नयाँ दिल्ली- सामाजिक अभियन्ता स्टान स्वामीको जेलमा नै मृत्यु भएको छ। इल्गार परिषद्को सम्मेलनमा आतंककारी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका स्वामीको सोमबार जेलमा नै मृत्यु भएको हो।
सन् २०२० को अक्टोबरमा पक्राउ परेका ८४ वर्षीय स्वामीले आदिवासी अधिकारका विषयमा अभियान चलाउँदै आएका थिए। स्वास्थ्य संवेदनशीलताका कारण धरौटीमा रिहा गर्न माग गर्दागर्दै उनको मृत्यु भएको हो। बम्बई उच्च अदालतले सोमबार दिउँसो १ बजेर २४ मिनेटमा स्वामीको मृत्यु भएको जानकारी गराएको छ।
स्वामीको स्वास्थ्य गम्भीर भएपछि उनलाई होली फ्यामिली अस्पतालमा भर्ना गरिएको थियो। उक्त अस्पतालका डा मेडिकल डाइरेक्सट डा इआन डी सुजाले न्यायाधीश एसएस सिन्डे र एनजे जमदारको इजलसामा आदिवासी अधिकारकर्मी स्वामीको पल्मोनरीमा संक्रमण भएको र कोभिडपछि फोक्सोमा समस्या भएको बताएका थिए। यस्तै उनलाई निमोनियासमेत भएको उल्लेख गरेका थिए। स्वामीलाई पार्किन्सनको समस्या पनि थियो। जुलाई ४ मा बिहान साढे ४ बजे उनलाई हृदयाघात भएकाले भेन्टिलेटरमा राखी उपचार गरिएको भएपनि उनी होसमा नआएको डा सुजाको भनाइ थियो।
अदालतको आदेश अनुसार स्वामीलाई मे २९ मा निजी अस्पतालबाट जेलमा सारिएको थियो। तर मे ३० मा उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो। सुरुमा उनलाई ढाड दुख्ने लक्षण देखिएको थियो। यसपछि अदालतले स्वामीको ईच्छाअनुसारको अस्पतालमा भर्ना गरी उपचार गर्न भनेको थियो।
मे २१ अदालतमा भिडियो कन्फ्रेन्समार्फत् सहभागी गराइएका स्वामीले आफूलाई खाना नरुच्ने समस्या भएको बताएका थिए। 'म निकै कम खाना खान थालेको छु। यसले जेलमा मसँगै राखिएका साथीहरूलाई चिन्तित बनाएको छ। मलाई जेलको यातना सहनुमा कुनै दुखमनाउ छैन। तर जेजे अस्पतालमा भर्ना हुनुभन्दा यस्तै अवस्थामा तलोजा जेलमा नै मर्न पनि तयार छु। यसमा सुधार हुनेवाला छैन। मेरो एउटै मात्र आग्रह के छ भने धरौटीमा रिहा गर्नका लागि न्यायमुर्तिसँग माग छ। यति मात्रै हो।'
जेलमा आफूलाई लेखपढ गर्न, हिँडडुल गर्न र खान नदिइएको बताएका थिए। 'मलाई खान पनि समस्या छ। मलाई कसैले चम्चाले खाना खुवाउँछ,' उनले भनेका थिए।
आरोपित व्यक्तिको यसअघिको बयान र उनीपक्षका वकिलको बहस र उनी उपचाररत अस्पतालका डाक्टरको पछिल्लो बयान सुनेपछि अदालतको इजलासले 'सकिङ न्युज' भन्दै आश्चर्य प्रकट गरेको थियो। 'स्वामीले चाहेकै अस्पतालमा भर्ना गर्न हामीले निर्देशन दिएका थियौँ। उनलाई श्रद्धाञ्जली व्यक्त गर्ने कुनै शब्द हामीसँग छैनन्।'
