रंगकर्मीको दुईवटा जीवन हुन्छ– एउटा नाटकको पात्रसँगको जीवन र अर्को वास्तविक जीवन। पात्रको जीवन त अभिनय गर्नेले दुरुस्त बनाइहाल्छ। त्यसबाटै रंगकर्मीको पहिचान पनि बन्छ। अभिनयकर्ताको वास्तविक जीवनचाहिँ सधैं पर्दापछाडि हुन्छ। उनीहरुको जीवनबारे दर्शकले पनि कमै चासाे लिन्छन्। विपत्का बेला भने रंगकर्मीको वास्तविक जीवन पनि समाजले थाहा पाउने गरी बाहिर आउँदो रहेछ। कारण रंगमञ्च बन्द भएपछि उनीहरु अभिनय कर्मबाट पलायन भएका छन्।
याेग प्रशिक्षक बने हेमन
यिनैमध्येका एक हुन्, हेमन तन्डुकार। बिहानै ६ बजेबाट योग अभ्यास सुरु गर्छन् उनी अचेल। हरेक साँझबिहान भर्चुअल माध्यमबाट योग कक्षा सञ्चालन गर्दै आएका उनी कुनै बेला नाटक अभिनयमा व्यस्त हुन्थे। उनले आधा दर्जन नाटकमा अभिनय गरिसकेका छन्। सिनेमामा काम गर्ने सपना उनको थियो। तर कोरोना महामारीले उनको सपना अवरुद्ध भएको छ।
'रंगमञ्चबाट कला प्रस्तुत गर्दै थिएँ, कन्फिडेन्स बटुल्दै थिएँ। महामारीले चकनाचुर पार्यो,’ तन्डुकार भन्छन्। सुगठित शरीर र लामो कपालमा देखिने तन्डुकारले आफ्नो करियर रंगमञ्चमै देखेका थिए। महामारी सुरु भएपछि तन्डुकारको झैँ धेरै कलाकारको योजना भताभुंग भएको छ। केही न केही गरेर अघि बढ्नुपर्छ भन्ने बुझेका उनी योग सिकाउन थालेकाे बताउँछन्।
तन्डुकार रंगमञ्चमा आउनुअगाडि कलंकीस्थित ‘फिटनेस फर्स्ट’मा जिम सिकाउँथे। दुई वर्षसम्म त्यहाँ बिताएका उनले रंगमञ्चमा भविष्य देखे। शिल्पी रंगमञ्चको रंगमञ्च कार्यशालामा अनिवार्य योगासानमा बस्नुपर्दथ्यो। ‘त्यतिखेर मलाई योगले तान्यो,’ उनी भन्छन्।
उनलाई योग सिक्न केही समय लागेको थियो। योग सिक्नका लागि उनले युट्युबको सहारा पनि लिए। अनि उनले ‘नेपाल सम्बोधी योग स्टुडियो’मा गएर योगगुरु विजय सापकोटासँग योग अभ्यास सिके। उनको अनुभव छ, ‘योगले मनलाई पनि बलियो बनाउने रहेछ।’
'अब फेरि नाटकघर पहिलेजस्तै होला जस्तो लाग्दैन। रंगकर्ममा फर्कन गाह्रो छ। फर्किइहाले पनि त्यसबाट गुजारा चलाउन पहिले पनि गाह्रै थियो। अब झन् चुनौती हुनेछ।'
योगासनका भिडियो र फोटो लकडाउनअघिसम्म सामाजिक सञ्जालमा खासै राख्दैनथे उनी। अघिल्लो लकडाउनका बेला मानिसले घरमा गरिने कामको फोटो/भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने 'ट्रेन्ड' सुरु भयो। उनले पनि ०७७ वैशाखमा योगासनका भिडियो फेसबुक र ट्विटरमा राख्न थाले। त्यहाँबाट प्राप्त प्रतिक्रियाले उनको हौसला बढ्यो।
साथीहरूले उनीसित योग सिकाउन अनुरोध गरे। जिम सिकाएको अनुभव छँदै थियो। नाइँ भन्न सकेनन्। त्यसपछि लकडाउनकै बेला योगको भर्चुअल कक्षा सुरु गरेको उनी बताउँछन्। उनी भन्छन्, 'अब फेरि नाटकघर पहिलेजस्तै होला जस्तो लाग्दैन। रंगकर्ममा फर्कन गाह्रो छ। फर्किइहाले पनि त्यसबाट गुजारा चलाउन पहिले पनि ग्राह्रै थियो। अब झन् चुनौती हुनेछ।' उसो त योग प्रशिक्षण पनि उनको जीविकोपार्जनको माध्यम बनिसकेको छैन। त्यसैले उनी अन्योलमा छन् यतिबेला।
