काठमाडौं- ट्याक्सी ड्राइभरले ठग्ने क्रम बढेपछि सरकार कडा प्रस्तुत हुने भएको छ । सरकारले ट्याक्सी ड्राइभरले ठगेमा वा मिटरमा जान नमानेमा ९८५१२७३२२२ मा फोन वा एसएमएस गर्न आग्रह गरेको छ। सरकारले ठग चालकहरूमाथि कारवाही हुने दावीसमेत गरेको छ ।
यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाभित्र सञ्चालित मिटरजडित ट्याक्सीको प्रयोग गर्दा सेवाग्राहीबाट ट्याक्सी सञ्चालनका सम्बन्धमा बारम्बार गुनासो सम्बोधन गर्न यो नम्बरको व्यवस्था गरेको हो । मिटरजडित ट्याक्सीको सेवा दिन नमानेमा ९८५१२७३२२२ मा फोन वा म्यासेज गरेर जानकारी गराउन आग्रह गरिएको छ ।
गन्तब्य स्थानसम्म जान नमान्ने, आलटाल गर्ने मिटरमा जान नमान्ने, ट्याक्सी स्ट्याण्डमा सवारी पार्किङ गरी लामो समयसम्म चालक सिटमा नबस्ने, तथा मिटर सर्ट गर्ने र तथा गन्तब्यसम्म लाग्ने रकम अस्वाभाविक रुपमा बढी लिने जस्ता गुनासो आएमा विभागले तत्कालै कारवाही गर्ने दावी गरेको छ ।
यसैगरी सार्वजनिक सवारीका साधनहरुमा जेष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्तिहरुलाई आरक्षित सीटमा अन्यलाई राखिएमा पनि कारवाही गर्ने विभागले जनाएको छ ।
सार्वजनिक सवारीका साधनले आरक्षित सीटको प्रयोग कानुन बमोजिम नगरेको भेटिएमा पनि ९८५१२७३२२२ मा फोन वा एसएमएस गर्न आग्रह गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४