बेइजिङ- चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँग चिनियाँ राष्ट्रपति सी जिनपिङले छिट्टै नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् ।
राष्ट्रपति सीसँग बुधबार भएको शिष्टाचार भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणा प्रधानमन्त्री ओलीले हस्तान्तरण गरेका थिए । बेइजिङस्थित ग्रेट हल अफ दी पिपलमा दुर्इ नेताबीच भेटवार्ता भएको हो । राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो । प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भने ४५ मिनट भएको थियो । त्यस अवसरमा चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता र अखण्डताप्रतिको सम्मान दोहोर्याउँदै सबै प्रकारको सहयोग उपलब्ध गराउने बताए ।
नेपालको विकास र समृद्धिमा चीनका तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरू तयार रहेको धारणा व्यक्त गरे । राष्ट्रपति सीले असल छिमेकीका रूपमा नेपाललाई चीनले सधैं सम्मान र सहयोग गर्दै आएको स्मरण पनि गरे ।
प्रधानमन्त्री ओलीले असल छिमेकीका रूपमा चीनको साथ र सहयोग पाएको बताउँदै आर्थिक विकास र समृद्धिका लागि नेपालले सधैं चीनसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको एक चीन नीतिप्रति प्रतिबद्धता ओलीले दोहोर्याए । र, त्यसलाई व्यावहारिक रूपमै पुष्टि गर्दै आएको उल्लेख गरे । चीनको आर्थिक र प्राविधिक विकासबाट लाभ हासिल गर्न
नेपाल तत्पर रहेको उनले बताए ।
सोही अवसरमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएकामा राष्ट्रपति सीलाई बधाई दिए । उनीहरूबीच दुई देशको सरकार र कम्युनिस्ट पार्टीबीचको
सम्बन्धलाई थप उचाइमा लाने विषयमा पनि छलफल भएको थियो ।
वार्तामा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव शंकरदास बैरागी र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल सहभागी थिए । चीनका तर्फबाट राष्ट्रपति सी, विदेशमन्त्री वाङ यीलगायत वरिष्ठ अधिकारी सहभागी थिए ।
राष्ट्रपति सीसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रद्धाञ्जलि व्यक्त गरे । त्यस अवसरमा चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान प्रस्तुत गरेको थियो । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन पुगेका हुन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४