काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टी १०० वर्षको भएको छ। यस अवसरमा सत्तारुढ पार्टीले विभिन्न कार्यक्रम आयोजना गरेको छ।
कडा सुरक्षा घेराका बीच पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले तियानमेन चोकमा जम्मा भएका मानिसहरुलाई सम्बोधन गरेका छन्। भाषणमा उनले समाजवादले मात्रै चीनलाई बचाउन सक्ने बताए। ‘चिनियाँहरू पुराना कुराहरूलाई ध्वस्त पार्न मात्र होइन नयाँ संसार बनाउन पनि सिपालु छन्,’ सीले भने,‘समाजवादले मात्र चीनलाई जोगाउन सक्छ।’
सम्बोधनका क्रममा उनले चीनलाई होच्याउने युगको सधैँका लागि अन्त्य भइसकेको बताएका छन्। आज बिहान आयोजित समारोहमा सेनाका विमान र तोपको सलामीबीच देशभक्तिको गीत प्रस्तुत गरिएको थियो।
सन् २०२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा आएको थियो।
सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो बैठक सांघाईमा भएको थियो। उक्त बैठक ठ्याक्कै कहिले भएको थियो भन्ने एकिन छैन। पछि माओ त्से तुङले जुलाई १ मा उक्त बैठक भएको बताएका थिए। सोही आधारमा जुलाई १ लाई चिनियाँ कम्युनिष्ट पार्टी स्थापना दिवसको रूपमा मनाइने गरेको छ।
सशस्त्र युद्ध गरेको चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा राजधानी बेइजिङमा जित हासिल गरेको थियो। सोही वर्ष अक्टोबर १ मा माओले चीनलाई जनवादी गणतन्त्र घोषणा गरेका थिए।
त्यसयता चिनियाँ कम्युनिष्ट पार्टी लगातार सत्तामा छ। समय चीन शक्ति राष्ट्रका रूपमा उदाइरहेको छ। संसारकै सबैभन्दा बढी जनसंख्या भएको चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको छ।
चिनियाँ कम्युनिष्ट पार्टी संसारकै दोस्रो ठूलो राजनीतिक पार्टी हो। चिनियाँ कम्युनिष्ट पार्टीमा ९ करोड ५२ लाख पार्टी सदस्य छन्। सुरूमा किसान र मजदुरको पार्टीका रूपमा स्थापित भएको पार्टीमा सन् १९८२ देखि विश्वविद्यालयका विद्यार्थी र सन् २००२ देखि निजी उद्यमीलाई पनि सदस्यता दिन थालिएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीमा महिलाको सदस्यता संख्या २८.८ प्रतिशतमात्र छ भने पार्टीका सबै शीर्ष सात नेता पुरुष छन्।