सोमबार, असार २९, २०८३

पहिचान जोगाउन संघर्ष गर्दै जनकपुर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- कुनै समय जनकपुर ५२ कुटी (मठ मन्दिर) र ७२ कुण्डको नामले समेत चिनिन्थ्यो । तर, अहिले अवस्था फरक छ । पोखरी र मठमन्दिरको शहरका रूपमा चिनिने जनकपुर अहिले आफ्नो पुरानो पहिचान स्थापित गर्न संघर्षरत छ । कारण, यहाँका पोखरी र मठमन्दिरका जग्गा निरन्तर अतिक्रमण भइरहेका छन् ।

धार्मिक तथा सांस्कृतिक महत्वको ठाउँ हो, जनकपुर । त्रेतायुगमा भगवान राम र सीताको विवाह जनकपुरमै सम्पन्न भएको पौराणिक मान्यता छ । यहाँको धार्मिक तथा सांस्कृतिक महत्वलाई नेपाल र भारत मात्र नभई विश्वले नै स्वीकारिसकेको छ । 

गुठी संस्थान र विभिन्न मठमन्दिरका जग्गा अतिक्रमण गरी यहाँको सांस्कृतिक र धार्मिक पहिचान समाप्त पार्ने काम भइरहे पनि नियामक निकाय मौन छन् । धार्मिक तथा सांस्कृतिक इतिहास बोकेका जनकपुरका मठमन्दिरको अर्बौं मूल्यका जग्गा अतिक्रमणमा परेका छन् । 

कतिपय पोखरी त इतिहासमा सीमित बनेका छन् । धार्मिक महत्वका ती पोखरी मिचेर भवन ठड्याइएको छ ।
 

 धार्मिक महत्वका जग्गा र पोखरीको अस्तित्व मेट्दै भवन र सडक निर्माण तीव्र गतिमा, सरोकारवाला निकायहरू मौन ।


गुठी संस्थानको कार्यालय अघिल्तिर नै अतिक्रमण जारी रहँदा मुकदर्शक बनेको आरोप स्थानीय बासिन्दाको छ । 

गुठी ऐनअनुसार राज, छुट र अमानत गरी गुठीलाई गरी तीन खण्डमा छुट्याइएको छ । छुटअन्तर्गत् पर्ने जग्गा संरक्षण गर्ने अधिकार मन्दिरका महन्थ तथा अमानत र राजगुठीअन्तर्गत्का जमिनको संरक्षक गुठी संस्थान हो । 

तर, कुनै पनि निकायले धार्मिक महत्वका ती जग्गा संरक्षणमा ध्यान नदिएको जनगुनासो छ । जग्गा संरक्षण गर्नुभन्दा ती निकायकै कर्मचारीको मिलेमतोमा अतिक्रमण र बेचविखन हुँदै आएको छ । 

मठमन्दिरको जग्गा अतिक्रमणमा सर्वसाधारण मात्र होइन, राजनीतिक दलका नेता÷कार्यकर्ता र उच्चपदस्थ अधिकारीहरू समेत सामेल ।


मठमन्दिरको जग्गा अतिक्रमणमा सर्वसाधारण मात्र होइन, राजनीतिक दलका नेता÷कार्यकर्ता र उच्चपदस्थ सरकारी अधिकारीहरू समेत सामेल छन् । केही वर्षअघि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष भोजराज घिमिरेको प्रतिवेदनमा मन्दिरका महन्थको मिलेमतोमा नेता, सरकारी अधिकारी र सर्वसाधारणले मठमन्दिरको जग्गा अतिक्रमण गरेको स्पष्ट उल्लेख छ । प्रतिवेदन सार्वजनिक भएको वर्षौं बितिसक्दा पनि ती जग्गा अतिक्रमणमुक्त बनाउन कुनै प्रयास थालिएको छैन ।

उपमहानगरबाटै अतिक्रमण

पछिल्लो समय जनकपुर उपमहानगरपालिकाबाटै धार्मिक महत्वका जग्गा अतिक्रमण गरिएको खुलासा भएको छ । जनकपुर–११ स्थित लक्ष्मण अखाडाको जग्गा मिचेर वडा कार्यालयको भवन निर्माण गरिँदैछ । 

लक्ष्मण अखाडाको जग्गा रामायण सर्किटअन्तर्गत् समेटिएको छ । लक्ष्मण सागरमा स्नान गरी त्यहाँ रहेको लक्ष्मणको गदामा पानी सेचन गर्दा पाप नष्ट हुने धार्मिक मान्यता छ । 

गुठीको जग्गामा अनधिकृत मन्दिर

जनकपुर–४ स्वर्गद्वारी नजिकको गुठी संस्थानको जग्गा अतिक्रमण गरी अनाधिकृत रूपमा मन्दिर निर्माण थालिएको छ । कार्यालयभन्दा तीन सय मिटरको दूरीमा भइरहेको निर्माण संस्थानले रोक्न सकेको छैन । 

संस्थानका जनकपुर प्रमुख मनोज शर्माले पनि मन्दिर अनधिकृत रूपमा निर्माण भइरहेको स्वीकारे । काम रोक्न आफूले निर्देशन दिएको उनी बताउँछन् । शर्माका अनुसार केही व्यक्तिले मन्दिर निर्माण गर्न गुठी संस्थान केन्द्रीय कार्यालयमा अनुमतिका लागि निवेदन दिए पनि स्वीकृत भएको छैन ।

सडकका लागि निशानामा पोखरी

जनकपुर–१२ मा पर्छ, भुतही पोखरी । यो पनि धार्मिक महत्वकै पोखरी हो । तर, अहिले सडक निर्माणको बहानामा पोखरी पुर्ने काम भइरहेको छ । अतिक्रमण रोक्न आफूले प्रदेश सरकार, उपमहानगर, निर्माण व्यवसायीसमेतलाई पत्राचार गरेको गुठी संस्थान प्रमुख शर्मा दाबी छ । पत्राचारपछि पोखरी पुर्ने काम बन्द भएको उनको भनाइ छ ।

गुठी संस्थानको तथ्यांकअनुसार जनकपुर नगर क्षेत्रसहित धनुषाको ४० विघाभन्दा बढी जग्गा अतिक्रमणमा परेको छ । हरि बखती संयोजक रहेको गुठी जमिन छानविनसम्बन्धी आयोगको पछिल्लो तथ्यांकअनुसार गुठी अधिनस्थ तीन सय ५१ विघा नौ कठ्ठामध्ये सरकारी कार्यालयहरूले एक सय ५१ विघा १८ कठ्ठा जग्गा मिचेका छन् । 

गुठी संस्थान अधिनस्थ जग्गा राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले अतिक्रमण गरेको बखती आयोगको प्रतिवदेनमा उल्लेख छ ।

गुठीको एक्लो प्रयासबाट अतिक्रमण रोक्न नसकिने शर्मा बताउँछन् । भन्छन्, ‘वर्षौंदेखि जग्गा र पोखरी अतिक्रमण हुँदै आएका छन् । यसलाई रोक्न सबै सरोकारवाला निकायको सहयोग चाहिएको छ ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।