काठमाडौं– भारतमा निकै क्षति पुर्याएको म्युकर माइकोसिस (कालो ढुसी) का बिरामी नेपालमा पनि देखिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न अस्पतालमा म्युकर माइकोसिसका बिरामी छन्। यद्यपि, नेपालमा यो रोगबाट संक्रमितको संख्या कति छ भन्ने यकिन तथ्यांक भने कुनै निकायसँग छैन।
म्युकर माइकोसिसका कारण भारतमा ४ हजार ३०० भन्दा बढीको मृत्यु भइसकेको छ। नेपालमा भने २ जनाको मृत्यु भएको तथ्यांक छ। अहिले केही बिरामी अस्पतालमा उपचाररत छन् भने औषधिको अभावमा केही बिरामीको उपचार हुन सकेको छैन। उपचार सम्भव नभएपछि केही बिरामीलाई घर फिर्ता पठाउनुपर्ने अवस्था छ।
म्युकर माइकोसिसका बिरामीका लागि लाइपोजोमल एम्पोटेरिसिन–बी’ नाम औषधि प्रयोग गरिन्छ। तर, यो औषधि नेपालमा छैन। विगतका वर्षहरुमा अन्य देशबाट औषधि आयात गरी उपचार गरिँदै आएको थियो। अघिल्ला वर्षहरुमा निकै कम देखिने यो रोग कोरोना महामारीसँगै तीन महिनाको अवधिमा नै २२ जना भन्दा धेरैमा देखिएको छ।
यो रोगको उपचारका लागि छुट्टै औषधि छैन। चिकित्सकहरुले कालाजार रोगमा प्रयोग हुने ‘इन्जेक्टेवल’ औषधि ‘लाइपोजोमल एम्पोटेरिसिन–बी’ प्रयोग गर्दै आएका छन्। तर अहिले यो औषधिको चरम अभाव देखिएपछि बिरामीको ज्यान जोखिममा परेको छ।
नेपालमा उत्पादन नहुने औषधि बंगलादेश, भारतलगायत देशबाट ल्याइने गरिएको थियो। तर भारतमा पनि म्युकर माइकोसिसका बिरामीको संख्या धेरै भएपछि भारतले उक्त औषधि निर्यात नगर्ने सूचना नै जारी गरेको छ।
त्यसपछि सरकारले गत जेठ २३ गते १० लाख भाइल खरिदको लागि २४ करोड बराबरको टेण्डर आह्वान गर्यो। टेण्डरपछि भारतबाट आयात गर्नको लागि प्राइमलाइफ इन्टरनेशनल र बंगलादेशबाट आयात गर्ने भनेको आयान हेल्थ केयर प्रालिबीच प्रतिस्पर्धा भयो। प्राइम लाइफले भारतबाट औषधि ल्याउनको लागि प्रतिभाइल १० हजार ६९४ रुपैयाँमा टेण्डर हाल्यो भने बंगलादेशबाट आयात गर्ने भनेको आयान हेल्थ केयर प्रालिले २२ हजार २२२ रुपैयाँ प्रतिभाइलमा ल्याउने भन्दै टेण्डर हालेको थियो।
सार्वजनिक खरिद ऐन अनुसार जसले कम मूल्यमा टेण्डर हाल्छ, उसैलाई खरिदको जिम्मा दिनुपर्छ। स्वाभाविक रुपमा त्यो टेण्डर कम मूल्यमा भएको कम्पनीले पायो। अर्थात् प्राइमलाइफ इन्टरनेशनल कम्पनीले।
त्यसो त स्वास्थ्य सेवा विभागले एम्पोटेरिसिन–बी खरिद गरी ल्याउनका लागि टेण्डर आह्वान गरेको ५ साता नाघिसकेको छ। टेण्डर हालेको एक महिना हुँदासमेत प्राइमलाइफले औषधि आयात गर्न सकेको छैन।
कारण– भारतमा निर्यातको लागि बन्देज गरेको औषधिलाई प्राइम लाइफले ल्याउने भन्दै टेण्डर हालेको थियो। टेण्डर हाल्दाको समय भन्दा अगाडि नै भारतले उक्त औषधि निर्यातको लागि बन्द गरेको थियो। भारतमा पनि म्युकर माइकोसिसका बिरामी बढ्न थालेपछि भारतले उक्त औषधि निर्यात बन्द गरेको थियो। भारतले जेठ १८ गते नै सूचना जारी गरी उक्त औषधि निर्यातको लागि बन्देज लगाएको थियो।