भकुन्डेबेसी फर्किएर होटल व्यवसायमा सक्रिय सुरज
काभ्रे स्थायी घर भएका सुरज अधिकारीले रंगमञ्चमा १२ वर्ष बिताए। ‘कुमारी’, ‘बहुलाकाजीको सपना’, ‘मुक्तिको खोजी’, उनी मरिसकेका छैनन्’, ‘लोकतन्त्र’जस्ता नाटकमा अभिनय गरिसकेका सुरज महामारीपछि गाउँ पर्कन विवश भए। गाउँ पुगेर उनले फरक पेसामा हात हालेका छन्। भन्छन्, ‘महामारीसँग रंगमञ्च बन्द भएपछि विकल्प त खोज्नैपर्यो।’
‘ध्यान त रंगमञ्चतिर छ। जीवन जसरी पनि चल्थ्यो तर घरपरिवारको खुसीका लागि होटल चलाउन विवश छु।’
लकडाउन सुरु भएपछि उनी भकुन्डेबेसी फर्किए। ५ देखि ८ हजारका दरका ८ वटा खसी किने।ती खसी दस महिना पालेर २५ देखि ३० हजारको दरले बेचे। नाफा आएको पैसाले भकुन्डेबेसीस्थित घरमा चियाखाजा पसल खोले। त्यसलाई ‘पीपलचौतरा होटल’ नाम राखेर उनले व्यवसाय विस्तार गरे। उनी अब व्यवसायी बनेका छन्। यसले परिवार चलेको छ।
‘ध्यान त रंगमञ्चतिर छ। जीवन जसरी पनि चल्थ्यो तर घरपरिवारको खुसीका लागि होटल चलाउन विवश छु,’ उनी भन्छन्। महामारीले थला परेको रंगमञ्चले तत्काल काम दिन नसक्ने भएपछि विकल्प खाजेको उनी बताउँछन्।
बिमा कम्पनीमा जागिरे सुरेश
पर्वत सेतीवेणी स्थायी घर भएका रंगकर्मी सुरेश जीसी काँधमा एउटा झोला छुटाउँदैनन्। गुराँस लाइफ इन्सोरेन्सको लोगो भएको त्यो झोला बोकेर साँझबिहान गाउँमा चिनेका आफन्तलाई भेटिरहन्छन्। र कहिले बुटवल कहिले पर्वत बाइकमै आउने जाने गर्छन्।
महामारीले रंगमञ्च थलिएपछि उनले आफू बस्दै आएको डेरा छोडेर गाउँ फर्किएका हुन्। गाउँ पुगेर गुराँस लाइफ इन्सोरेन्स बुटवल शाखाको एजेन्सी म्यानेजर भएर काम गर्न थाले। यो कामसँगै पर्वतको पैयुँ गाउँपालिकाको कार्यालय जानेआउने पनि गर्छन् उनी। ‘नवज्योति सिंगा कोर्स क्लब' का अध्यक्ष भएका नाताले सामाजिक काममा पनि सक्रियता देखाइरहेका छन् उनी।
रंगमञ्चमै लागेर जीवन गुजार्ने उनको सोख थियो। घरपरिवारको दबाबमा परेर वैदेशिक रोजगारीका लागि युरोप जान प्रयास नगरेका पनि होइनन्। तर रंगमञ्चको नसा लागिसकेका उनले परिवारको दबाब पचाएर नेपाल नै बसे। ‘बुवाआमाको खुसीका लागि कि विदेश जानुपर्ने थियो। नत्र कुनै काम गर्नुपर्ने थियो। रंगमञ्चको दुनियाँमा हराएर सबै कुरा भुलियो,' उनी भन्छन्, 'पहिले रंगमञ्चमा आफ्नो जीवन खोजिन्थ्यो। अहिले आफैं रंगमञ्चको पुनर्जीवन खोज्नुपर्ने बेला आएको छ।'
६ वर्षअगाडि रंगमञ्चमा भविष्य बनाउन पर्वतबाट काठमाडौं आएका थिए उनी। उनी पनि शिल्पी रंगमञ्चको तीनमहिने कार्यशालामा सहभागी भए। यसपछि रंगमञ्चमै करियर खोज्न थालेका थिए। रामलाल जोशीको कथामा आधारित नाटक ‘श्रीमान बीरबहादुर’, नयनराज पाण्डेको उपन्यास ‘लू’ मा आधारित ‘लू’ अभी सुवेदीद्वारा लिखित नाटक ‘चिरिएका साँझहरू’ जस्ता नाटकमा उनले अभिनय गरेका थिए।
