सोमबार, असार २९, २०८३

सिटौलाले मञ्च बहिष्कार गर्नुको कारण यस्तो छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– कांग्रेस जिल्ला सभापतिहरूको मंगलबार हेटौंडामा शुरु भेलामा सबै नेता मञ्चमा बसे । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने मञ्च बहिष्कार गरे र उद्घोषकले बोलाउँदा पनि दर्शकदीर्घामै बसे । 

जिल्ला सभापतिहरूको भेलाको शुरुमै सिटौलाले केन्द्रीय सभापति शेरबहादुर देउवाका लागि चुनौतीपूर्ण संकेत गरे । हेटौंडा पुग्नुअघि चितवनमा बोल्दै देउवाले तीन तहका चुनावमा अन्तर्घात गर्नेहरूलाई कुनै हालतमा नछाड्ने अभिव्यक्ति दिएका थिए । 

ती चुनावहरूमा देउवाको कार्यशैली देखेरै सिटौला उनीबाट टाढा पुगेका छन् । उनकै पहलमा देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा मोर्चाबन्दी शुरु भएको छ । उक्त मोर्चाबन्दीबाट पौडेल र सिटौलासँग देउवा अझै चिढिएका छन् । 

उनीहरूको मोर्चाबन्दीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र पूर्वसह–महामन्त्री अर्जुननरसिंह केसी मात्र होइन, युवा नेताहरू नवीन्द्रराज जोशी, गगन थापा र प्रदीप पौडेलले पनि सक्रिय सहभागिता जनाएका छन् । 

जिल्ला सभापतिहरूको भेला उद्घाटनमा सिटौलाले मञ्च बहिष्कार गरेर देउवालाई कार्यशैली सच्याउन दबाब सिर्जना गर्न खोजेको बुझ्न सकिन्छ । 

कोइराला परिवारका तीन नेताहरू शशांक, शेखर र सुजाताले पनि अलग्गै मोर्चाबन्दी कायम राखेका छन् । महामन्त्री शशांक कोइराला अहिलेसम्म देउवाकै क्याम्पमा देखिन्छन् । शेखर र सुजाता भने देउवाका कटु आलोचकका रूपमा प्रस्तुत हुँदै आएका छन् । 

आफूविरुद्ध तयार भएका दुई वटा मोर्चाको दबाब थेग्नुपर्ने चुनौती देउवासामु देखिएको छ । अर्थात्, देउवाको अगाडिको बाटोमा एम्बुस नै एम्बुस देखा परेका छन् । 

उद्घाटन सत्रमा बोल्न केन्द्रीय पदाधिकारीहरूलाई मात्र मञ्च उपलब्ध गराइएको थियो । मञ्चमा गएका भए पनि सिटौलाले उद्घाटन सत्रलाई सम्बोधन गर्न पाउने थिएनन् । जस्तो : पूर्वमहामन्त्री प्रकाशमान सिंहले मञ्चमा गएर पनि बोल्न पाएनन् । 

उनीहरूलाई उद्घाटन समारोहलाई सम्बोधन गर्न नदिनकै लागि वर्तमान पदाधिकारीहरूलाई मात्र बोल्न दिने रणनीति संस्थापन पक्षले अपनाएको थियो । सिंह र सिटौलाका अभिव्यक्ति संस्थापन पक्षको विपक्षमा आउने सम्भावना यसअघि नै देखिइसकेको छ । 

उद्घाटन सत्रमा को बोल्ने र कसले नबोल्ने भन्ने विवादका कारण कार्यक्रम करिब डेढ घण्टा ढिलो शुरु भएको थियो । सभापति देउवाले हस्तक्षेप गर्दै पदाधिकारीहरूलाई मात्र बोल्न दिने निर्णय गराएका थिए । 

सिंह र सिटौलालाई छेक्नकै लागि पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र सहमहामन्त्री डा. प्रकाशशरण महतलाई पनि बोल्न दिइएन । आमाको वार्षिकी बारिरहेका महामन्त्री पूर्णबहादुर खड्का भने कार्यक्रममा उपस्थित थिएनन् । 

