काठमाडौं- केही दिनअघि ललितपुरका चार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र बुझाउँदै सहिद स्मारक 'ए' डिभिजन लिग समयमै नगराउन माग गरेका थिए।
एन्फाले असोज ३ गतेबाट शीर्ष डिभिजनको लिग गराउने जानकारी दिएपछि क्लबहरूमा धमाधम खेलाडी अनुबन्ध भइरहेको समयमा ती चार क्लबले लिग नै रोक्न आग्रह गरेका थिए।
लिग रोक्न आग्रह गर्नेमा ललितपुरका 'ए' डिभिजन क्लब थ्री स्टार, जावलाखेल युथ क्लब, ब्रिगेड बोइज क्लब र फ्रेन्ड्स क्लब थिए।
‘अहिले घोषणा गएिको मितिबाट सुरु गर्ने भनिएको लिग कोभिडको भयावह स्थितिका कारण आयोजना गर्न कुनै पनि हालतमा उपयुक्त देखिँदैन,’ चार क्लबहरूले एन्फालाई संयुक्त रूपमा लेखेको पत्रमा छ, ‘कम्तिमा पनि संक्रमण दरमा अत्याधिक कमी भइसकेपछि मात्र लिगलगायत अन्य फुटबल सञ्चालन गर्न उपयुक्त देखिन्छ।’
चार क्लबले यो कुरालाई गम्भीरतापूर्वक लिनका लागि पनि एन्फालाई अनुरोध गरेका छन्। यता खेलाडीहरूले भने त्यो मागको विरोधमा बोल्न सुरु गरिसकेका छन्। महामारीकै कारण गएको वर्ष पनि 'ए' डिभिजन लिग हुन सकेन्। र, यो वर्ष लिग नरोक्न खेलाडीको माग छ।
आर्मीका कप्तान भरत खवास के भन्छन्?
'हामी लिग खेल्न धेरै उत्साहित र आतुर छौं। 'ए' डिभिजन लिग नेपाली फुटबलको मेरुदण्ड हो। खेलकुद र खेलाडीको विकासका साथै प्रत्यक्ष, अप्रत्यक्ष रूपमा खेलकुदसँग जोडिनु हुने अनि राष्ट्रिय टोलिका खेलाडी उत्पादन लागि भए पनि लिग समयमै हुन जरुरी छ। यसको लागि सबै जनाले आआफ्नो आफ्नो ठाउँबाट गर्न सक्ने साथ सहयोग समर्पण गर्न जरुरी छ', उनी भन्छन्।

लिगले व्यावसायीक खेलाडी जन्माउने हुनाले पनि स्वयम् खेलाडी र क्लबहरूलाई लिग आफैमा महत्त्वपूर्ण तत्व भएको उनले बताए।
राष्ट्रिय टिमका कप्तान, किरण कुमार लिम्बू के भन्छन्?
'लिग सबैका लागि महत्वपूर्ण छ। लिगविना खेलाडीले के गर्न सक्छन र? त्यसैले लिग तोकिएकै मितिमा सुरु हुनुपर्छ। रोकिन हुँदैन्। वान टिम जय नेपाल', उनले भनेका छन्।
यता क्लबहरूले लिग रोक्न अनुरोध गरे पनि उनीहरू आफैले भने धमाधम खेलाडी अनुबन्ध गरिरहेका छन्। थ्रिस्टार क्लबले पनि राष्ट्रिय फुटबल टिमका तीन खेलाडीलाई अनुबन्ध गरिसकेको छ।
उसले अनन्त तामाङ, संजोक राई, निशान खड्का र आयुष घलानलाई अनुबन्ध गरिसकेको छ। त्यस्तै, मिक्छेन तामाङ, जिवन गुरुङ र अशोक खवासलाई पनि अनुबन्ध गरेको छ। केही समय अघि युवा फरवार्ड मनिष डाँगीलाई अनुबन्ध गरे पनि उसले टिममा राखिरहन सकेन।
यता बिहीबार मात्र ब्रिगेड बोइज क्लब(बीबीसी)ले तीन क्यामरुनी खेलाडी अनुबन्ध गरेको छ। उसले रुडी एमबाकोप, बाट्रान्ड इडोबी र फ्राब्रिस मेरिलिनलाई अनुबन्ध गरेको हो।
बीबीसीले यसअघि नै डिफेन्डर शिशिर लेखी, राशन रानामगरलगायतका खेलाडी अनुबन्ध गरिसकेको छ। त्यस्तै, उसले गोलरक्षक पूर्ण चेम्जोङसहित, मनाङ मस्र्याङ्दीका विशाल बस्नेत र सातदोबाटो युवा क्ल्बका दिनेश चौधरीलाई अनुबन्ध गरिसकेको छ।