काठमाडौं– गाउँका युवाको ऊर्जा गाउँमै खर्च गर्न चाहन्थे मेलम्चीका नेत्रप्रसाद खतिवडा। खाडीको तातो हावा खान जानुपर्ने बाध्यताबाट केही युवालाई भए पनि पार लगाउन लागिपरेका थिए। गाउँका युवाको पसिना मेलम्चीकै माटोमा सिञ्चत होस् भन्ने चाहेका थिए। गाउँमै केही गर्ने सपना थियो उनको।
६ जना साथीलाई लिएर त्यही सपनाको पछि लागेका थिए खतिवडा। सामूहिक कृषि फार्म खोल्ने तयारी सुरु भइसकेको थियो। माछा पाल्ने निर्णय गरेर उनले आफूसँग काम गर्न इच्छुक साथीको समूह बनाए। उनीहरुलाई पनि काम सिक्न भने। सबैको एउटै उद्देश्य थियो– गाउँमै केही उद्यम गरौं, रोजगारी सिर्जना गरौं।
खतिवडाको समूहको योजना सुनेर प्रदेश सरकारले २५ लाख रुपैयाँ अनुदान उपलब्ध गरायो। उनीहरुले ‘बृहत् मेलम्ची कृषि फार्म’ नाम जुराए। कृषिका थुप्रै क्षेत्रमा लगानी र उत्पादन गर्ने योजनासहित उनीहरुले सुरुमा माछा पाल्न थाले। प्रदेश सरकारबाट पाएको २५ लाख र आफूहरुले जुटाएको गरी तीन करोड जम्मा भयो। माछा पोखरी निर्माणमा मात्रै एक करोडभन्दा बढी लगानी गरेका थिए उनीहरुले।
व्यवसाय राम्रै चल्दै थियो। फार्म आफ्नै भएकाले माछा व्यवस्थापनका लागि रेस्टुरेन्ट पनि खोले– मेलम्ची रेन्बो ट्राउट।
२० महिना जति भएको थियो व्यवसाय सुरु गरेको। असार १ गते मेलम्ची खोलामा उर्लेको बाढीले माछापोखरी बगर बनाइदिएपछि उनीहरुको योजनामा 'ब्रेक' लागेको छ। फार्मसँगै सात जना व्यवसायीको सपना पनि बगेको छ। ‘किसानका छोरा हौं, शून्यबाट सुरु गरेका थियौं, माइनसमा पुग्यौं,’ खतिवडा भन्छन्, ‘देशमै केही गरौं भन्ने थियो, सब बर्बाद भइगयो।’
हातमा पैसा भएर कृषि फार्म सुरु गरेका होइनन् उनीहरुले। यताउतिबाट ऋणधन गरेर काम गर्न खोजेका थिए। उनीहरुको करिब चार करोडको लगानी एकैरातमा मेलम्चीमा चुर्लुम्म डुब्यो।
मेलम्चीमा बाढी आएको एक महिना बितिसकेको छ। कतैबाट केही क्षतिपूर्ति, राहत पाइन्छ कि भनेर दौडिरहेको छ खतिवडाको समूह। तर नगरपालिका, प्रदेश र संघीय सरकारबाट कुनै राहत–सहयोग पाएका छैनन्। ‘राज्य कहाँ छ? सरकार कहाँ छ? अत्तोपत्तो छैन, भएकोे भए केही त सहयोग गर्नुपर्ने,’ खतिवडा गुनासो पोख्छन्।
फार्मको बिमा गरेको भए पनि थोरै पैसा आउँथ्यो। तर, त्यो पनि गरेका थिएनन्। फार्म भएको स्थान बगर बनेको छ। त्यही हेरेर बैरागिनु बाहेक केही विकल्प छैन उनीहरुको। ‘फार्म त तातो बगर बन्यो, बगर हेर्दा तनाव हुन्छ,’ खतिवडा भन्छन्। आनाको ३० लाख पर्ने जग्गा अहिले बगर बनेको छ।
बगरबाट पनि उठ्ने प्रयासमा छ नेत्रप्रसादको टिम। हरेश खाएका छैनन् उनीहरुले। यसका लागि दौडधूपमै छन्। उनीहरुजस्ता थुप्रैको उठिबास लागेको छ मेलम्चीमा। सरकारले अनुदान दिए फेरि व्यवसाय सुरु गर्ने उनीहरुको सोच छ। मेलम्ची नगरपालिकाले ‘फाइदाका लागि लगानी गरेको’ भन्दै पन्छाउन खोजिरहेको छ। प्रदेश र संघीय सरकार मौन छन्। उनको समूह कागजात लिएर नगरपालिका कार्यालय जाँदा नगरपालिकाले ‘अहिले केही छैन, कतैबाट आएपछि हेरौंला’ फर्काइदियो। ‘देशमा सरकार नै छैन कि जस्तो लाग्छ। भए त हाम्रा पीडा सुन्नुपर्ने हो। किसानका छोराको रगत–पसिना एक गरेर लगानी गरेका हौं,’ खतिवडा भन्छन्।
नगरपालिकापछि उनीहरु स्थानीय प्रशासनकहाँ पुगे। फार्मको कागजात र क्षतिको पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाउने तयारी गरिरहेका छन्। सरकारले क्षतिबराबरको कृषि ऋण दिए पनि केही गर्न सहज हुन्थ्यो जस्तो लागेको छ। तर हात केही लागेको छैन। ‘हाम्रो जति क्षति भएको छ, त्यति नै बराबर ऋण दुई प्रतिशत ब्याजदरमा पाइयो भने पनि काम गर्न सक्छौं,’ खतिवडाको अठोट छ।
माछा पालनपछि गाईभैंसी र बाख्रा पनि पाल्ने योजना थियो उनीहरुको। मेलम्चीले घरजग्गा बगाएपछि कतिपयले ‘खोलामा घर बनाएको, व्यवसाय गरेको’ भनेर कटु टिप्पणी पनि गर्छन्। ‘बाउ–बाजेदेखि मेलम्चीमै बसेका हौं, अन्त कहाँ जानु त? धनसम्पत्ति, जग्गाजमिन नै यति हो, रहरले खोलाको बीचमा बनाएको होइन नि,’ उनी भन्छन्।
सात जनाको लगानीमा सुरु गरेको व्यवसाय फेरि सुरु गर्न उनीहरुसँग पैसा छैन। दुई जना निजी संस्थामा काम गर्छन् भने पाँच जना खेतीपातीका साथै सानोतिनो व्यवसाय चलाउँछन्। खतिवडाका अनुसार पाँच जनामध्ये कसैको कपडा पसल, कसैको खुद्रा पसल त कसैकोे खेलौना पसल छ।
‘हामीतिर पनि एक नजर लगा सरकार! बर्बाद भइससक्यौं,’ खतिवडा भन्छन्, ‘सरकार छ भन्ने आभास गरिखानेले कहिले पाउने? गरिबले कहिले मेरो सरकार छ भन्न पाउने?’