काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले नेपालले चीनसंग गरेको रेलमार्गसम्बन्धी सम्झौतालाई मुख्य समाचार बनाएका छन् ।
रेलवे कनेक्टिभिटी समझदारीअनुसार चीनले नेपाललाई केरुङबाट काठमाडौंसम्म विद्युतिय कार्गो रेल जोड्न मद्दत गर्नेछ ।
यसै विषयलाई आजको नागरिक दैनिकले चीनसंग १४ वटा सम्झौता–समझदारीः काठमाडौंमा रेल ल्याउन बाटो खुल्यो शीर्षकमा मुख्य समाचार छापेको छ भने कान्तिपुर दैनिकले रेलमार्ग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर शीर्षकमा खबर लेखेको छ ।
आजको अन्नपूर्ण पोस्ट्ले पनि यसै विषयलाई मुख्य समाचार बनाउँदै सम्झौताले प्रम ओली रोमाञ्चित शीर्षक दिएर छापेको छ भने नयाँ पत्रिका दैनिकले रेलमा स्पष्ट : लगानीमा अस्पष्ट शीर्षकमा समाचार लेखेको छ ।
यसैगरि आजका पत्रपत्रिकाले संसदीय समिति गठनमा दलहरुकै अलमल भएको विषय, कांग्रेस जिल्ला सभापतिको भेलाका उठेका माग र मुद्दालाई महत्वका साथ छापेका छन् ।
आजको कारोबार दैनिकले ठूला यातायात समिति कम्पनीमा नगएको विषयलाई प्रमुखताका साथ छापेको छ ।
काठमाडौं रेल ल्याउन बाटो खुल्यो
नेपाल र चीनबीच विद्युतीय कार्गो रेललाई केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौता, समझदारीपत्र (एमओयु) र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेइजिङमा बिहीबार नेपाल–चीन द्विपक्षीय बैठकपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा ती सम्झौता, समझदारीपत्र तथा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो। यो सम्झौतासँगै चिनियाँ रेललाई काठमाडौंसम्म ल्याउने बाटो खुला भएको छ।
‘द्विपक्षीय बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली खसाङको उपस्थितिमा दुई देशबीच १४ वटा सम्झौता, समझदारीपत्र र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ,’ बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। दुई देशबीच ३ वटा सम्झौतापत्र, ७ वटा समझदारीपत्र र ४ वटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो।
यसअघि बुधबार नेपालको सरकारी निकाय तथा निजी क्षेत्र र चिनियाँ सरकारी निकाय तथा निजी क्षेत्रबीच बेइजिङमा ८ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। बिहीबार थप १४ वटा सम्झौता, समझदारीपत्र र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो।
नागिरक दैनिकमा प्रकाशित खबरअनुसार प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच कुल २२ वटा सम्झौता, समझदारीपत्र र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४