काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् सांसद भीम रावल प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिन राजी भएका छन्। रावल निकट स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि रावल राजीनामा फिर्ता लिन राजी भएका हुन्।
एमाले विवाद समाधान कार्यदलमा नेपाल पक्षबाट संयोजकसमेत रहेका रावलसहितको कार्यदलले एकताका लागि १० बुँदे सहमति गरेको प्रति नेता नेपालले असन्तुष्टि व्यक्त गरेसँगै सांसद पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि साउन ३ गते प्रतिनिधि सभा बैठक बस्नुअघि उनले राजीनामा दिएका थिए।
बुधबार नेपालसहित सुदूरपश्चिमका नेता तथा सांसदहरूले रावलको निवासमा नै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। 'राजीनामा फिर्ता लिए बाँकी कुरा पछि गर्ने नेता नेपालको भनाइ थियो। भेटमा सहभागी एमाले अछामका अध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरका अनुसार रावलले सोचेर निर्णय गर्ने नेता नेपाललाई बताएका थिए। उनीहरूबीच करिब दुई घण्टा छलफल भएको थियो।
अनैतिक राजनीति तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्न प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको उनको भनाइ थियो।
रावल अछामबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
यो पनि पढ्नुहोस्:
माधव नेपालसँग भीम रावल किन बिच्किए? अर्कै छ समूहभित्रको 'गसिप'