हेटौंडा- यहाँ जारी कांग्रेस जिल्ला सभापतिहरूको भेलामा सहभागी हुन पुगेका केन्द्रीय सदस्यहरू बिचल्लीमा परेका छन् । उनीहरूलाई किन भेलामा सहभागी गराइएको हो भन्ने पनि स्पष्ट छैन ।
आधाभन्दा बढी केन्द्रीय सदस्यहरू हेटौंडाबाट बाहिरिइसकेका छन् । २/३ जना नेताको मात्र सक्रिय भूमिका देखिएपछि केन्द्रीय सदस्यहरू बाहिरिन थालेका हुन् ।
भेलाअघि बोलाइएको केन्द्रीय समितिको बैठक पनि त्यसबारे कुनै छलफल नगरी टुंगिएको थियो । उक्त बैठक नै किन बोलाइएको थियो भन्ने अन्योलमा देखिन्छन्, केन्द्रीय सदस्यहरू । उनीहरूलाई 'इंगेज' गराएको छैन, नेतृत्वले । उनीहरू फुर्सदिला देखिन्छन् ।
न त महामन्त्रीले एजेन्डाबारे बताउँछन्, न केन्द्रीय सभापतिले नै । जिल्ला सभापति भेलामा आफूहरूलाई किन बोलाइयो भन्नेमै उनीहरू अन्योलमा देखिन्छन् ।
'हामीलार्इ भूमिका र जिम्मेवारी नै दिइएको छैन, यहाँ बसेर के गर्नु ?' केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, 'उद्घाटन सत्रमा पनि विभेद गरियो ।'
सोमबारको केन्द्रीय समितिको बैठक अपरान्ह ४ बजेलाई बोलाइयो, ६ बजे मात्र शुरु भयो । महामन्त्री शशांक कोइरालाले एक पत्र पढे, बैठकमा । त्यो पत्र मुख्यसचिवको थियो, महामन्त्री आफैंले पढेकामा केन्द्रीय सदस्य बलबहादुर केसीले ध्यानाकर्षण गराए । त्यसलगत्तै सभापति शेरबहादुर देउवाले बैठक सकिएको बताए ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले रोक्न खोजे, डा. उपेन्द्र देवकोटाको निधन भएकामा मौन धारण गर्नुपर्ने बताउँदै । त्यसपछि बैठकका सहभागी उठेर मौन धारण गरियो । र, बैठक सकियो ।
जिल्ला सभापतिहरू संस्थापन पक्षका भन्दा विपक्षका बढी छन् । ७७ मध्ये ३२ जिल्लाका सभापति मात्र देउवा पक्षका छन् । बाँकी ४५ जिल्ला सभापतिहरू पौडेल-सिटौला पक्षका छन् ।
निधि, सिटौला र खड्काको गठबन्धन
उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र महामन्त्री पूर्णबहादुर खड्काबीच गठबन्धन देखिएको छ, हेटौंडामा । तीनै जना स्थानीय होटेल एभोकाडोमा बसेका छन् । साँझबिहान भेटेर छलफल गरिरहेका छन् ।
सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले मात्र बोल्ने गरी उद्घाटन सत्रको खाका उनीहरूले नै बनाएका थिए । तर, पछि सभापति देउवाको निर्देशनमा पूर्वमहामन्त्रहरू प्रकाशमान सिंह र सिटौलालाई मात्र बोल्न नदिने तय भएको जानकारी पाएपछि सिटौलाले मञ्च बहिष्कार गरे ।
आधाभन्दा बढी केन्द्रीय सदस्यहरू जिल्ला सभापतिहरूको भेलास्थलबाट बाहिर ।
उद्घाटनमा बोल्न नदिइएपछि सिंह सिटौलाभन्दा आक्रोसित देखिन्छन् । उनी सभापति भेलास्थल नै छाडेर काठमाडौं फर्किने मनस्थितिमा देखिन्छन् । तर, सिटौलाले थुम्थुम्याउने प्रयास गरिरहेका छन् । पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी पनि भेलास्थल छाडेर हिँड्ने मनस्थितिमा देखिन्छन् ।
निधि, सिटौला र खड्काबीच भने भेलास्थल र बसेको होटेलमा निरन्तर संवाद भइरहेको देखिन्छ । आफूले भनेका सबै कुरा लागू नभएकामा निधिमा पनि सभापति देउवाप्रति सामान्य असन्तुष्टी पोख्ने गरेका छन् । तर, उनले त्यसलाई सभापतिको विरोधका हिसाबबाट प्रस्तुत गरेका छैनन् ।
बुधबार बिहान निधि, सिटौला र खड्काबीच होटेल एभोकाडोमै भेटेर मंगलबारको उद्घाटन सत्रबारे समीक्षा भएको थियो । आमाको वार्षिकी बारिरहेका खड्का औपचारिक समारोहमा भने सहभागी भएका छैनन् । बुधबार शुरु भएको बन्द सत्रमा भने उनी सहभागी छन् ।
तीन नेताबीचको छलफल र बैठक सभापति देउवाविरुद्धको मोर्चाका रूपमा देखिँदैन । मिलेर जाऊँ भन्ने कुरामा उनीहरू छलफल भइरहेको पाइन्छ ।
सभापति देउवाले उद्घाटन सत्रमा लिखित मन्तव्य पढेका थिए । पार्टीको आन्तरिक भेलामा पनि उनको लिखित मन्तव्यलाई अधिकांश नेताले सहज रूपमा लिएको पाइँदैन । देउवामा एक प्रकारको त्रास देखिएको उनीहरूको विश्लेषण पाइन्छ ।
सभापति देउवाले आफूलाई कार्यवाहक सभापति दिनुपर्ने आशय निधिको देखिएको छ । गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई कार्यवाहक सभापति दिएजस्तै देउवाले पनि आफूलाई दिनुपर्ने निधिको लाइन देखिन्छ । तर, उनले त्यसलाई आक्रामक रूपमा प्रस्तुत गरेका छैनन् ।
बैठक बस्नका लागि जिल्ला सभापतिहरूले दुई प्रकारका ढाँचामा जोड दिएका छन्, प्रदेशस्तर र समग्र । केन्द्रले जिल्ला सभापतिहरूलाई सात वटा प्रश्न सोधेको छ । जिल्ला सभापतिहरूले भने सात वटा प्रश्नबाहेकको सुझाव दिन्छौं भनिरहेका छन् । त्यसमा बहस भइरहेको छ ।
यो पनि पढ्नुहोस्
कांग्रेस भेलामा तनाव : केन्द्रीय सदस्यहरुले पनि हेटौंडा छोडे
गगनलगायतका युवा नेताले देउवालार्इ यस्तो पत्र बुझाए
देउवालाई नेविसंघले बुझायो यस्तो पत्र
कांग्रेसभित्र 'स्ट्राइकर' बन्दैछन् सिटौला
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४