काठमाडौं- इटलीयन सिरी एक क्लब युभेन्टसका उपाध्यक्ष पविल नेड्वेदले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अभ्यासका लागि पर्खिरहेको बताएका छन्।
युरोकपपछि बिदा मनाइरहेका रोनाल्डोको बिदा सकिएसँगै उनी क्लबमा फर्किने क्लबका उपाध्यक्ष नेड्वेदले बताएका हुन्।
युरो २०२० को सर्वाधिक गोलकर्ता बनेका रोनाल्डो अब समर सकिएसँगै अभ्यासका लागि क्लब पुग्नेछन्। रोनाल्डो पछिल्लो सिजनमा सिरी एको सर्वाधिक गोलकर्ता भए पनि सिरी एको उपाधि युभेन्टसले जित्न सकेको थिएन्।
उनले गएको वर्ष युभेन्टसका ४४ खेलमा ३६ गोल गरेका थिए। यद्यपी च्याम्पियन्स लिगमा युभेन्टसले खास केही गर्न सकेको थिएन। त्यसपछि क्लबले प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरिएको थियो। १० वर्षपछि घरेलु लिगमा उपाधि जित्न र च्याम्पियन्स लिगमा सफलता हात पार्न नसकेपछि उनको सम्झौता २०२२ सम्म रहे पनि बीचमै क्लब छोड्नसक्ने अनुमान गरिँदै आएको थियो।
अब उनी जुलाई २५ मा टुरिन फर्किने क्लबले विश्वास गरेको छ। त्यसको एक महिनापछि सिरी ए सुरु हुनेछ। ‘अहिले रोनाल्डोले क्लब छोड्ने कुनै संकेत देखिएको छैन,’ स्पोर्टिङ डाइरेक्टर फेडेरिको चेब्रुइनीले भनेका छन्।