार माग भइरहेको साउदी अरबले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर–बायोटेक, मोडर्ना, जोन्सन खोप लगाएका यात्रुलाई मात्रै प्रवेश अनुमति दिएको छ । साउदीको आन्तरिक मन्त्रालयको सूचनाअनुसार साउन १७ देखि खोपको मात्रा पूरा भएका कामदारले मात्रै कार्य क्षेत्रमा जान पाउनेछन्। बिनाखोप काम गरेको भेटिए जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्ने नीति साउदी सरकारको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक रोजगारमा जान २० लाख ६ हजार ३ सय ५२ जनाले श्रम स्वीकृत लिएका थिए। आर्थिक वर्ष २०७६/०७७ मा तीन लाख ४७ हजार ७१३ ले श्रमस्वीकृत लिएका थिए। त्यस्तै २०७७/७८ मा १ लाख ६६ हजार ले श्रमस्वीकृत लिएका छन्।