इटहरीः र्याफ्टिङ भन्नासाथ ह्वाइट वाटर (सेतो जलमा) गरिने जलविहार तथा बर्षामा बन्द हुने साहसिक पर्यटकीय खेल भन्ने बुझिन्छ । त्योभन्दा भिन्न बुधवार प्रदेश १ का सांसद तथा मन्त्रीहरूले सप्तकोशीको धमिलो भेलमा र्याफ्टिङ गरे । त्यो पनि साँझ पर्नै लाग्दा ।
४ बजेर ४५ मिनेटपछि सप्तकोशीको भेलमा सहभागी थिए प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे । घिमिरेसँगै सहभागी थिए प्रदेश १ का तीस सांसद । सुनसरी र उदयपुर जोड्ने चतराको सप्तकोशी पुलको थोरै उत्तरबाट गरिएको सन्ध्याकालीन र्याफ्टिङ ५ किलोमिटर गरिएको थियो । सप्तकोशी पुल मुनिबाट बराहक्षेत्रको चक्रघट्टि क्षेत्रमा पुगेर र्याफ्टिङले विश्राम लिएको केही समयमै अँध्यारो छाइसकेको थियो । तर, प्रदेशका मन्त्री र सांसदहरूको अनुहारमा भने र्याफ्टिङ अनुभवले उज्यालो छाएको थियो ।
जीवनमा पहिलोपटक सप्तकोशीको भेलमा र्याफ्टिङ गरेका सामाजिक विकास मन्त्री घिमिरे दंग देखिए । आफ्नो पहिलो र्याफ्टिङ अनुभव सुनाउँदै घिमिरेले भने, ‘सप्तकोशीको भेलसँगै र्याफ्टिङ गर्दा निकै आनन्द लाग्यो । बाढीमा पनि यस्तो सहज र्याफ्टिङ सम्भव रैछ सप्तकोशीमा ।’
प्रदेश १ का सोलुसुम्बुका सांसद उत्तम बस्नेत देखी इलामका सांसद धिरज शर्मा अनि सुनसरिकी सांसद सावित्रा श्रेष्ठ, सबैले र्याफ्टिङ अनुभव रमाइलो र सुरक्षित भएको बताए । ‘मेरो त सपना नै साकार भएको छ’, सांसद सर्वध्वज साँवाले भने, ‘सप्तकोसीमा र्याफ्टिङ गर्ने धेरै पुरानो सपना थियो ।’ सांसद सावित्री श्रेष्ठले आफ्नो र्याफ्टिङ अनुभव पहिलो भए पनि धेरै रमाइलो भएको बताइन । उनले भनिन, ‘यस अगाडि यसरी सप्तकोशीमा मात्रै हैन कतैपनि यस्तो र्याफ्टिङ अनुभव थिएन । पहिलो पटक गरेर धेरै सिक्ने र बुझ्ने अवसर पाए ।’
प्रदेश मन्त्री जीवन घिमिरेले सप्तकोशीको र्याफ्टिङ बर्खामा पनि चलेर प्रदेश १ मा बाह्रै महिना र्याफ्टिङको अवसर हुनु राम्रो भएको बताए । पूर्वको पर्यटकीय चहलपहलमा यस्तो प्याकेजले फाइदा पुग्ने घिमिरेले बताए । भने, ‘साहसिक पर्यटन क्षेत्रमा यस्तो नयाँ र सुरक्षित कुराहरूमा प्रदेश सरकार गम्भीर छ ।’
सप्तकोशी बाह्रै महिना र्याफ्टिङ
इटहरीको रिभर डिप र्याफ्टिङले यो वर्षबाट नेपालको सबैभन्दा ठुलो सप्तकोशी नदीमा बाह्रै महिना र्याफ्टिङ सुरु गरेको छ । बर्षात सिजनमा नेपालका अन्य नदीमा र्याफ्टिङ नुहने प्रचलन विपरीत सप्तकोशीमा भने बाह्रै महिना र्याफ्टिङ सम्भव हुने अनुभवले देखाएको बताउँछन् रिभर डिपका सञ्चालक सुरेश बस्नेत ।
‘सप्तकोशी मात्रै एकमात्रै नदी हो जो नेपाली सीमा कटेर भारत प्रवेश गर्नु अगाडि पनि धेरै किलोमिटरको दुरी बनाएर बग्छ ’, बस्नेत भन्छन्, ‘र यो नदीमा बाढी आउँदा र नआउँदा दुवै समयमा पनि सहजै र सुरक्षित जलबिहार गर्न सकिने देखिएको छ ।’ आफूले दर्जन हाराहारी रिभर गाइड र आफ्नै निजी यात्राको अनुभवले यो सम्भव हुने देखेको पनि सञ्चालक बस्नेतले बताए ।
रुटमा विश्वस्तरिय धार्मिक तथा प्राकृतिक सम्पदाहरू रहेको र मनोरम दृश्यहरू पाइने भएकाले धेरैको आकर्षण बढ्ने सञ्चालक बस्नेत बताँउछन । बराह भगवानको अवतार भएको बराहक्षेत्र, प्राचीन हरिद्धार चतरा, दक्षिण एसियाको चरा भन्डार भनिने कोसी टप्पु वन्यजन्तु आरक्ष र विश्वको सबैभन्दा धेरै बालुवा बोक्ने दोस्रो नदी कोसीको एकमुष्ट आनन्द लिन पाइनाले यो रुट धेरै महत्त्वपूर्ण हुने सञ्चालक बस्नेतको भनाइ छ ।
सप्तकोशीले घेरिएको र कमै मात्रै पुग्न सक्ने श्रीलंका टापु बाह्रै महिना पुग्न पनि यो सुरक्षित र सहज यातायात बन्ने बस्नेतले बताए । करिब २३ किलोमिटर लामो यो रुटमा धेरै छालहरूको जोखिम पनि नभएको र गहिरा गल्छीहरू नभएकाले बोट पल्टिने अवस्था पनि नभएकाले जोसुकैले सहज यात्रा गर्न सक्ने बस्नेत बताउछन । भन्छन्, ‘सप्तकोशीको यो रुटमा र्याफ्टिङ गर्दा र्याफ्टिङ खोज्नेले त्यो पनि पाँउछन र सामान्य जोखिम मोलेर मात्रै यात्रा गर्न खोज्नेले त्यो पनि पाँउछन । त्यसैले यो रुट सबै उमेर समूह र पौडी खेल्न नसक्नेलाई पनि सहज छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४