काठमाडौं– राप्ती–३ स्थित बगरटोलकी सुजिता भण्डारी असार ११ गते बिहानै ६ बजे ‘साथीकहाँ भिण्डी लिन जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। अघिल्लो रात दिदी कवितासँग पनि उनले त्यहीं जाने भनेकी थिइन्। बिहानै हिँडेकी बहिनी पुगी/पुगिन, ९ बजेतिर दिदीले फोन लगाइन्। फोन लागेन। फोन कोठामै राखेर उनी घरायसी काममा लागिन्। १२ बजेतिर फोन हेर्दा बहिनीको ६ मिस कल आएको रहेछ।
उनले तत्काल कल ब्याक गरिन्। फोन उठ्यो तर आवाज सुन्दा बहिनी सामान्य अवस्थामा थिइनन्। रोइरहेकी थिइन्। दिदीलाई रुँदै भनिरहेकी थिइन्, ‘म हिँडिरहेकी थिएँ। गाडीबाट सौराहा चोक जाने बाटो सोध्यो। टाउकोमा हान्यो। आँखामा पट्टी बाध्यो। गाडीमा आइमाई छ, केटा मान्छे छ...।’
‘म हिँडिरहेकी थिएँ। गाडीबाट सौराहा चोक जाने बाटो सोध्यो। टाउकोमा हान्यो। आँखामा पट्टी बाध्यो। गाडीमा आइमाई छ, केटा मान्छे छ...।’
बोली एकदमै अस्पष्ट थियो। कुरा नसकिँदै फोन काटियो। त्यसपछि सम्पर्क हुन सकेन। कविताले तत्कालै घरमा परिवारलाई फोनबारे जानकारी गराइन्। फोनमा बोलेको करिब आधा घण्टापछि १२ः४२ बजेतिर कविताकै मोबाइलमा सुजिताले एउटा म्यासेज पठाइन्, जहाँ लेखिएको थियो– ‘पूर्व साइड’। दुई मिनेटपछि अर्को म्यासेज आयो, जहाँ लेखिएको थियो– ‘पूर्व।’
त्यसपछि परिवारलाई आशंका भयो, पक्कै बहिनी अपहरणमा परिन्। अप्ठेरो अवस्थामा छिन्, त्यसैले यस्तो संकेत गरिरहेकी छिन्। परिवारले तत्कालै प्रहरीमा जानकारी गरायो।
‘कहाँ कुन अवस्थाबाट मलाई फोन गर्न भ्याई, त्यो मलाई पनि थाहा भएन, अचानक फोन डिस्कनेक्ट भयो,’ दिदी कविता भन्छिन्, ‘त्यसपछि कुनै नम्बरबाट कसैको कल आएन। न कसैले फिरौती रकम नै मागेको थियो।’
सुजिताले त्यस दिन जितपुरकी साथी पुनम राईलाई पनि भिण्डी लिन आउने जानकारी फोनमा नभएर म्यासेजमार्फत गराएकी रहेछिन्। ‘भिण्डी लिन आ’को है म, तपाईंसँग भेटघाट नि हुन्छ,’ साथी पुनमलाई बिहानै घरबाट हिँड्नुअघि यति म्यासेज पठाएकी थिइन्।
केही दिनअघि एक युट्युब च्यानलले लिएको अन्तर्वार्ताका क्रममा पुनमले रुँदै भनेकी छिन्, ‘मेरो घरमा आउँछु भन्दा ऊ बेपत्ता भयो। त्यसैले अहिले चारैतिर मलाई दोष आइरहेको छ। म के गरुँ?’
तर, न उनी भिण्डी लिन आइन्, न कुनै भेटघाट नै भयो। बरु अचानक उनको घरमा दिदी पो आइपुगिन्, सुजिताको खबर सोध्दै। त्यसपछि पुनम पनि अत्तालिएकी थिइन्। केही दिनअघि एक युट्युब च्यानलले लिएको अन्तर्वार्ताका क्रममा पुनमले रुँदै भनेकी छिन्, ‘मेरो घरमा आउँछु भन्दा ऊ बेपत्ता भयो। त्यसैले अहिले चारैतिर मलाई दोष आइरहेको छ। म के गरुँ?’