‘निरन्तर नाटक चल्दा त 'सर्भाइभ' हुन गाह्रो थियो। अब बन्द रंगमञ्च घर खुल्लान् र फर्किउँला भनेर कतिन्जेल बस्नु! आफूले प्रतीक्षा गर्न सकिए पनि घरपरिवारको दायित्व हुने रहेछ,’ उनी भन्छन्।
घरेलु उद्योग चलाउने संगीताको सोच
रंगमञ्चमा चार वर्ष बिताएकी संगीता थापा पनि गाउँमै केही गर्ने सोच लिएर लकडाउनपछि गाउँ पुगेकी छन्। ‘लिलामे माइलो,’ ‘गुम्फन’ र ‘जोखना’ नाटकमा अभिनय गरेकी उनले रंगमञ्चमा नै करिअर देखेकी थिइन्। अघिल्लो लकडाउन र पछिल्लो लकडाउनको बीचमा उनले अनलाइन मिडियाको युट्युबमा गजल वाचन कार्यक्रम पनि गरिन्। वैशाख १६ गतेदेखि लागेको निषेध आदेशपछि खाली भइन्। ‘म त डिप्रसेनमा जान थालिसकेँ। त्यसैले गाऊतिरै केही गर्ने सोचले आएकी छु,’ उनी भन्छिन्।
गाउँघरका दिदीबहिनीसँग उनीको धागो र कुरूसबाट कपडा बुन्ने योजना बनाएको उनी बताउँछिन्। घरेलु उद्योगमा कम्पनी दर्ता गर्न लागेकी थापा महामारीले रंगकारिताको करिअर डामडोल पारेको बताउँछिन्। भन्छिन्, ‘थियटर तंग्रिएला भन्ने आसै हराइसक्यो। त्यसैले केही न केही त गर्नै पर्यो।’
अन्याेलमा छन् भीष्म
‘रंगमञ्च तत्काल खुल्दैन नयाँ केही गर’ भन्ने सुझाव पाएको बताउने रंगकर्मी भीष्म जोशी भन्छन्, ‘नयाँ केही गर्न जिरोबाट सुरु गर्नपर्छ।’ उनी अहिले कैलालीमा छन्। गाउँमा के गर्ने भन्ने अन्योलमा परेको बताउने जोशी भन्छन्, ‘पैसा नकमाए पनि रंगमञ्चमा सक्रियता थियो। अब त के कुरा गर्नु!’
‘पहिला बाँच्नु ठूलो कुरा हो। बाँच्नका लागि अन्य पेसा गर्न अनिवार्य छ।’ महामारीले धेरै रंगकर्मी विस्थापित हुन सक्ने जोखिम छ। तर रंगमञ्चलाई समय नदेलान् भन्न पनि सकिन्न,'
डेढ वर्षसम्म महामारीले थलिएका नाटकघर तत्कालै पुरानै लयमा फर्कन सक्ने अवस्था छैन। ‘फुलटाइमर’ सक्रिय भएका रंगकर्मी जसले कोभिड संकटकै बेला आर्थिक जुटाएर नयाँ काम गरिहाल्न पनि चुनौती छ। स्थापित रंगकर्मीलाई तत्काल रंगमञ्च छोड्न सकस छ। सायद महामारीले छोडेपछि उनीहरू फेरि रंगमञ्चमा सक्रिय होलान्। रंगकर्मी पुरू लम्साल भन्छन्, ‘वैकल्पिक पेसा रोज्ने रंगकर्मी साथीहरू पहिला पनि थिए। महामारीपछि स्थापित रंगकर्मीलाई झनै गाह्रो छ।’
अहिले जीवन धान्नु प्राथमिक कुरो हो। रंगकर्मी राज शाह भन्छन्, ‘पहिला बाँच्नु ठूलो कुरा हो। बाँच्नका लागि अन्य पेसा गर्न अनिवार्य छ।’ महामारीले धेरै रंगकर्मी विस्थापित हुन सक्ने जोखिम छ। तर रंगमञ्चलाई समय नदेलान् भन्न पनि सकिन्न,' साह आशावादी देखिन्छन्।
नाटक घर चलाउन दर्शक र आर्थिक स्रोत दुवै चाहिन्छ। महामारीका कारण दुवैको अभाव रंगमञ्चले झेलेको छ। त्यसैले नाटक घर नै रहँदैन कि भन्ने चिन्तामा कलाकार छन्।