काठमाडाैं- किताब प्रकाशनपछि वितरकले विभिन्न पुस्तक पसलमा पुर्याउँछन्। पुस्तक व्यापारीले पसलको र्याकमा राखेर पाठक पर्खन्छन् भने नियमित पुस्तक किन्ने पाठकको घरमै लगिदिन्छन्। कतिपय पाठक मन परेको लेखकको किताब किन्न पसलसम्म पनि धाउँछन्। यसरी धेरै ग्राहकले किताब किनिदिए लेखकलाई रोयल्टी आउँछ। नामको चर्चा हुन्छ। प्रकाशकको व्यवसाय बढ्छ। त्यसैले त हरेक लेखकलाई आफ्नो किताब सबैभन्दा बढी पाठकले पढिदियून् भन्ने चाहना हुन्छ। यसबीचमा विमोचन र पुस्तकको गुणात्मक समीक्षाले पनि पाठकलाई तान्न सक्छ। यो नेपाली पुस्तक प्रकाशन र बजारीकरणको परम्परा हो।
पुस्तक प्रकाशन र वितरणको यस्तो परम्परालाई फिक्सन डिजाइनर कुमार नगरकोटीको पछिल्लो कथा संग्रह ‘कल्प–ग्रन्थ’ ले तोडिदिएको छ। बुकहिलले प्रकाशन गरेको ‘कल्प–ग्रन्थ’ बजार छाडेर प्रकाशकबाट सीधै पाठकको हातमा पुगेको छ। यद्यपि जो पाठकको हातमा ‘कल्प ग्रन्थ’ पुगेको छ, उनीहरूले अग्रिम बुकिङ गरी भुक्तानी गर्नुपरेको थियो। अग्रिम भुक्तानी गरेका पाठकले महामारीका कारण पुस्तक प्राप्त गर्न लामै प्रतीक्षा गरे। यसबीचमा पैसा तिरेका पाठकले कस्तो किताब आउला भनेर कल्पना गरेका थिए होलान्? यो बुझ्नचाहिँ ती अग्रिम भुक्तानी गरेर पुस्तक अर्डर गर्ने पाठकको प्रतिक्रिया नै पर्खनुपर्नेछ।
लेखक नगरकोटी भन्छन्, ‘अग्रिम भुक्तानी गर्ने पाठकको हातमा किताब पुगिसक्यो। जसले किताब पाउनुभयो उहाँहरू मजत्तिकै अत्यन्तै खुसी हुुनुहुन्छ। तर अग्रिम भुक्तानी गरेर पुस्तक अर्डर गर्नेबाहेक अन्य पाठकले अब चाहेर पनि ‘कल्प–ग्रन्थ’ पढ्न पाउँदैनन्।’
निषेध आदेश खुकुलो हुँदै आएसँगै कल्पग्रन्थ बुकिङ गरेका पाठकको हातहातमा पुर्याउने क्रम सुरु भइसकेको छ। कतिपय पाठकले किताबको भोक मारिसकेका छन्। लेखक नगरकोटी भन्छन्, ‘अग्रिम भुक्तानी गर्ने पाठकको हातमा किताब पुगिसक्यो। जसले किताब पाउनुभयो उहाँहरू मजत्तिकै अत्यन्तै खुसी हुुनुहुन्छ। तर अग्रिम भुक्तानी गरेर पुस्तक अर्डर गर्नेबाहेक अन्य पाठकले अब चाहेर पनि ‘कल्प–ग्रन्थ’ पढ्न पाउँदैनन्।’
नगरकोटीको ‘ड्रिम’
२०७६ चैतमा कोरोना महामारीको जोखिम बढेपछि लकडाउन सुरु भयो। महामारीको भविष्य कतिसम्म थियो थाहा थिएन। पुस्तक लेखन र प्रकाशन कार्य अघि बढिसकेको थियो। प्रकाशक भूपेन्द्र खड्का पुस्तक बजारमा नौलो काम गर्न व्यस्त थिए। लेखक नगरकोटी लेखन त छँदै छ, पाठकसम्म पुर्याउने एउटा ‘ड्रिम’ बुनिरहेका थिए। त्यसपछि पुनः मुद्रण नहुने गरी कल्पग्रन्थ घोषणा गरियो।
बुकहिल परिवारले २०७७ मंसिर २७ मा ‘प्रिमियम संस्करण’ प्रि–बुकिङ नाम दिएर बजारमा उद्घोष गर्यो– कुमार नगरकोटीको कल्प–ग्रन्थ, ६३ वटा विविध आयाम र प्रयोगका कथाको ‘प्रिमियम संस्करण।’ पुस्तकका विशेषता यस्ता थिए– पृष्ठ संख्या ७ सय ७७, साइज १५२×२३२ मिमि। तौल १.५ केजी। हार्ड ब्याक। बक्स। झोला। बुक–मार्क। पोस्टकार्ड।
