बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकामा बिरामीको मूत्रथैलीबाट ३.१ किलोको पथरी निकालियो

श्रीलंकामा बिरामीको मूत्रथैलीबाट ३.१ किलोको पथरी निकालियो

 |  बुधबार, भदौ ३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०८३

काठमाडौं। श्रीलंकाका चिकित्सकहरूले एक बिरामीको मूत्रथैलीबाट ३.१ किलोग्राम तौलको पथरी (ढुंगा) शल्यक्रियामार्फत निकालेका छन्। चिकित्सकका अनुसार यो अहिलेसम्मको सबैभन्दा ठूलो मूत्रथैलीको पथरी हुन सक्नेछ।

श्रीलंकाको पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित अस्पतालमा गत साता ५५ वर्षीय पुरुषको शल्यक्रिया गरिएको हो। उनलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनलाई पिसाब गर्न कठिनाइ भइरहेको चिकित्सकहरूले पत्ता लगाएका थिए।

जाँच गर्दा उनको मूत्रथैलीमा ठूलो पथरी रहेको भेटिएको थियो। शल्यक्रियामार्फत निकालिएको पथरी नवजात शिशुको तौलजति थियो भने यसको आकार अस्ट्रिचको अण्डाजस्तै रहेको चिकित्सकहरूले बताएका छन्। पथरी करिब १७ सेन्टिमिटर लामो थियो। शल्यक्रियाको नेतृत्व गरेका चिकित्सक बालाकृष्णनले उपलब्ध अभिलेखअनुसार यो अहिलेसम्म भेटिएको र शल्यक्रियामार्फत निकालिएको सबैभन्दा ठूलो मूत्रथैलीको पथरी भएको बताएका छन्। बिरामीको स्वास्थ्य अवस्था निकै राम्रो रहेको पनि उनले जानकारी दिएका छन्।

बिरामी अझै अस्पतालमै उपचाररत छन्। चिकित्सक बालाकृष्णनका अनुसार उक्त पथरी बिरामीको मूत्रथैलीमा करिब पाँचदेखि १० वर्षसम्म रहेको हुन सक्ने अनुमान गरिएको छ। मूत्रमा रहेका खनिज पदार्थ जमेर ठोस ढुंगाजस्तो बनेपछि मूत्रथैलीमा पथरी बन्ने गर्छ। मूत्रथैली पूर्ण रूपमा खाली नहुँदा बाक्लो पिसाब बाँकी रहँदा यस्तो समस्या हुने गर्छ।

सानो पथरी आफैँ बाहिर निस्कन सक्छ। तर एक सेन्टिमिटरभन्दा ठूलो पथरीले पिसाबको प्रवाहमा अवरोध पुर्‍याउन सक्ने भएकाले उपचार आवश्यक पर्न सक्छ। चार सेन्टिमिटरभन्दा ठूलो पथरीलाई ठूलो पथरी मानिन्छ। गिनिज विश्व कीर्तिमानका अनुसार सन् २००३ मा ब्राजिलका एक बिरामीको मूत्रथैलीबाट १.९ किलोग्राम तौल र १७.९ सेन्टिमिटर लामो पथरी निकालिएको थियो। श्रीलंकामा निकालिएको नयाँ पथरी त्यसको तुलनामा करिब १.२ किलोग्राम बढी तौलको रहेको छ।

प्रकाशित: Aug 19, 2026| 18:53 बुधबार, भदौ ३, २०८३
प्रतिक्रिया दिनुहोस्