एजेन्सी- अफगानिस्तानको तालिबान विद्रोही संगठनले राष्ट्रपति असरफ घानीले राजीनामा नदिएसम्म मुलुकमा शान्ति स्थापना नहुने बताएको छ। उसले अफगानिस्तानको सत्तामा एकाधिधार रहेसम्म र काबुलमा नयाँ सरकार गठन नभएसम्म देशमा शान्ति स्थापना नहुने बताएको हो।
समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई दिएको अन्तर्वार्तामा तालिबान प्रवक्ता सुहैल शाहीनले अफगानिस्तानको भविष्यका बारेमा आफ्नो धारणा राखेका हुन्। शाहीन तालिबानका तर्फबाट विभिन्न देशसँग वार्ता गरिरहेको प्रतिनिधिमण्डलका सदस्यसमेत हुन्।
अमेरिका र नेटो सैनिकले अफगानिस्तान छोडेपछि तालिबानले देशका विभिन्न हिस्सामा लगातार आफ्नो नियन्त्रण कायम गर्दै गएको छ। यसै हप्ता अमेरिकी सेनाका एक सिनियर सैन्य जनरल मार्क मिलेले पेन्टागनमा पत्रकारहरुसँग बोल्दै तालिबानले आफ्नो रणनीतिक शक्ति बढाएको बताएका थिए।
सुहैल शाहीनले एपीसँगको कुराकानीमा काबुलमा सर्वपक्षीय र सर्वस्वीकार्य सरकार बन्ने र राष्ट्रपति घानीले राजीनामा दिने परिस्थिति बने तालिबानले हतियार बिसाउने बताएका छन्।
उनले राष्ट्रपति घानीले निशर्त राजीनामा दिनुपर्ने आफ्नो अडान स्पष्ट पारेका छन्। मंगलबार राष्ट्रपति घानीले तालिबानविरुद्ध कडा कारबाही गरिने बताएका थिए। राष्ट्रपतिको यो अभिव्यक्तिपछि तालिबानले सरकारले युद्धको घोषणा गरेको आरोप लगाएको छ।