सुजिता बेपत्ता भएपछि यो खबर केही दिनयता युट्युबमा भाइरल भइरहेको थियो। उनको खोजीमा सामाजिक सञ्जालमा विभिन्न पोस्टहरु सार्वजनिक भइरहेका थिए। चितवन प्रहरीदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसम्म उनको खोजीमा जुटिरहेको थियो। तर, मोबाइलको कल डिटेल, एसएमएस, म्यासेन्जर लगायतबाट पनि कुनै ‘क्लु’ पाउन सकिरहेको थिएन।
धेरैले सुजिताको परिवारसँग उल्टै प्रश्न गरिरहेका थिए, ‘अपहरण त होइन होला? अपहरणमा परेको मान्छेले कसरी आफ्नै मोबाइलबाट कल गर्न सक्छ? आफैं कतै लुकेको या भागेर गएको हुन सक्छ।’
अनेकथरी कुरा सुनेर सुजिताको परिवार रनभुल्ल थियो। सुजिताकी आमाले शव भेटिनुअघि भनेकी थिइन्, ‘प्रहरी सधैं आउँछ, छोरी हामीले नै लुकाएको भन्छ, हामीले हाम्रो छोरी कहाँ लुकाउनु?’
२३ वर्षीया सुजिता माघमा काठमाडौं पुगेकी थिइन्। काठमाडौंमा दिदीसँगै बसिरहेकी थिइन्। साथी पुनमका अनुसार स्नातक चौथो वर्षको परीक्षा दिएर बसिरहेकी उनी काठमाडौं गएपछि एकदमै कम सम्पर्कमा थिइन्। ‘ब्वाइफ्रेन्ड पनि थियो जस्तो लाग्दैन, कहिल्यै सुनाइनन्, भित्रभित्रै भएको भए अर्कै कुरा,’ पुनमले भनेकी छन्।
बेपत्ता भएको ९ दिनपछि आइतबार एकाएक राप्तीस्थित धमिलीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा आइतबार साँझ सुजिताको शव भेटियो। जंगलमा च्याउ टिप्न गएका स्थानीयले झ्याङमा अड्किएको अवस्थामा शव देखेका थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार त्यसपछि सुजिताका दिदी र भाइले शवको सनाखत गरेका थिए। शव नजिकै मोबाइलको ब्याट्री र दिदीले किनिदिएको झोला पनि भेटिएको छ। एसपी अधिकारीका अनुसार काटिएको अवस्थामा रहेको झोलाभित्र ३२० रुपैयाँ छ, छेउमै बोतलमा सेतो पदार्थ पनि छ जसलाई मृतकका बुबाले पतेरालाई हाल्ने विषादी भन्नुभएको छ।
प्रहरीले शव हेर्दा कतैबाट पानीले बगाएर ल्याएपछि अड्काएको हो कि भन्ने अनुमान पनि गरेको छ। प्रहरीले करिब १३ घण्टापछि घटनास्थलबाट सोमबार बिहान शव उठाएको छ तर आफन्त र स्थानीयले भरतपुर लैजान दिएका छैनन्। दोषी पत्ता नलगाई शव लैजान नदिने भन्दै उनीहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीको झुरझुरे चोक सडक अवरुद्ध गरेका छन्। २४ घण्टाभित्र दोषी पत्ता लगाउनुपर्ने उनीहरुको माग छ।
यता प्रहरीले शरीरमा कुनै गम्भीर चोटपटक नदेखिएकाले पोस्टमार्टम नगरेसम्म हत्या या आत्महत्या अहिले नै भन्न नसकिने बताइरहेको छ। उता भिण्डी लिन गएकी छोरी मृत भेटिएपछि सुजिताकी आमा भनिरहेकी छिन्, ‘छोरीले बचाउनु भनेर फोन गर्दा पनि बचाउन सकिएन। अब जसरी हुन्छ चाँडोभन्दा चाँडो अपराधी पत्ता लगाइदिनुस्। फोटो खिच्ने, लेख्नेमात्रै नगर्नुस्। चाँडै अपराधी पत्ता लगाइदिनुस्।’