सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्‍त्रीलाई शकुन्तलाको प्रश्‍न: अरबमा अलपत्र मेरो छोरा कहिले आउँछ ?

मुख्यमन्‍त्रीलाई शकुन्तलाको प्रश्‍न: अरबमा अलपत्र मेरो छोरा कहिले आउँछ ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुर-२० देवपुरा रूपैठाकी शकुन्तला पासवानको दैनिकी दिनरात भक्कानिएर बित्छ । छरछिमेकी तथा आफन्तहरूसँग कुरा गर्दागर्दै उनी अचानक अचेत हुन्छिन् ।

आफन्त र अन्य कोहीसँग कुरा गर्दा उनी आफ्नो छोरालाई फर्काइदिन हारगुहार गरिरहेकी हुन्छिन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका उनका छोरा धर्मनाथ उपचार खर्च तिर्न नसकेर दुई वर्षदेखि साउदी अरेबियाको अस्पतालमा अलपत्र छन् । दुर्घटनामा परेका उनी अपांगताको चपेटामा परेका छन् ।

हिँडडुल समेत गर्न नसक्ने अवस्थामा पुगेका धर्मनाथ र उनका परिवारलाई अहिले वैदेशिक रोजगार अभिसापझैँ भएको छ । परिवारका एक मात्र छोरा धर्मनाथलाई बाहिर निस्किन साउदी अरेबियाको अस्पतालले १६ लाख रुपैयाँ मागिरहेको आमा शकुन्तलाले बताइन् । उनले भक्कानिँदै भनिन्, 'पाँच लाख ऋण उठाएर वैदेशिक रोजगारमा पठाएको छोरोलाई अस्पतालबाट मुक्त गराउन यति ठूलो रकमको जोहो कहाँबाट गर्नु ?' 

धर्मनाथमा चार छोरी छन् । जनकपुरका केही समाजिक संस्थाले चन्दा उठाएर जेठी छोरीको बिहे गरिदिएका छन् । छोरालाई स्वदेश फर्काउन पहल गरिदिन प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतसामु पुगेकी शकुन्तलाले आँखाबाट आँशु झार्दै सोधिन्, 'अरबमा अलपत्र मेरो छोरा कहिले आउँछ ?' 

शकुन्तलाझैँ धनुषाबाट वैदेशिक रोजगारमा गएकाहरूका परिवारले बुधबार मुख्यमन्त्री राउतलाई भेटेर सुरक्षित रोजगारको वातावरणका लागि माग गरे । जिल्लाका विभिन्न स्थानबाट एक हजारभन्दा बढीको संख्यामा जनकपुर पुगेका उनीहरूले सुरक्षित रोजगार, वैदेशिक रोजगारमा हुने ठगीको अन्त्य, ठगी गर्नेलाई कारवाही गर्न मुख्यमन्त्री राउतसमक्ष माग गरे । सके आफ्नै प्रदेशमा रोजगारी, नसके सुरक्षित वैदेशिक रोजगारको वातावरण निर्माण गर्न उनीहरूले मुख्यमन्त्री राउतलाई आग्रह गरे । 

आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको अगुवाइमा १६ बुँदे माग अगाडि सार्दै वैदेशिक रोजगारमा गएका परिवारका सदस्यहरूले प्रदेश सरकार कार्यान्वयनमा आइसकेको अवस्थामा विभिन्न कारणले विदेशमा अलपत्र परेकाहरूलाई उद्धार गर्न पहल गरिदिन मुख्यमन्त्रीलाई गुहार मागे । नेपाल सरकारले ल्याएको फ्री-भिसा, फ्री-टिकट नीतिको प्रभावकारी कार्यान्वयन, अवैध रूपमा वैदेशिक रोजगारसम्बन्धी काम गर्ने एजेन्टहरूमाथि कारवाही, वैदेशिक रोजगारमा जान बाध्य युवालाई बिनाव्याज र बिनाधितो ऋणको व्यवस्था, वैदेशिक रोजगारीमा जानेहरूका लागि सीप र सही सूचनाको व्यवस्थालगायत माग छन्, उनीहरूका ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले देशको ठूलो भार बोके पनि केन्द्र सरकारको लगानी शुन्य रहेको बताए । ठगी गर्दै आएका म्यानपावरलाई केन्द्र सरकारले कारवाही गर्न नसकेको बताउँदै उनले आफूहरूले श्रम मन्त्रालयमार्फत् सरकारलाई दबाब दिनुबाहेक केही गर्न नसक्ने जवाफ दिए । मुख्यमन्त्री राउतले वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम श्रम मन्त्रालयमार्फत् हुने गरेकाले प्रदेशस्तरबाट आफूले सक्दो प्रयास गर्ने ढाडस दिए । 

तथ्यांकअनुसार नेपालबाट बर्सेनि पाँच लाखभन्दा बढी कामदार बिदेसिने गरेका छन् । सबैभन्दा बढी धनुषाबाट जानेको संख्या एक लाख छ । धनुषाका बैंकहरूमा रेमिट्यान्सको दैनिक कारोबार ६३ करोड रहेको तथ्यांकले देखाउँछ । एक वर्षमा ६४ अर्ब रेमिट्यान्स भित्र्याउने धनुषाको ५७ प्रतिशत परिवारलाई वैदेशिक रोजगारले धानेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।