यसबारेमा प्राइमलाइफका निर्देशक मधु चित्रकार भन्छन्, ‘हामीले पहिलादेखि नै उक्त कम्पनीबाट औषधि ल्याउने गरेका थियौं। सरकारले टेण्डर आह्वान गरेको समयमा भारत सरकारले उक्त औषधि निर्यातको लागि ब्यान गरेको सत्य हो। भारतले ब्यान गर्दाकै बखत हामीले टेण्डर हालेका हौं। हामीले टेण्डर हाल्दा नै इन्डियाले औषधि रिलिज गरेपछि हामीले ल्याउन सक्छौं भनेर हालेका हौं। इन्डियाले अगस्टमा रिलिज गर्छ भन्ने सुनिएको छ, त्यसपछि हामीले ल्याउने हो।’
भारतले बन्देज गर्दागर्दै स्वास्थ्य सेवा विभागले भारतबाट नै ल्याउने अनुमति दिनु गैरजिम्मेवारीपन भएको विज्ञहरु बताउँछन्। जनताको जीवनभन्दा पैसालाई मात्रै हेर्न नमिल्ने उनीहरुको तर्क छ।
उता प्रतिभाइल २२ हजारका दरले बंगलादेशबाट ल्याउने भनेको आयान हेल्थ केयरका टेण्डर हाल्दाको समयमा भारतबाट ल्याउने भनिएको औषधि भारत सरकारले नै निर्यात नगर्ने भन्ने जान्दाजान्दै सरकारले उसैलाई खरिदको अनुमति दिनु गलत हो भन्छन् आयान हेल्थ केयरका निर्देशक डा. अबुल अन्सारी। ‘भारतले निर्यात रोक्दारोक्दै किन सरकाले त्यसैलाई टेण्डर दियो?’ अन्सारी प्रश्न गर्छन्, ‘सरकारले भनेको मिति सकिएको छ, तर पनि अन्य कम्पनीलाई टेण्डर दिएको छैन। सरकार फेरि टेण्डर गर्ने प्रक्रियामा छ।’
सरकारले २४ करोडबराबरको टेण्डर खोलेकोमा आफूहरुले २२ करोडमै ल्याउन टेण्डर हालेको उनले बताए। ‘सरकारले पैसामात्रै हे¥यो, आवश्यकता हेरेन। औषधिको अभावमा बिरामीको ज्यान जोखिममा परेको छ तर सरकारले बेवास्ता गरेको छ,’ अन्सारीको तर्क छ।
यसबारेमा स्वास्थ्य सेवा विभागका निर्देशक दिपेन्द्ररमण सिंहलाई प्रश्न गर्दा उनले खरिद इकाइलाई सोध्न भने। खरिद इकाइका प्रमुख उपेन्द्र ढुंगानालाई पटक पटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। फोन नउठेपछि उनले म्यासेज लेख्न भने तर म्यासेज गर्दा पनि उनले न म्यासेजको प्रतिक्रिया दिए न त फोनको नै।
यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले केही बिरामीको लागि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)बाट औषधि लगेको बताए। उनले विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) र युनिसेफ लगायतका संस्थासँग थप औषधिका लागि समन्वय गरिएको समेत जानकारी दिए।
चिकित्सकका अनुसार कालाजारका बिरामीलाई १० देखि १५ डोज प्रयोग हुने गरेको थियो तर म्युकोर माइकोसिसका एउटै बिरामीलाई ८० डोज भन्दा माथि औषधि दिनुपर्ने डा. रविन्द्र भक्त प्रधानांग बताउँछन्।
औषधिका लागि टेण्डर हालेको एक महिनाभन्दा बढी हुँदा पनि औषधि आउने सुरसार नदेखिएकोमा उनको चिन्ता छ। ‘औषधि नआउँदा बिरामीको ज्यान जोखिममा छ,’ प्रधानांग भन्छन्, ‘सक्नेहरुले भारतबाट खरिद गरेर ल्याएर उपचार गरेका छन्, तर एउटै बिरामीका लागि धेरै औषधि लाग्ने र महँगो हुँदा आम मानिसले खरिद गर्नसक्ने अवस्था छैन।’