काठमाडौं- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार राति पदभार ग्रहण गर्दै देउवाले कोभिडविरुद्धको खोप आफ्नो सरकारको प्राथमिकता भएको बताए। ‘सबै नागरिकलाई खोप उपलब्ध गराउने मेरो सरकारको पहिलो प्राथमिकता हो,’ पदभार ग्रहणपछि उनले भने।
लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण र उपचारलाई विशेष प्रथामिकतामा राख्ने निर्णय गर्यो। सरकारले आगामी चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाउने निर्णय गरेको छ।
उता, नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्दै कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने निर्णय गरे। अर्थमन्त्रीका रुपमा यो नै उनको पहिलो निर्णय थियो।
कोभिडविरुद्धको खोप देउवा सरकारको पहिलो प्राथमिकतामा छ। त्यसो त निवर्तमान ओली सरकारले पनि खोपमा जोड दिँदै आएको थियो। अहिले पनि खोप अभियान चलिरहेको छ। आगामी कात्तिकसम्ममा एक तिहाइ जनसंख्यालाई कोभिड खोप लगाइसक्ने दाबी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।
कस्तो छ त खोप उपलब्धताको अवस्था?
नेपालमा गत माघ १४ गतेदेखि कोभिडको खोप लगाउन थालिएको हो। बीचमा केही समय अवरुद्ध भएको खोप अहियान अहिले फेरि सुरु भएको छ। अभियान सुरु भएको साढे ५ महिना पुग्दा ११ लाख ३ हजार १३० जनाले मात्रै दुवै डोज खोप लगाएका छन्। हालसम्म कोभिसिल्ड र भेरोसेलको खोपमात्रै लगाइएको छ भने अमेरिकाले दिएको जोनसन एण्ड जोनसनको खोप लगाउने प्रक्रियामा छ।
नेपालमा अहिलेसम्म जति पनि कोरोना खोप आएको छ, त्योमध्ये सरकारले १८ लाख डोजमात्रै खरिद गरेको हो। अरु सबै सहयोगस्वरुप आएको खोप हो।
गत माघ ८ मा भारतले १० लाख डोज खोप उपहारस्वरुप दिएपछि नेपालमा खोप अभियान सुरु भएको थियो। भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको भ्याक्सिन भारतले सहयोग गरेको थियो।
नेपालमा हालसम्म ६५ लाख ८२ हजार ८५० डोज कोरोनाविरुद्धको खोप भित्रिएको तथ्यांक छ। सरकारले खरिद गरेको १८ लाख डोज र विभिन्न देशले सहयोगस्वरुप दिएको ४७ लाख ८२ हजार ८५० लाख डोज खोपभन्दा बाहेक हरु आउन सकेको छैन।
सबैभन्दा पहिले भारतले नेपाललाई माघ ८ मा १० लाख खोप अनुदानमा दियो। त्यसपछि नेपालले भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग २० लाख खोप खरिदका लागि सम्झौता गर्दै त्यसको अग्रिम भुक्तानी समेत गरेको थियो। २० लाखमध्ये सिरमले १० लाख खोप समयमा नै दियो। तर, भारतमा कोराना प्रकोप बढेपछि बाँकी खोप दिएको छैन।
गत फागुन ५ गते प्रतिडोज खोपको ४ डलरका दरले एक अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेपनि सिरमले गत फागुन ९ गते १० लाख डोज खोपमात्र पठाएको थियो। पहिलो चरणको खोप आएको एक साताभित्रै दोस्रो चरणको खोप पठाउने भने पनि सिरमले आजसम्म खोप पठाएको छैन। अहिले पनि सो खोप खरिदका लागि नेपालले ताकेता गरिरहेको छ।
भारतले १ लाख खोप नेपाली सेनाका लागि छुट्टै अनुदान दिएको थियो। यसबीचमा चीनले नेपाललाई १८ लाख खोप अनुदानमा दियो। सुरुमा तीन लाख घोषणा गरेको चीनले त्यसलाई बढाउँदै पछि १८ लाख खोप दिएको छ।
सोमबार मात्रै अमेरीकी सरकारले एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसको १५ लाख ३४ हजार ८५० डोज खोप सहयोग गरेको छ।
त्यसैगरी गत फागुन २३ मा विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई ३ लाख ४८ हजार कोभिसिल्ड खोप नै सहयोग प्राप्त भयो। कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्या मध्ये २० प्रतिशतलाई पुग्ने गरी ६० लाख डोज खोप उपलब्ध गराउने घोषणा भएको थियो। तर कोभ्याक्सले पनि थप खोप उपलब्ध गराएको छैन।
अब कुन खोप आउँदैछ?
मंगलबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै नेपालमा अब खोपको कुनै समस्या नभएको बताए। ओलीले झण्डै साढे दुई करोड डोज खोप आउने उल्लेख गरेका थिए। त्यसमध्ये १ करोड ५० लाख डोज खोप सहुलितय मूल्यमा खरिद गर्ने तयारी भएको उनले जानकारी दिएका छन्। हालैमात्र सरकारले ननडिस्क्लोजर एग्रिमेन्ट अनुसार चीनसँग खोप खरिद गरेको छ। जसमध्ये ८ लाख डोज नेपाल आइसकेको छ भने ३२ लाख डोज भेरोसेल आउने क्रममा रहेको छ।
सन् २०२१ भित्र मोटामोटी रुपमा कोरोनाविरुद्धको खोप लगाइसक्ने ओलीको दाबी थियो। उनका अनुसार ५० लाख जोनसन एण्ड जोनसन, ४० लाख डोज मोडर्ना, ४० लाख डोज फाइजर र २० लाख कोभिसिल्ड खोप सहुलियत मूल्यमा ल्याउने तयारी भएको जानकारी दिएका थिए। त्यस्तै मंगलबार मात्रै १६ लाख अष्ट्राजेनेकाको खोप जापानले नेपाललाई सहयोग गर्ने जनाएको छ।
जापानबाट एस्ट्राजेनेका खोप उपलब्ध भएमा नेपालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएर बसेका करिब १४ लाख नागरिकमध्ये अधिकांशले दोस्रो डोज पनि पाउनेछन्। प्रक्रियामा रहेको यो खोप कहिले आउँछ भन्ने निश्चित छैन, तर खोप अभियान अवरुद्ध नहुने ओलीले बताएका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कात्तिकसम्ममा कम्तिमा ३३ प्रतिशत जनतालाई खोप लगाउने सुनिश्चित भइसकेको छ।
कतिले लगाए? कति बाँकी ?
नेपालमा २ करोड १७ लाख मानिसलाई खोप लगाउने तयारी छ। नेपालमा कोरोना भाइरसविरुद्धको खोप पहिलो डोज लगाए पनि दोस्रो डोज लगाउन नपाएका मानिसको संख्या करिब १४ लाख छ। हालसम्म १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका छन् भने उनीहरुमध्ये जम्मा ४ लाख ६० हजार ७३४ ले मात्रै दोस्रो डोज लगाउन पाएका छन्।
१३ लाख ६७ हजार भन्दा धेरै मानिसहरु कोभिसिल्डको पर्खाइमा छन् तर उनीहरुले कहिले खोप पाउँछन् अझै यकिन भएको छैन। जापानले उपलब्ध गराउने भनेको १६ लाख अष्ट्राजेनेकाको खोप पहिलो डोज लगाएर बसेकालाई दिने सरकारको तयारी छ।
त्यस्तै ७ लाख ८३ हजार ३२३ ले भेरोसेलको पहिलो डोज लगाएका छन् भने ६ लाख ४२ हजार ३९६ ले भेरोसेलको दुवैमात्रा पाइसकेका छन्।
किनबेच नगर्न चेतावनी
यसैबीच, कोरोना भाइरसविरुद्धको खोप बिक्री गरेको पाइए कारवाही गर्ने चेतावनी सरकारले दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप किनबेच गरेको पाइएमा कारबाही हुने जनाएको हो।
सरकारले नै खोपको व्यवस्था निःशुल्क गरिरहेको भन्दै मन्त्रालयले अवैध रूपमा बेच्ने र किनेर लगाउने गरेको पाइए कारवाही गरिने जनाएको छ।
मन्त्रालयले कोरोनाविरुद्धको खोप कहीँ कतै बेचबिखन भइरहेको थाहा पाएको खण्डमा स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा खबर गर्न पनि आग्रह गरेको छ।