शनिबार, असोज १७, २०८३

आन्दोलनमा शब्दहरू [कविता]

‘हस्पिटल’, ‘कलेज’ आजकल यी शब्द सुन्दै तर्सिन्छन् मान्छेहरु बरु ‘घाट’, ‘आत्महत्या’ ‘हृदयघात’ बडो सहज शब्द भएका छन्।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

‘न्याय’
हजारौं वर्षदेखि अन्यायमा छ यो शब्द
सुन्यो कि उल्टो मात्र अर्थ महसुस हुन्छ।

‘समानता’
यति धेरै असमानता छ
ईश्वरलाई समेत 
कहीँ सुनको मूर्तिमा
कहीँ आँटाको पिठोमा मुछिन्छ।

‘शान्ति’
यो शब्द के कारणले प्रिय छ भने
हरेक अशान्तिको स्रोत राज्य हो 
हरेक हिंसा, द्वन्द्व, युद्धको सूत्राधार सत्ता हो।

‘प्रेम’
‘प्रेम आफैँ हुन्छ’
सुन्नमा अति मीठो हुन्छ
तर कहिल्यै पनि प्रेम आफैँ हुँदैन
फगत् गुरुत्वाकर्षण हुन्छ

‘घृणा’ 
जहाँ विभेद हुन्छ
आउनुहोस्, घृणालाई विभेद गरौं।
तब हामीबीच प्रेम हुन्छ।
 

‘सुशासन’
शासकहरुको दुर्लभ गुण हो यो
जहाँ शासितहरुले अक्सिजन लिनलाई पनि
अड्डाअदालत धाउनुपर्छ
त्यहाँ ‘सुशासन’ बडो अशोभनीय हुन्छ।

‘लोकतन्त्र’
कतै ज्यानमारा शब्द त होइन यो?
यसका लागि लाखौं मानिसको हत्या भइसकेको छ
के यसको वास्तविक अनुभूति
मृत्यु या हत्यापछि मात्र हुन्छ?

अब केही समसामयिक शब्दहरु
जो मेरो देशमा बढी सान्दर्भिक हुन्छः

जस्तै ‘संविधान’
सामा पनि धान जस्तै देखिन्छ
किसानले राम्ररी चिनेझैं सामा र धान
नागरिक हुन पनि चिन्नैपर्छ– संविधान। 

‘विकास’, ‘समृद्धि’
यी शब्द ‘विनास’ र ‘विपत्ति’का पर्यायवाची हुँदैछन्
‘टावर’ ‘सडक’, ‘डोजर’
सबैभन्दा धेरै अनुत्पादक शब्द हुन्।
   
‘हस्पिटल’, ‘कलेज’
आजकल यी शब्द सुन्दै तर्सिन्छन् मान्छेहरु
बरु ‘घाट’, ‘आत्महत्या’ ‘हृदयघात’
बडो सहज शब्द भएका छन्।

‘भ्रष्टाचार’, ‘बलात्कार’
पीडित जत्तिकै पीडित र पीडकजत्तिकै घीनलाग्दा छन् 
यी शब्दहरु।

‘नैतिकता’, ‘आदर्श’, ‘इमान’...
साँच्चीकै यी महान् शब्दहरु हुन्
विडम्बना, यी शब्द सुन्दा आजकल मानिसहरु हाँस्छन्
‘दलाली’, ‘ठेक्केदार’, ‘कमिशन’...
यी शब्द त यति प्रिय भए कि
कविहरु समेत कान ठाडो पार्छन्।

अन्तमा ‘सरकार’
सरकार नै बेठिक भएपछि अरु कसरी ठीक हुन्छ?
त्यसैले निर्विकल्प शब्द हो ‘आन्दोलन’
अहिले शब्दहरु आन्दोलनमा छन्
सही अर्थका लागि।    

प्रकाशित: Jul 17, 2021| 04:05 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।