म नेपालबाट आएर अस्ट्रेलियामा संघर्ष गरिरहेको एउटा नेपालीको प्रतिनिधि पात्र हुँ। मजस्तै तपाईंहरु हजारौं उज्वल भविष्यको खोजीमा आफ्नो थातथलो, मातृभूमि छोडेर यहाँ आउनु भएको छ। नेपाल हाम्रो लागि राष्ट्रका रुपमा होस् या भाषिक, सांस्कृतिक, सामाजिक रुपमा 'कम्फर्ट जोन' हो। हामी त्यो 'कम्फर्ट जोन' छोडेर आफ्नो र हाम्रा सन्ततिका खातिर सुविधासम्पन्न र सहज जीवनको खोजी गर्दै हिँडेका फिरन्ते हौं। हामी देशको माया र विदेशको सुविधा र सहज जीवनको तीर्खाबीच भीरको चिन्डो जसरी अड्किरहेका पात्र हौं भन्दा फरक पर्दैन। न देशको मायाले फुत्तै देश फर्किन सक्छौं, न विदेशमा एकै झड्कामा सफल हुन सक्छौं।
साँच्चै भन्नुपर्दा विभिन्न सपना बोकेर अस्ट्रेलिया आइपुग्ने तपाईं-हामीजस्तो पहिलो पुस्ता संघर्षको पर्याय नै हो। यो संघर्षका दौरान हामी कति रोयौं, हामी कति रमायौं त्यो तपाईं-हामीलाई थाहा छ। हामी घरि-घरि टुटिरहेका हुन्छौं, फुटिरहेका हुन्छौं तर पनि हिम्मत नहारी जुटिरहेका हुन्छौं।
हामी पढ्ने बहानामा, काम गर्ने बहानामा जुनै उद्देश्य बोकेर आएको भए पनि हाम्रो मूल ध्येय समृद्धि र सहज जीवनको खोजी नै हो। यहाँ आएर कोही विद्यार्थी छौं, कोही कामदार छौं, कोही जागिरे छौं होला र कोही व्यापारी-व्यवसायी भयौं होला। जुन अवस्थामा रहे पनि त्यो सानो संघर्ष र मिहिनेतले पाएका छैनौं।
हाम्रो जरोकिलो नेपालमै गाडिएको छ। नेपालमा कुनै विपत्ति आइपर्दा हाम्रो मन रुन्छ। त्यति मात्र होइन, नेपालमा राजनीतिक रुपमा चलिरहेको खिचातानीले हामीलाई छोइहाल्छ।
हामी सबैका आ-आफ्नै कथा व्यथा छन्, दु:ख सुख छन्। हामीले रोजेको यात्रा हामीले तय गर्नु त छँदैछ। व्यक्तिगत तवरमा त्यो यात्रामा हामी हिँडिरहेकै पनि छौं। तर, परदेशमा आएर नेपाली हुनुको नाताले हाम्रो दायित्व हाम्रो व्यक्तिगत सफलता मात्र हो त? पक्कै पनि होइन। नेपाली समुदाय, भाषा, संस्कृति, परम्परा, नेपाली मूल्य-मान्यताप्रति हाम्रा दायित्वहरु छन्। हाम्रो जरोकिलो नेपालमै गाडिएको छ। नेपालमा कुनै विपत्ति आइपर्दा हाम्रो मन रुन्छ। त्यति मात्र होइन, नेपालमा राजनीतिक रुपमा चलिरहेको खिचातानीले हामीलाई छोइहाल्छ। हामी नेपालका पार्टीहरुको पक्ष र विपक्षमा भिड्न शुरु गरिहाल्छौं। यो सबै हामी नेपालबाट विदेश आइपुगेका पहिलो पुस्ताको समान विशेषता हो भन्दा अतियुक्ति नहोला।