नगरकोटी सम्झन्छन्, ‘यस्तो शैलीमा पुस्तक प्रकाशन गर्न खोज्नु जोखिम थियो।’ त्यसैले लेखक र प्रकाशक दुवैका लागि एक प्रकारको भय थियो। तर लेखकको ‘प्रयोग’ र प्रकाशकको साथले भय हराइहाल्यो। नयाँ प्रयोग भएकाले तमाम ग्राहक र पाठकलाई मात्रै नभएर पुस्तक व्यापारीलाई समेत चासोको विषय बनेको थियो यो। नगरकोटी भन्छन्, ‘मेरो इच्छा के थियो भने परम्परागत रूपमा पसलमा गएर किन्ने शैलीभन्दा फरक तरिकाले किताब किनौं। अलिकति ‘रिक्स’ पनि नभएको होइन। ‘रिक्स’सँग डराएर प्रयोग गर्न पनि त छोड्नु भएन नि।’
यसरी किताब कसले किन्छ? भनेर लेखक र प्रकाशकलाई धेरैले सम्झाए। नगरकोटी भन्छन्, ‘हामीलाई पनि चिन्ता छँदै थियो– भनेजस्तो किताब बुकिङ भएन भने खल्तीबाट पैसा हालेर छाप्नुपर्नेछ। हामी केमा ढुक्क थियौं भने पाँच सय प्रति बुकिङ भए पनि किताब निकाल्ने। खर्च खल्तीबाटै हाल्ने।’ प्रकाशकलाई पनि ९९ प्रतिशतले त ‘विचार गर्न’ सम्झाएका पनि हुन्। धेरैले लेखक नगरकोटीलाई बिकाउको ट्याग पनि नलगाएका हैनन्। तर पनि जोखिम उठाउन तयार भए लेखक र प्रकाशक।
खड्का भन्छन्, ‘प्रि–बुकिङ/प्रि–अर्डरका लागि तीन महिना समय राख्यौं। पाठक छुट्लान् कि भनेर एक महिना थप्यौं। लेखक र लेखकको सिर्जनालाई मन पराउने पाठकका लागि चार महिना प्रशस्त हो।’ अग्रिम बुकिङको समय २०७७ मंसिर २७ देखि २०७७ फागुन १ गतेसम्मको थियो।
प्रिमियम संस्करण प्रिबुकिङका लागि भने सर्त र केही नयाँपन पनि थियो। राजस्व तिर्न सेवाग्राही आफैं बैंकमा पुगेर भौचर भरेझैं पुस्तकको मूल्य २०२१ रुपैयाँसहित नेपाल इन्भेन्स्टमेन्ट बैंकमा पुगेर बुकहिल पब्लिकेसनका नाममा रहेको खाता नम्बर ००४०१०१०२५६ं८३६४ पैसा जम्मा गर्नुपर्थ्याे।
बुकहिलले अर्को विकल्प ई–सेवाबाट पनि दिएको थियो। ग्राहकले ई–सेवाको मोबाइल एपमा गई ‘कल्प–ग्रन्थ प्रि–बुकिङ’ क्लिक गर्नुपर्ने थियो। त्यहाँ रहेको फाराममा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल र पुस्तकको मूल्य रुपैयाँ २०२१ भरेर आफ्नो प्रति सुरक्षित गर्न सक्थे। दुई वा सोभन्दा बढी पुस्तकको अर्डरमा २ प्रतिशत क्यासब्याक पनि ग्राहकले प्राप्त गर्न सक्थे।
हिँड्दाहिँड्दै पसलमा छिरेर किताब किन्ने बानीका पाठकले पहिल्यै पैसा दिएर बुकिङ गर्न अलिकति झन्झटिलो नमान्लान् भन्ने पनि थिएन। पुस्तकको समीक्षा र कसैको सिफारिसले किताब पढ्ने पाठकका लागि पनि यस्तो प्रयास अविश्वसनीय हुन सक्थ्यो। बुकिङ प्रक्रिया त झन् झन्झटिलो हुने नै भयो।
प्रकाशक भूपेन्द्र खड्का भन्छन्, ‘नेपाली पुस्तक बजारमा पूर्णतया नयाँ प्रयोग हो यो। कल्प–ग्रन्थको प्रकाशन प्रक्रिया परम्परागत शैलीको थिएन। यसको समग्र प्रक्रिया नै बेग्लै रह्यो।’