सबैको निष्कर्ष अधिनायकवाद

पार्टीभित्र मोर्चाबन्दी बढ्दै गर्दा जिल्ला सभापतिहरूको भेला उद्घाटन भेलामा भने नेताहरू एउटै निष्कर्षमा देखिए । त्यो हो, सत्ताको मात्र नभई संसदीय व्यवस्थाकै नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी अधिनायकवादको दिशामा अगाडि बढेको आरोप । 

तीन तहका चुनावमा पार्टीमा गुटबन्दी देखिएका कारण पराजय बेहोर्नुपरेको कुरामा अधिकांश वक्ताको जोड देखिन्थ्यो । र, वर्तमान सरकार अधिनायकवादी बाटोतर्फ लम्किएकामा सबैजसोको जोड थियो । 

पार्टीमा आमन्त्रित विशिष्ट केन्द्रीय सदस्य नियुक्त गरिएका विजयकुमार गच्छदारलाई महामन्त्रीभन्दा ठूलो हैसियत दिइयो, भेला उद्घाटन सत्रमा । कांग्रेसको इतिहासमै पहिलो घटना हो यो । 

सभापति देउवाले मन्तव्यका क्रममा कारण गुट, उपगुट, अन्तर्घात र असहयोगका कारण पार्टीले चुनावमा पराजयको सामना गर्नुपरेको दाबी गरे । एक सातायताका उनका अभिव्यक्ति यही लाइनमा आइरहेका छन् । पौडेल, सिटौला, केसीलगायत नेताहरूबीच मोर्चाबन्दी भएयताका अभिव्यक्ति हुन् ती । 

त्यसभन्दा अगाडि उनले ‘कांग्रेसले हारेको छैन, समानुपातिकको मत हेर’ भन्ने गरेका थिए । अहिले उनले तीन तहका चुनावमा कांग्रेस पराजित भएको घुमाउरो भाषा पनि प्रयोग गर्न थालेका छन् । तर, उनको विश्लेषण परिवर्तन भएको छ, ‘कांग्रेसको हारको कारण कम्युनिस्ट होइनन्, पार्टीभित्रकै गुट, उपगुट, असहयोग र अन्तर्घात हो ।’

उनले भेलालाई सम्बोधन गर्दै भने, ‘कम्युनिस्टहरू त एक भइसके, हामी किन एकताबद्ध नहुने ? गुट÷उपगुटमा लाग्दा पार्टी र लोकतन्त्रको भविष्य हुँदैन ।’ बाघ शाकाहारी नभएजस्तै कम्युनिस्टहरू पनि लोकतन्त्रवादी नभई अधिनायकवादी नै हुने देउवाको जिकिर थियो । 

लोकतन्त्रको संरक्षण, गणतन्त्र र परिर्वतन संस्थागत गर्न तीन तहका चुनाव गराउनु बाध्यता भएको उनले बताए । 

वरिष्ठ नेता पौडेलले भने, ‘पार्टी एकता मनदेखि नै हुनुपर्छ, देखावटी होइन । कुन औषधिले कांग्रेस गुटरहित र एकताबद्ध हुन्छ भन्ने प्रेस्क्रिप्सन जिल्ला सभापतिहरूले दिनु प¥यो ।’ उनले पनि कम्युनिस्टहरू अधिनायकवादी नै भएको दाबी गरे । 

विशिष्ट आमन्त्रित केन्द्रीय सदस्य गच्छदारले पनि दुई मुख भएका कम्युनिस्टहरू त एक भइसके भने एउटै सिद्धान्त भएको कांग्रेसमा एकताको विकल्प नभएको औंल्याए । उपसभापति विमलेन्द्र निधिले देउवाकै स्वरमा स्वर मिलाउँदै गुट÷उपगुटका कारण पार्टीले चुनावमा हारेको दाबी गरे । 

जिल्ला सभापतिहरूको भेलामा कांग्रेसभित्रको मर्यादा क्रम मिलाइएको देखियो । महामन्त्री शशांक कोइरालाभन्दा माथि गच्छदार, उनीभन्दा माथि उपसभापति, त्यसभन्दा माथि वरिष्ठ नेता पौडेल र सबैभन्दा माथि सभापति देउवाको मर्यादाक्रम मिलाइएको थियो । हालसम्म गच्छदारको मर्यादाक्रम तोकिएको थिएन । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।