हेटौंडा- कांग्रेसका पाँच जना जिल्ला सभापतिहरू हिन्दु राष्ट्रका पक्षमा उभिएका छन् ।
अछामका भरत स्वाँर, दाङका कीर्तिबहादुर खड्का, पर्वतका खिमप्रसाद धिताल, पर्साका अजय द्विवेदी र डडेलधुराका कर्ण मल्लले हिन्दु राष्ट्रको एजेन्डा उठाएका हुन् । उनीहरूले पार्टीले धर्मनिरपेक्षताको एजेन्डा परिवर्तन गरेर हिन्दु राष्ट्रका पक्षमा लाग्नुपर्ने बताए ।
हेटौंडामा जारी जिल्ला सभापतिहरूको भेलामा आफ्नो बोल्ने पालोमा उनीहरूले त्यस मुद्दामा ‘लबिङ’ गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी एकताबद्ध हुनुपर्छ भन्ने कुरामा सबै जिल्ला सभापतिले जोड दिएको बताए । भेलामा कांग्रेसलाई रूपान्तरण गरेर अगाडि बढ्नुपर्ने सुझाव आएको शर्माले जानकारी दिए । ‘कार्यशैलीमा रूपान्तरण गर्नुपर्छ र पार्टी नेतृत्व एकताबद्ध हुनुपर्छ भन्ने जिल्ला सभापतिहरूको सुझाव आएको छ,’ शर्माले भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली नेता किम जोङ–उन तथा एमाले र माओवादी मिल्न सक्ने तर कांग्रेसमा एकता किन नहुने भन्ने सुझाव आएको प्रवक्ता शर्माले बताए । ‘भेलामा आत्मसमीक्षा, आत्मालोचना र धारणा सेयरिङ भयो,’ शर्माले भने ।
नेताहरूले जिल्ला सभापतिहरूको भेला बहिष्कार नगरेको उनले दाबी गरे । ‘को फ्लोर र को मञ्चमा बस्यो भन्ने कुराले महत्व राख्दैन । हलमा प्रवेश गरिसकेपछि उहाँहरू सहभागी हुनुभयो,’ शर्माले भने, ‘फरक मत आयो भन्दैमा विवाद भन्न मिल्दैन । उद्घाटन कार्यक्रम लामो नबनाउँदा केही पूर्वपदाधिकारीहरू छुट्नुभयो होला ।’
जिल्ला सभापतिहरूको भेलाको निष्कर्ष बिहीबार नआउने भएको छ । हेटौंडा घोषणापत्रका रूपमा सभापतिहरूको भेलामा आएका सुझावलाई लिपीबद्ध गरिने भएको छ ।
काभ्रे सभापति मधु आचार्य, नुवाकोट सभापति जगदीश्वरनरसिंह केसी, स्याङ्जा सभापति कमल पंगेनी, मोरङ सभापति टेकबहादुर लिम्बुलगायतले सुझावहरूलाई लिपीबद्ध गरिरहेका छन् । पार्टी प्रवक्ता शर्मा र केन्द्रीय सचिवालयका सदस्यहरूले त्यसमा सहजीकरण गरिरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४