यस्तो कार्य पाठकका लागि आफैंमा नौलो थियो। तर अग्रिम बुकिङ गर्ने पाठकलाई बुकहिलले निःशुल्क होम डेलिभरीको सुविधा दिने भनिएको थियो भने नेपालबाहिर ढुवानी शुल्कसहित डेलिभरी गर्ने जनाएको थियो।
त्यसैले अग्रिम–भुक्तानबाट पुस्तकको बजारीकरण गर्नु नेपाली पाठक र प्रकाशकका लागि नयाँ अभ्यास हो। प्रविधिको उच्चतम प्रयोग बढिरहेका बेला पुस्तक बजारीकरणमा यो प्रयोगले नयाँ आयाम थप्नु थियो प्रकाशक र लेखकका लागि। प्रकाशक भूपेन्द्र खड्का भन्छन्, ‘नेपाली पुस्तक बजारमा पूर्णतया नयाँ प्रयोग हो यो। कल्प–ग्रन्थको प्रकाशन प्रक्रिया परम्परागत शैलीको थिएन। यसको समग्र प्रक्रिया नै बेग्लै रह्यो।’ उनका अनुसार ७० थान कथा संकलित कल्पग्रन्थको अग्रिम बुकिङ ३ हजार ७ सय १३ प्रति थियाे।
नेपालमै पहिलो पटक प्रिमियम संस्करणका रूपमा ‘एसिड फ्री’ कागजमा छापिएको हार्ड कभरमा सज्जिएको आख्यान किताब हो कल्पग्रन्थ। अग्रिम भुक्तानी गर्ने हरेक ग्राहकको हातमा लेखक नगरकोटीको अटोग्राफसहित कल्पग्रन्थ पुगेको छ यति बेला।
पुस्तक बजारमा नयाँपन
किताब प्रकाशन व्यापार हो। सबै व्यापारीले व्यापारबाट नाफा खोज्छन् नै। तर पुस्तकको सवालमा भने जति धेरै किताब छाप्यो त्यति छपाइ मूल्य सस्तो पर्छ। किताबको मूल्य पनि सस्तो राख्न सकिन्छ। यस किसिमका किताब आमपाठकले सजिलै किन्न पनि सक्छन्।
प्रिमियम संस्करणमा अग्रिम बुकिङ गर्नेहरु स्वाभाविक रूपमा सीमित ग्राहक हुनेछन्। निश्चित ग्राहकबाट प्राप्त रकमले किताब छपाइ गर्न गाह्रो पक्कै होला? बुकहिलले नाफा बिर्सिएर कल्पग्रन्थमा प्रयोगका लागि मात्रै लगानी गरेको थियो त? खड्का भन्छन्, ‘प्रकाशकले सधंै फाइदा मात्रै हेरेर हुँदैन। यो प्रिमियम संस्करण हो। यसले पुनः मुद्रण गर्ने छैन अग्रिम बुकिङ जति ग्राहकले गरेका थिए त्यति नै संख्यामा कल्पग्रन्थ छापिएको हो।’
नेपाली पुस्तक बजारमा एक हजार किताब बिक्री हुन वर्ष दिन लाग्छ। ६५ दिनमा अग्रिम बुकिङबाट कल्प–ग्रन्थको प्रकाशन खर्च उठ्यो त? खड्का भन्छन्, ‘खर्च उठ्ला भनेर काम गरेकै होइन। लेखक पनि प्रयोग गरिरहन्छन्। बुकहिल पब्लिकेसनले पनि प्रयोग रुचायो।’
अग्रिम बुकिङ गर्ने सामान्य पाठक
जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं सर्रियल लेखक नगरकोटीका किताब पढ्न चाहने पाठकले थोरै उपाय त खोजे। तब त उनीहरुको हातमा यतिखेर कल्प–ग्रन्थ छ जो निकै सामान्य पाठक लाग्छ खड्कालाई। उनी भन्छन्, ‘कल्पग्रथ बुकिङ गर्ने एकदम सामान्य पाठक छन्। बेस्ट सेलर लेखक, बिजनेसमेन, नेता, प्रोफेसर तथा सेलिब्रेटी कलाकार छैनन्। लेखकलाई सुरुदेखि माया गर्ने पाठक हुन्। खासमा ‘डेडिकेट फ्यान’ ले मात्रै बुकिङ गरेका थिए।’ त्यसो त बैंकमा पुस्तकको अग्रिम भुक्तानी गर्दा क्रेताले पेसा–व्यवसाय खुलाइएको थियो या थिएन भन्नेचाहिँ स्पष्ट छैन।