अधिकांश देशमा नेपाली समुदायका लागि काम गर्न, संमन्वय गर्न 'गैरआवासीय नेपाली संघ' (एनआरएनए)का शाखा स्थापना भएका छन्। तर, ती संस्थाले हामीले चाहेजस्तो काम गर्न सकिरहेका छन् त? यो प्रश्नमा घोत्लिनुपर्ने भएको छ। आफ्नो मान्छे कहिले काम आउँछ या याद आउँछ? जब, साह्रो-गाह्रो पर्छ, जब दु:ख बाड्नुपर्ने हुन्छ या खुसी साट्नुपर्ने हुन्छ।
म 'गैरआवासीय नेपाली संघ' त्यस्तै आफ्ना मान्छेहरुको साझा चौतारी बनोस् भन्ने चाहन्छु। जहाँ आफ्ना दु:ख बिसाउन पाइयोस्, सुख साट्न पाइयोस्, साह्रो-गाह्रो परेका बेला साथ-सहयोग मिलोस्, हामी र हाम्रा सन्ततिले गौरव गर्न लायक एउटा साझा घर बनोस्। पहिलो चरणमा 'एनआरएनए'लाई 'हाम्रो एनआरएनए राम्रो एनआरएनए' बनाउन सकियोस् भन्ने मेरो चाहना हो। मजस्तै तपाईंहरु लाखौं गैरआवासीय नेपालीको ढुकढुकीले पनि यही सोच्दो हो।
न देशको मायाले फुत्तै देश फर्किन सक्छौं, न विदेशमा एकै झड्कामा सफल हुन सक्छौं। साँच्चै भन्नुपर्दा विभिन्न सपना बोकेर अस्ट्रेलिया आइपुग्ने तपाईं-हामीजस्तो पहिलो पुस्ता संघर्षको पर्याय नै हो।
दोस्रो चरणमा हामी नेपालीले आफ्नो देश, मातृभूमि, जन्मभूमि, पूर्खाको भूमि भनेर नेपाल र नेपाली भनी गर्नसक्ने तमाम काम संगठित रुपमा गर्न सकौं। 'नेपालीका लागि नेपालीले' गर्नसक्ने सबै योगदानका लागि हामी एकजुट हुनु नै हामी गैरआवासीय नेपाली संघको सदस्य हुनुको प्रमाण हो।
हामी नेपाल छोडेर अस्ट्रेलिया आइपुगेका नेपाली कोही सफल भइसक्यौं होला, कोही सफल उन्मुख छौं होला, कोही अझै कष्टकर अवस्थामै छौं होला। यस्तो परिस्थितिमा एकले अर्काको साथ-सहयोग गर्ने हो भने हामीलाई पक्कै पनि आत्मबल आउँछ। त्यसैले एनआरएनएलाई त्यो प्लेटफर्म बनाऔँ, जसले सबै प्रकारका समस्याको हल खोज्न मद्दत गरोस्, सबैका लागि अभिभावकत्व निर्वाह गरोस्।
एनआरएनए गैर आवासीय नेपालीहरूको हितको संरक्षण गर्ने र नेपालमा सक्दो सहयोग गर्ने अनि नेपालमै धेरैभन्दा धेरै लगानी भित्र्याउने पवित्र उद्देश्यले खुलेको संस्था हो। यो संस्थाको आत्मालाई जोगाइराख्न तपाईं-हामी जागरुक हुनै पर्छ। यो संस्थाले विगतमा गरेका राम्रा कामलाई शिरोपर गर्दै आगामी दिनमा अझै उचाइमा पुर्याउने दायित्व तपाईं-हाम्रै काँधमा त छ। त्यसैले पनि, यो संस्था कसैको तुष्टि पूरा गर्ने माध्यम नबनोस्, सबैलाई सन्तुष्टि दिने माध्यम बनोस्।
(पौड्याल अस्ट्रेलियाको डार्बिनमा बसोबास गर्दै आएका छन्।)