काठमाडौं- फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मालिक नासर अल खिलाफीमाथी साइबर आक्रमण भएको छ।
उनले आफू साइबर आक्रमणको सिकार भएको बताउँदै साइबर आक्रमणबाट आफ्ना दुई मोबाइल नम्बर लिक भएको जानकारी दिएका छन्।
आक्रमणकारीले पेगासस नामक ‘स्पाइवेयर’बाट लगातार जासुसी कादम अघि बढाउँदै उनको व्यक्तिगत सूचनाहरु चोरी गरेको थियो। साथै लिग वानको क्लब निर्देशक जिन मार्सल रिब्सले प्रयोग गर्ने ल्याण्डलाइन नम्बरमा पनि आक्रमणकारीले जासुसी गरेका थिए।
फ्रेन्च पत्रिका लि मन्डेले खिलाफीको यस प्रसंगको खुलासा गरेको हो। सो पत्रिकाले खिलाफीविरुद्ध २०१८ को अन्तिममा सो आक्रमण भएको जनाएको छ। त्यतिबेला कतार र साउदीअरेबियाबीच कुटनीतिक द्वन्द्व चलिरहेको थियो।
अल खिलाफीले चलाइरहेको बिन मिडिया ग्रुपका प्रवक्ताले यस्तो प्रकारको आक्रमण भइरहने गरेको बताएका छन्।
‘हाम्रो व्यवसाय र हाम्रा कर्मचारीमाथि खराब ह्याकर्स र असुरक्षा लगातारको चुनौती हो,’ प्रवक्ताले भनेका छन्, ‘यो राजनीतिक नभएर व्यवसायिक आक्रमण थियो।’