पुस्तक वितरण १३ गते लेखक एवम् पत्रकार नारायण वाग्लेलाई उनको पूर्व–भुक्तान–प्रति लेखक स्वयम्बाट हस्तान्तरण गर्दै सुरु गरिएको हो। कार्यक्रममा वाग्लेले भनेका थिए, ‘मुद्रण र प्रकाशन शैलीले अन्य लेखकलाई पनि लेखन र प्रयोगमा उत्साह थप्नेछ र यो एउटा मानक किताब बन्नेछ।’
यद्यपि यस्तो प्रक्रियामा सबै किसिमका पाठक अवश्य अटाउँदैनन्। पुस्तक अर्डर गर्नेमा नगरकोटीलाई मन पराउने पाठक मात्र पनि नहुन सक्छन्। र सबैलाई यस किसिमको बजारमा बानी परेको पनि छैन। खड्का भन्छन्, ‘बजारमा लुगा, जुत्ता, फुड, जस्तै किताब पनि प्रिमियम संस्करण प्रि–बुकिङलाई अभ्यासमा ल्याउन जरुरी छ।’
पुस्तक वितरण १३ गते लेखक एवम् पत्रकार नारायण वाग्लेलाई उनको पूर्व–भुक्तान–प्रति लेखक स्वयम्बाट हस्तान्तरण गर्दै सुरु गरिएको हो। कार्यक्रममा वाग्लेले भनेका थिए, ‘मुद्रण र प्रकाशन शैलीले अन्य लेखकलाई पनि लेखन र प्रयोगमा उत्साह थप्नेछ र यो एउटा मानक किताब बन्नेछ।’
‘कल्प–ग्रन्थबाट नगरकोटी हटाइदिए पनि हुन्छ ...’
७७ चैत १४ मा कल्प ग्रन्थको लोकार्पणको तयारी थियो। तर कोभिड १९ का कारण पाठकबाट पूर्व भुक्तानी लिई सीमित प्रति मुद्रण भएकाले वितरणमा ढिलाइ भएको थियो। केही ग्राहकले अग्रिम पैसा लिएर किताब दिन नसकेको आरोप पनि लगाए। ‘किताब दिने विचार छैन् कि पैसा पचेको हो?’ जस्ता प्रश्न पनि गरे।
खड्काले कल्प–ग्रन्थ : किताब–कीर्तनमा लेखेका छन्- लिमिटेड एडिसन’ को लोगो पहिलोपल्ट छापिएको यो किताब तिनै ‘लिमिटेड पाठक’ को हातमा हुनेछ जसले ‘लिमिटेड समय’मा नगरकोटीलाई ‘अन लिमिटेड’ माया र सम्मान गरे।
‘कल्प–ग्रन्थबाट नगरकोटी हटाइदिए पनि हुन्छ, कल्प–ग्रन्थका लागि पाठक विशेष हुन्। किताबप्रतिको प्रेम हो। कुनै पाठकले कसैलाई गिफ्ट दिन मन लाग्यो भने कसैसँग नभएको किताब दिन सक्नेछन्। जो थप विशेष हुनेछ।'
लेखक नगरकोटीको अनुभव कस्तो रह्यो त? ‘यो प्रिमियम संस्करण हो। यसलाई पुनः प्रकाशन गर्न सक्दैनौं। पहिलो र अन्तिम प्रकाशन यही हो। जति बुकिङ भयो–भयो। जति पाठकले पाए–पाए। यो बजारमा भेटिने छैन। भोलि पाँच हजारले बुकिङ गर्छु भन्दा नि पाउँदैनन्। त्यसो हुनाले पनि किताब बुकिङ गरेर किन्ने पाठकका लागि कल्पग्रन्थ ‘स्पेसल’ भएको हो। यसलाईं पाठकले स्पेसल महुस गरून् भन्न पनि चाहेको मैले।’
जसजसले किताब लिएका छन् ती पाठक विशेष हुनेमा नगरकोटी ढुक्क छन्। उनी भन्छन्, ‘कल्प–ग्रन्थबाट नगरकोटी हटाइदिए पनि हुन्छ, कल्प–ग्रन्थका लागि पाठक विशेष हुन्। किताबप्रतिको प्रेम हो। कुनै पाठकले कसैलाई गिफ्ट दिन मन लाग्यो भने कसैसँग नभएको किताब दिन सक्नेछन्। जो थप विशेष हुनेछ। जुन अरुको दराजमा भेटिन्न। बजारको र्याकमा भेटिन्न। यो एउटा यादगार किताब बन्नेछ।’