वरिष्ठ अधिवक्ता मिहिर देसाईले स्वामीका पक्षबाट बहस गर्दै अस्पतालका विषयमा आफूहरूलाई खासै ठूलो गुनासो नभएको बताएका थिए। तर राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए)का बारे भने गुनासो गर्नुपर्ने अवस्था भएको उनको भनाइ थियो। देसाईले स्वामीलाई अस्पताल भर्ना गर्न नै १० दिन ढिलो भएको भन्दै अदालतको ध्यानाकर्षण गराएका थिए।
आरोपित व्यक्तिको यसअघिको बयान र उनीपक्षका वकिलको बहस र उनी उपचाररत अस्पतालका डाक्टरको पछिल्लो बयान सुनेपछि अदालतको इजलासले 'सकिङ न्युज' भन्दै आश्चर्य प्रकट गरेको थियो। 'स्वामीले चाहेकै अस्पतालमा भर्ना गर्न हामीले निर्देशन दिएका थियौँ। उनलाई श्रद्धाञ्जली व्यक्त गर्ने कुनै शब्द हामीसँग छैनन्।'
एल्गार परिषद् घटनाका आरोपीहरूका आफन्तले भने आदिवासी अधिकार कार्यकर्ता फादर स्टेन स्वामीको मृत्यु 'संस्थागत हत्या' भएको आरोप लगाएका छन्। 'जेलमा बन्द अन्य मानिसको स्वास्थ्य र उनीहरूको जीवनबारे चिन्ता बढाएको छ,' उनीहरूले भनेका छन्, 'भीमा कोरेगाउँ मुद्दाका आरोपीहरूका साथी र परिवारका सदस्य फादर स्टान स्वामीको निधनबाट हामी गहिरो चिन्ता र दु: ख प्रकट गर्दछौं। यो प्राकृतिक मृत्यु होइन। अमानवीय तवरमा सरकारले संस्थागत हत्या गरेको हो। झारखण्डका आदिवासीहरूको अधिकारको लागि जीवन अर्पण गरी भूमि अधिकारका लागि लड्डदालड्दै फादर स्टान स्वामीको यसरी ज्यान जानु दुखद् हो। झूटा मुद्दामा फसाएर उनलाई झारखण्डबाट टाढा राखियो।' स्वामी उक्त अभियानका १६औँ वरिष्ठ व्यक्ति हुन्।
'कमजोर स्वास्थ्यका बाबजुद पनि उनले आफ्नो नैतिकताको तागत र इमानदारिताबाट सबैलाई प्रेरित गरेका छन्। जेलमा उनको स्वास्थ्य अवस्था खराब भएर पनि आफूसँगै कैद बसेकाहरूका पक्षमा उनले आवाज उठाएका थिए। उनले पठाएका पत्रमा जेलका साथीहरूको बारेमा बताएका छन्। विशेषगरी उनले झुटा आरोपमा फसाएर जेलमा राखिएकाहरूबारे पत्रमा लेखेका छन्। यस्तै समाजमा प्रचलित अन्यायका विरुद्ध आवाज उठाउनेहरूको विषयमा उनले पत्रमा लेखिएको छ,' स्वामीका आफन्तले भनेका छन्।
सन् २०१८ को जनवरी १ मा अल्पसंख्यहरूको अधिकारका लागि सांस्कृतिक प्रदर्शनी, भाषण र नाराबाजीको कार्यक्रम भएको थियो। करिब ३५ हजार मानिस उपस्थित भएको उक्त कार्यक्रममा १ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएको बताइने गरेको छ। कार्यक्रममा भारतीय माओवादीहरूको संलग्नता रहेको आरोपमा स्वामीलाई पक्राउ गरी जेल चलान गरिएको थियो। सन् १८१८ को जनवरी १ मा बेलायती इस्ट इन्डिया कम्पनी र महाराष्ट्रका स्थानीयहरूबीच भएको युद्धको २ सय वर्ष पुगेको सम्झनामा उक्त कार्यक्रम गरिएको थियो।
(विभिन्न समाचारहरूका आधारमा तयार पारिएको)